“भक्तपुर नगरपालिकाले शिक्षा र स्वास्थ्यलाई विशेष प्राथमिकताका साथ काम गरिरहेको छ”
- बैशाख ६, २०८३
भक्तपुर, २१ फागुन । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले शनिबार भक्तपुर नपा वडा नं. ७ स्थित गय्भिंद्यो हनुमन्त्ते खोला पुल उद्घाटन र शिलापत्र अनावरण गर्नुभयो ।
उक्त कार्यक्रममा अध्यक्ष बिजुक्छेँले नेपालमा विदेशीसँग मागेर देश विकास गर्ने गलत प्रवृत्ति हाबी भइरहेको उल्लेख गर्दै देश विकासको नाममा माग्ने प्रवृत्तिले देशको सार्वभौमिकता खतरामा पर्दै गइरहेको बताउनुभयो ।
जनताको साथ र सहयोगमा विकास गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले भक्तपुर नगरपालिकाले आफ्नै स्रोत र साधनको उपयोग गर्दै विकास निर्माणका गतिविधिहरू सञ्चालन गरी देशकै उदाहरणीय नगरपालिकाको रूपमा आफ्नो परिचय कायम गरेको बताउनुभयो ।
अन्य पार्टीले जनताको सेवा गर्न प्रशिक्षित नगरेको कारण व्यक्तिगत स्वार्थमा लागिरहेको प्रसङ्ग उल्लेख गर्दै उहाँले भन्नुभयो, “भक्तपुरका जनप्रतिनिधिको सक्रियता र इमानदारिताले गर्दा भक्तपुर आज देशकै नमुना नगरको रूपमा विकास भएको हो ।
कम्युनिस्ट भन्ने तर कम्युनिस्टको सिद्धान्त र विचारअनुसार काम नगर्ने एमाले भाइकाङ्ग्रेस भएको चर्चा गर्दै उहाँले माओवादी केन्द्र भारतीय सरकारबाट सञ्चालित कम्युनिस्ट पार्टी हो भन्नुभयो । उहाँले सडक छेउका फुटपाथ बनाउने र व्यवस्थापन गर्ने, ठाउँठाउँमा सवारी पार्किङको व्यवस्था गर्नेलगायतका काम गर्नुपर्ने आवश्यकता पनि औँल्याउनुभयो ।
बेइमानहरू भएसम्म षड्यन्त्र भइरहने चर्चा गर्दै उहाँले प्रमको वरिपरि बस्ने व्यक्ति र सल्लाहकारहरू गलत भएकै कारण देश खाए पनि सरकारलाई कुनै मतलब नभएको बताउनुभयो ।
शेरबहादुर देउवालाई एमसीसी पारित गराउन माओवादी केन्द्रका पुष्पकमल दाहाल र एकीकृत समाजवादीका माधवकुमार नेपालले प्रम बनाएको घटनाक्रमले पुष्टि भएको उहाँले बताउनुभयो ।
भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले उपभोक्ता समितिबाट विकास निर्माणको काम गर्ने भक्तपुर नपाको पहिलेदेखिको परम्पराजस्तै भएको उल्लेख गर्दै भक्तपुर नपाले सार्वजनिक सम्पत्ति संरक्षणमा जोड दिँदै आएको बताउनुभयो ।
नगरपालिकाको अगुवाइ र स्थानीय जनताको सहभागितामा निर्मित भक्तपुरकै ठूलो गय्भिंद्यो पुल निर्माणबाट स्थानीय जनताको आवागमनमा सहज भएको र पुल निर्माणसँगै यस ठाउँको आकर्षण बढेको छ, प्रमुख प्रजापतिले भन्नुभयो ।
देशघाती एमसीसीको प्रसङ्ग जोड्दै उहाँले जनता राजनैतिकरूपमा सचेत नभए देश नै नरहने खतरा हुने उल्लेख गर्दै शासक दलले सत्ताको लोभमा गरेका देशघाती कामको सचेत जनताले विरोध गर्नुपर्ने धारणा राख्नुभयो ।
