भर्खरै :

इजिप्टमा एक सय महिला न्यायाधीश

कायरो, ७ मार्च । इजिप्टको इतिहासमा पहिलोपटक झन्डै एक सय जना महिलाहरूले इजिप्टको राज्य परिषद् कार्यालयमा न्यायाधीश पदको पदभार ग्रहण गरेको त्यहाँको न्यायिक निकायले बताएको छ ।
गत वर्ष राष्ट्रपतिको घोषणामार्फत् न्यायाधीशको रूपमा काम गर्न छानिएका ९८ जना महिलाहरूले शनिबार पदको सपथ ग्रहण गरेको राज्य परिषद्का सभापति मोहमेद मोहमद होस्समेल्दिनले जानकारी दिए ।
“उनीहरूले मुद्दा हेर्नुका साथै कानुनी राय प्रतिवेदन तयार गर्नेछन्”, उनले भने । यसअघि उनीहरूलाई न्यायिक परम्परा र सीप, मिसिल अध्ययन, इजलास व्यवस्थापनका साथै राष्ट्रिय सुरक्षा एवम् भ्रष्टाचारका विभिन्न विषयमा तालिम दिइएको थियो ।
सरकारको यो कदमलाई इजिप्टका वकिलहरूको समूह, सरकारी अधिकार र महिला वकिलहरूले स्वागत गरेका छन् ।
“इजिप्टका पहिलो महिला न्यायाधीशहरूको समूहको सदस्य बन्न पाउँदा मलाई गौरव र खुशी लागेको छ”, कायरोको राज्य परिषद्मा दोस्रो दिन काम गरिरहेका नवनियुक्त न्यायाधीश हेन्द अहमेदले भनिन् ।
उनले इजिप्टका महिलाहरू सबै क्षेत्रमा क्षमतावान भएको र अहिले नियुक्त भएका न्यायाधीशहरूले आफ्नो नियुक्तिको उपादेयता पुष्टि गर्ने विश्वास व्यक्त गरिन् ।
“हाम्रो काँधमा धेरै जिम्मेवारी छन् । इजिप्टमा न्याय सुनिश्चित गर्न हामी सहकर्मीहरूसँग सहकार्य गर्नेछौँ”, उनले भनिन् ।
राज्य परिषद् सन् २०१४ को इजिप्टको संविधानअनुसार स्थापना गरिएको हो । राज्य परिषद्ले प्रशासनिक विवाद, अनुशासनका मुद्दा र पुनरावेदनका साथै आफ्नै निर्णयमाथि भएका विवादको पनि निरूपण गर्ने अधिकारप्राप्त स्वतन्त्र न्यायिक निकाय हो ।
त्यसले निश्चित कानुनी विषयमा आफ्ना राय पेश गर्ने, विधेयक तथा प्रस्ताव मस्यौदा गर्ने र राज्य एवम् कुनै पनि सार्वजनिक निकाय पक्ष रहेको कुनै पनि करारको मस्यौदा पुनरावलोकन पनि गर्न सक्छ ।
होस्समेल्दिनले नयाँ नियुक्त न्यायाधीशहरूले कामलाई तत्कालै टुङ्गो लगाउने र प्रभावकारी तरिकाबाट काम गर्न सहज हुने आशा व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *