भर्खरै :

नेक्राविसङ्घको तेइसौँ भक्तपुर जिल्ला सम्मेलन सम्पन्न

भक्तपुर, २१ फागुन । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको २३ औँ भक्तपुर जिल्ला सम्मेलन शनिबार सम्पन्न भयो ।
सम्मेलनको उद्घाटन गर्दै नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले विद्यार्थीले शैक्षिक विषयमा मात्र नभई देशको सार्वभौमिकता रक्षाको निम्ति आन्दोलन अगाडि बढाउनुपर्ने धारणा राख्नुभयो । उहाँले नेक्राविसङ्घले शैक्षिक आन्दोलनलाई राजनीतिक आन्दोलनसँगै जोड्दै आएको विचार राख्दै अनुसन्धानमुखी शिक्षाको निम्ति विद्यार्थीले आवाज उठाइरहनु पर्नेमा जोड दिनुभयो ।
केन्द्रीय सदस्य गोसाईले विद्यार्थीमा आलोचनात्मक चेतको विकास हुनुपर्ने भन्दै सिद्धान्तको अध्ययन गरी व्यवहारमा लागू गर्नुपर्ने बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् नेक्राविसङ्घका पूर्वअध्यक्ष रवीन्द्र ज्याख्वले विद्यार्थीहरूले देश र जनताको पक्षमा राजनीति गर्नुपर्ने विचार राख्नुभयो । देशघाती एमसीसी सम्झौताविरुद्ध नेक्राविसङ्घले गरेको गतिविधिको प्रशंसा गर्दै उहाँले देशलाई आवश्यक पर्दा नेक्राविसङ्घका कार्यकर्ताहरू निरन्तर सङ्घर्षमा लागिरहने विश्वास व्यक्त गर्नुभयो । नेक्राविसङ्घका साथीहरू पढाइबाहेक समाजका निम्ति पनि अग्रसर भएर लाग्नुपर्ने र राजनीतिबारे जानकारी राखी अरूभन्दा फरक प्रस्तुति हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
नेमकिपा भक्तपुर जिल्ला समितिका अध्यक्ष न्हुछेभक्त फोजूले सम्मेलनको सफलताको शुभकामना व्यक्त गर्दै कार्यकर्ताहरू थप सक्रिय भएर लाग्ने विश्वास व्यक्त गर्नुभयो । विद्यार्थीहरूबीच पार्टी प्रकाशनहरूको छलफल, अन्तरक्रिया गर्न आग्रह गर्दै उहाँले समितिहरूलाई सक्रिय बनाइराख्न समयानुकूल सैद्धान्तिक तथा व्यवहारिक प्रशिक्षणलाई निरन्तर सञ्चालन गर्नुपर्छ भन्नुभयो ।
नेक्राविसङ्घ १३ औँ राष्ट्रिय सम्मेलन तयारी समितिका सहसंयोजक सुरेश परियारले अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको विषयमा चर्चा गर्नुभयो । समाजवादी शिक्षा व्यवस्था र पुँजीवादी शिक्षाबीचको भिन्नतालाई प्रस्ट्याउँदै उहाँले शैक्षिक क्षेत्रमा देखिएको नवउदारवादी नीतिको विरोध गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कार्यक्रमका सभापति एवम् २३ औँ भक्तपुर जिल्ला सम्मेलन तयारी समितिका संयोजक मिलन गणेजूले उपस्थित प्रतिनिधिहरूलाई स्वागत गर्नुभएको थियो । सम्मेलनको बन्दसत्रले विलम सुवालको अध्यक्षतामा २५ सदस्यीय नयाँ कार्य समिति निर्वाचित ग¥यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *