कैलालीमा सन्देशमूलक कार्यक्रम
- बैशाख ११, २०८३
भक्तपुर, २३ फागुन । ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सोमबार भक्तपुर नगरपालिकाको आयोजनामा प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनिधि सभा सदस्य प्रेम सुवालले समाजमा महिला र पुरुषलाई समानता ल्याउन उत्पादनका मुख्य मुख्य साधनहरू सरकारको हुनुपर्ने, समान वितरण तथा श्रम विभाजन हुनुपर्ने बताउनुभयो ।
उहाँले अन्तर्राष्ट्रिय महिला आन्दोलनमा महिला नेतृहरूको भूमिकाको विषयमा अध्ययन गर्नुपर्नेमा जोड दिँँदै समाजलाई बुद्धिजीवीकरण गर्न समाजलाई साक्षर होइन शिक्षित समाजको रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
महिलाहरूलाई विज्ञान र प्रविधिबारे जानकारी दिई सीप विकास गरी समाज परिवर्तनको लागि नयाँ पुस्ताको भूमिका महत्वपूर्ण हुने धारणा राख्दै उहाँले सबै नागरिकले समयअनुसार विज्ञान र प्रविधिबारे जानकारी राख्नुपर्नेमा जोड दिनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले समाजमा पुँजीवादी व्यवस्था रहेसम्म महिला शोषण अन्त्य नहुने धारणा राख्दै समाजवादी व्यवस्था नभएसम्म महिला हिंसा र शोषणको अन्त्यको सम्भावना छैन भन्नुभयो ।
उहाँले “पुँजीवाद गरिबहरूको निम्ति मूल्यहीन जीवन बिताउनुपर्ने व्यवस्था हो” भन्दै कामदार वर्गको प्रतिनिधित्व नभएसम्म समाज अगाडि बढाउन नसक्ने उल्लेख गर्नुभयो ।
उहाँले एमसीसी सम्झौता व्याख्यात्मक घोषणाको आधारमा अनुमोदन गर्नु जनतालाई धोखा दिनु र छलछाम गर्नु हो भन्नुभयो । एमसीसीलगायतका देशघाती सम्झौता गर्ने हरेक नेताहरूलाई भविष्यमा जनताले सजाय दिनेछन् भन्दै विभिन्न देशका व्यक्तित्वहरूको जीवनी अध्ययन गरी देश र जनताको सहयोगमा लागिपर्नुपर्ने उल्लेख गर्नुभयो ।
कार्यक्रमका सभापति एवं महिला तथा बालबालिका समितिका संयोजक रोशनमैँया सुवालले ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइरहँदा अधिकांश श्रमिक नेपाली महिलाहरू शिक्षाबाट वञ्चित हुनुपरेको बताउँदै क्लारा जेट्किनको सङ्क्षिप्त जीवनीबारे प्रकाश पार्नुभयो । कार्यपालिका सदस्य छोरीमैंया सुजखुले रोजा लक्जम्बर्गको सङ्क्षिप्त जीवनीबारे प्रकाश पार्नुभयो ।
कार्यपालिका सदस्य कृष्णलक्ष्मी दुवालले स्वागत गर्नुभएको उक्त कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने महिला स्वास्थ्य स्वयम्सेविका तारादेवी धन्छा र शिशु स्याहारमा कार्यरत शिक्षिका नजरमाया बाटीले महिलाहरूको समान हकको निम्ति लड्नुपर्ने बताउनुभयो ।
Leave a Reply