सम्पदा जीर्णोद्धार तथा पुनःनिर्माणको जिम्मा ठेकेदारहरूलाई दिन नहुनेमा जोड दिँदै उहाँले ठेकेदारहरूले देशका धेरै संरचनाहरू अलपत्र छोडेर राज्यको अरबाँै रूपैयाँ लुटिरहेको प्रस्ट पार्नुभयो ।
जनता परिचालन नगरी व्यक्तिमार्फत काम गराउने सरकारको शैली नमिलेको प्रसङ्ग उल्लेख गर्दै उहाँले देशका ठूल्ठूला योजना १६ जना ठेकेदारको हातमा छोडेको बताउनुभयो । भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले खोला पुनःनिर्माणमा चुनौतीहरू सामना गर्नुपरेको स्मरण गर्दै पुल निर्माणमा अथकरूपमा सहयोगी भूमिका निर्वाह गर्ने उपभोक्ता समिति, अनुगमन समिति र प्राविधिक समूहलाई धन्यवाद ज्ञापन गर्नुभयो । वडाबाट सञ्चालित विकास निर्माणको बारेमा अवगत गराउँदै वडाध्यक्ष कवांले ७ वडामा खानेपानी व्यवस्थापन चुनौतीपूर्ण रहेको र वडाले खानेपानी समस्या समाधान गर्न ठाउँ–ठाउँमा डीप बोरिङ र ट्याङ्ककी निर्माण गरी खानेपानी लाइन विस्तारलाई जोड दिँदै आइरहेको बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ५ का वडाध्यक्ष प्रेमगोपाल कर्माचार्यले भक्तपुर नपा वडा नं. ५ र ७ वडा जोड्ने गय्भिंद्यो पुल निर्माणले आवातजावतमा सहज बनाएको चर्चा गर्दै सांस्कृतिक नगरभित्र प्रवेश गर्ने भारी सवारीसाधनमा रोक लगाउनुपर्ने धारणा राख्नुभयो ।
आदर्श आजाद माविका प्रअ श्रीकृष्ण किसीले पुल निर्माणमा स्थानीय जनताको सहयोग र योगदानको उच्च मूल्याङ्कन गर्दै पुल निर्माणसँगै स्थानीय जनता लाभान्वित भएको बताउनुभयो ।
गय्भिंद्यो हनुमन्त्ते खोला पुल उद्घाटन उपभोक्ता समितिका कोषाध्यक्ष नारायणप्रसाद कवांले पाँच चरणमा उपभोक्ता समितिबाट निर्मित पुल निर्माणको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै भक्तपुर नपाको रू. ३ करोड २ लाख ४४ हजार ९६४।१२ र बाग्मती प्रदेशबाट रू. १ करोड आर्थिक सहयोगमा निर्मित उक्त पुलको कुल खर्च रू. ४ करोड २ लाख ४४ हजार ९६४।१२ रहेको अवगत गराउनुभयो ।
कार्यक्रममा नेमकिपा ७ वडा गोल्मढीका इन्चार्ज बलराम गोसाईँले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने उपभोक्ता समितिका उपाध्यक्ष लक्ष्मीप्रसाद ढुकुछुले स्वागत मन्तव्य राख्नुभएको थियो ।
उपभोक्ता समितिका अध्यक्ष एवम् कार्यक्रमका सभापति लक्ष्मीभक्त कवांले पुल निर्माण गर्दा भएको गतिविधिबारे प्रकाश पार्नुभयो ।
उपभोक्ता समितिका सदस्य हरिकृष्ण दनेगुलुले कार्यक्रमको आवश्यकबारे चर्चा गर्नुभयो ।
सोही अवसरमा प्रमुख अतिथि बिजुक्छेँले गय्भिंद्यो पुल निर्माण उपभोक्ता समिति, अनुगमन समितिका पदाधिकारीहरूलाई प्रशंसापत्र प्रदान गर्नुभयो ।
कार्यक्रमअघि स्थानीय धिमेबाजा र बाँसुरीबाजाको टोलीले अध्यक्ष बिजुक्छेँलगायत अतिथिहरूलाई स्वागत गरेको थियो ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित)ले गय्भिंद्यो पुल २०७५ असार २ गते शिलान्यास गर्नुभएको थियो ।
Leave a Reply