भर्खरै :

११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा विभिन्न गतिविधि

संसारमा युद्धको मूल कारण संरा अमेरिकी साम्राज्यवाद भक्तपुर, २४ फागुन । ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेपाल क्रान्तिकारी महिला सङ्घ, भक्तपुर जिल्ला समितिको आयोजनामा मङ्गलबार महिला भेला सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले एमसीसी कार्यान्वयन भए देश र नेपाली जनताले ठूलो मूल्य चुकाउनुपर्ने भएकोले एमसीसी पारित गर्न मरिहत्ते गर्ने शासक दलहरू सम्भावित क्षतिका लागि जिम्मेवार हुनुपर्ने बताउनुभयो ।
“एमसीसीको कारण युद्ध भयो भने हाम्रो घर–खेत रहनेछैन । संरा अमेरिकाकै कारण युद्ध भइरहेको छ । शासक दलको गल्ती र बदमासी औँल्याउनु र उजागर गर्नु हाम्रो कर्तव्य हो”, उहाँले जोड दिनुभयो ।
“चोरले चोरेको देख्दा पनि हामीले केही भनेनौँ भने हामी गलत हुन्छौँ । त्यसकारण, नेक्रामसङ्घले आफ्नो कर्तव्य निर्वाह गर्नुपर्दछ । शासक दलले देश बेचेको कुरा श्रमिक वर्गका महिलाहरूलाई बताउनुपर्दछ”, अध्यक्ष रोहितले जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “हामीले शत्रु र मित्र चिनौँ । एमसीसीका दफा–उपदफा नपढी, जनतालाई नपढाइ, नुबझाई एमसीसी पारित गर्नेहरू जनताका शत्रु हुन् । विदेशको डलर खाएर विदेशी शक्तिको दलाली गर्ने शासक दलहरूविरुद्ध हामीले सङ्घर्ष गर्नुपर्दछ । महिलालाई हरेक हिसाबले सक्षम र सबल बनाउन महिला सङ्गठनले भूमिका निर्वाह गर्नुपर्दछ ।”

नेमकिपाका केन्द्रीय सदस्य एवं बाग्मती प्रदेश सांसद सुरेन्द्रराज गोसाईले शासक दलका महिला सङ्गठनहरूले नेपालको कामदार वर्गीय आन्दोलनलाई गलत दिशामा लगेको बताउनुभयो ।
शासक दलका महिला सांसदहरू एनजीओ र आईएनजीओको पैसाको पछाडि लागेको र पदको निम्ति मरिहत्ते गर्ने गरेको वास्तविकता उहाँले औँल्याउनुभयो ।
“पद जोगिने भएपछि देशघाती कदममा पनि साथ दिने महिला मन्त्री र सांसदहरूले के महिलाको हित गर्लान् ? मागेर खाने प्रवृत्ति हुर्काउने शासक पार्टीहरू प्रमुख दोषी हुन् ।” उहाँले बताउनुभयो ।
“५५ अर्ब रुपियाँसँगै आउने संरा अमेरिकी हस्तक्षेप, हिंसा र युद्धबारे हामी सचेत रहनुपर्छ । युक्रेन, अफगानिस्तान, इराक, लिवियामा संरा अमेरिकी युद्धको घटनाबाट हामीले सिक्नुपर्छ ।” केन्द्रीय सदस्य गोसाईंले भन्नुभयो ।
कार्यक्रममा नेक्रामहिला सङ्घका केन्द्रीय उपाध्यक्ष कमलमैयाँ सुवालले महिलाहरूले राजनीतिक सुझबुझ राख्नुपर्ने र अन्तर्राष्ट्रिय क्रान्तिकारी नेतृहरूबाट सिक्नुपर्ने बताउनुभयो ।
नेक्रामहिला सङ्घ भक्तपुर जिल्ला समितिका संयोजक सृजना सैँजूको सभापतित्वमा भएको उक्त कार्यक्रममा समितिका सहसचिव देविका दनेखूले क्रान्तिकारी महिला नेतृ रोजा लक्जेम्वर्ग, जेनी माक्र्स, क्रुप्सकाया र किम जोङ सुकको सङ्क्षिप्त जीवनीबारे चर्चा गर्नुभयो ।
कार्यक्रममा समितिका कोषाध्यक्ष गङ्गा वैद्य र सदस्य मीना प्रजापतिले पनि बोल्नुभएको थियो ।
भनपाद्वारा सञ्चालित कलेजहरूको आयोजनामा प्रवचन कार्यक्रम
श्रमिक महिला दिवसकै अवसरमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज, ख्वप कलेज अफ इन्जिनियरिङ, ख्वप कलेज, ख्वप मा.वि, शारदा क्याम्पस, ख्वप बहु–प्राविधिक अध्ययन संस्थानको संयुक्त आयोजनामा मङ्गलबार प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले केही महिला नेता वा मन्त्री हुँदैमा व्यापक महिलाको समस्या समाधान नहुने र महिलामाथिको उत्पीडन वर्गीय राजनीतिसँग जोडिएको बताउनुभयो ।
“महिला नेता भए पनि सोच विचार धनीमानीको भएमा त्यस्ता महिला नेतृत्वबाट श्रमिक महिलाको समस्या समाधान हुँदैन । नेपालका राष्ट्रपति, सभामुख, प्रधानन्यायाधीश महिला भए, मन्त्री पनि भए र छन्, महिला नेतृ पनि धेरै छन्, तर समस्या ज्यूँका त्यूँ छन् । श्रमिकहरूको समस्या समाधान गर्न काम गरी खाने वर्गको शासन सत्ता ल्याउनुपर्छ”, अध्यक्ष बिजुक्छेँले भन्नुभयो ।
उहाँले नेपालका ग्रामीण भेगमा अझै पनि महिला स्वास्थ्य समाधानको निम्ति राज्यले पहल नगरेको भन्दै महिला स्वास्थ्य उपचारको निम्ति महिला चिकित्सक र स्वास्थ्यकर्मीहरू तयार गर्नुपर्नेमा जोड दिनुभयो ।
पञ्चायतले गरेको काम काङ्ग्रेसले र काङ्ग्रेसले गरेको काम एमाले र माओवादीले गरेकोले एमाले र माओवादी भाइकाङ्ग्रेस भएको स्पष्ट पार्दै अध्यक्ष बिजुक्छेँले महिलाहरू योग्य र अनुशासित भई समाजवादको लागि सङ्घर्ष गर्नुपर्नेमा जोड दिनुभयो
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले संविधानमा महिलालाई आरक्षणको व्यवस्था भए पनि श्रमिक महिला राज्यका प्रमुख पदमा अझै पुग्न नसकेको बताउनुभयो । रोजगारको लागि युवाहरू विदेसिनु पनि बेचबिखनसरह भएको बताउँदै उहाँले पुँजीवादमा जघन्य अपराध गर्नेलाई राज्यले नै संरक्षण दिने गरेको बताउनुभयो ।
एमसीसीले नेपालको सार्वभौमिकता सङ्कटमा पार्ने भएकोले नेमकिपा त्यसको विरोधमा रहेको चर्चा गर्दै उहाँले व्याख्यात्मक टिप्पणीको नाममा जनता झुक्याएर शासक दलहरूले अमेरिकी साम्राज्यवादसामु आत्मसमर्पण गरेको बताउनुभयो ।
कार्यक्रममा ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य ई.सुजन माक र ख्वप उच्च मा.वि. का प्राचार्य प्रकाशकुमार श्रेष्ठले युक्रेनको सङ्कटबारे चर्चा गर्नुभयो । ख्वप कलेज अफ इन्जिनियरिङका उपप्राचार्य रत्नशोभा प्रजापतिको सभापतित्वमा भएको कार्यक्रममा रविना शिल्पकारले पनि बोल्नुभएको थियो ।
काठमाडौँमा महिला भेला
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेपाल क्रान्तिकारी महिला सङ्घ जिल्ला समिति काठमाडौंको आयोजनामा महिला भेला र प्रशिक्षण सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले भन्नुभयो, “संयुक्त राष्ट्र सङ्घले ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको लागि ‘आजको लिङ्गीय समानता भोलिको दीगो’ नारा तय ग¥यो । यो नारा कार्यान्वयन गर्न उत्पादनका मुख्य मुख्य साधन र सेवा राज्यअन्तर्गत ल्याउनु जरूरी छ । यसकारण, संयुक्त राष्ट्र सङ्घको नारा पुँजीवादी देशमा पूरा हुनेछैन ।
शासक दलका नेताहरूले यस वर्ष ‘महिलाहरूका विभेद र कुप्रथा हटाऔँ’ नारा दिएका छन् । यसअगाडि झैँ यो नारा पूरा हुँदैन, उहाँले भन्नुभयो ।

सरकारले नगरपालिका र गाउँपालिकालाई साक्षर घोषणा गरेर नपुग्ने धारणा राख्दै सचिव सुवालले जनतालाई शिक्षित र सचेत बनाउन जरूरी रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “वर्गीय समाजमा कामदार वर्गका महिलासँगै पुरूष पनि प्रताडित हुन्छ । स्वास्थ्य र शिक्षा निःशुल्क, स्वदेशमा रोजगारीको बन्दोबस्त हुने र व्यक्तित्व विकासमा समान अवसर हुने समाजवादी व्यवस्थामा मात्र कामदार वर्गका महिला र पुरूषको मुक्ति हुन्छ । नेपालका शासक दलहरूले महिलालाई विज्ञापनको वस्तु बनाएका छन् । यसकारण नेपालमा छाउपडी, बोक्सा–बोक्सी र अन्य अन्धविश्वास यथावत रहेको हो ।”
पुरूषलाई भन्दा महिलालाई ४० भन्दा बढी रोग लाग्ने स्वास्थ्य क्षेत्रका जानकारहरूको अध्ययन छ । यसकारण, महिलाको स्वास्थ्यबारे ध्यान दिनु र सम्मान गर्नु जरूरी छ, सचिव सुवालले बताउनुभयो ।
कामदार वर्गलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिबारे जानकारी नदिने शासक दलहरू नेपाली जनताका दल होइनन्, उहाँले स्पष्ट पार्नुभयो ।
सचिव सुवालले भन्नुभयो, “ग्रीक दन्त्य कथामा ‘पान्डोराको बाकस’ खोलिएपछि दुःख, पीडा, हत्या, हिंसा, युद्धलगायत विनास छताछुल्ल भएको थियो । एमसीसी सम्झौता पारित भएसँगै नेपालमा अमेरिकी सेना आउने बाटो खुला भयो । अब दुःख, पीडा, हत्या, हिंसा, युद्धलगायत विनाश आउने भयो ।”
सचिव सुवालले एमसीसी सम्झौताको समर्थन गर्नेहरू देशद्रोही र जनद्रोही भएको स्पष्ट पार्नुभयो ।
उहाँले भन्नुभयो, “अमेरिकी साम्राज्यवादले युक्रेनलाई नाटो सदस्य बनाउने तयारी गरेको हुँदा रूसले युक्रेनलाई अमेरिकी सैन्य मोर्चामा जान रोकेको हो, आक्रमण गरेको होइन । अमेरिकी साम्राज्यवादले अफगानिस्तान, इराक, सिरियामा गरेको आक्रमण थियो । जहाँ सर्वसाधारणलाई पनि लक्षित गरिएको थियो । युक्रेनमा सर्वसाधारणलाई लक्षित गरिएको छैन ।”
सचिव सुवालले भन्नुभयो, “संरा सङ्घको मतदानमा देउवा सरकारले अमेरिकी साम्राज्यवादको निर्देशनअनुसार रूसको विपक्षमा मत दिएको असंलग्न परराष्ट्र नीतिविपरीत हो, एमसीसी सम्झौता अनुमोदनको परिणाम हो ।”
नेमकिपाका केन्द्रीय सदस्य तथा काठमाडौँ जिल्ला समितिका अध्यक्ष नारायण महर्जनले कामदार वर्गका महिलाहरू घर र रोजगार दुवै क्षेत्रमा शोषण र उत्पीडनमा परिरहेको बताउँदै समाजवादी चेतना र सङ्घर्षले मात्र महिलाहरूलाई मुक्त गर्नसक्ने बताउनुभयो ।
विभिन्न असमान र राष्ट्रघाती सम्झौताहरूका कारण नेपाल र नेपाली जनताले दुःख पाइरहेको बताउँदै अन्तर्राष्ट्रिय महिला दिवसबाट शिक्षा लिएर सङ्घर्ष गर्नुपर्ने बताउनुभयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय अध्यक्ष अनुराधा थापामगरले पुँजीवादी व्यवस्थामा महिलालाई समान अधिकार दिने होइन, प्रदर्शन र विज्ञापनको वस्तुमात्र बनाउने बताउनुभयो ।
पुँजीवादी व्यवस्थामा स्वतन्त्रता, समानता र न्याय झूटमात्र भएको बताउँदै पुँजीवादी व्यवस्था नढाली समाजवादी व्यवस्था नआएसम्म कामदार वर्गका महिलाहरूले सुख नपाउने बताउनुभयो ।
कामदार वर्गका जनताले पुँजीवादी पार्टीहरूलाई मत हालेर देशमा परिवर्तन नआउने बताउँदै उहाँले सरकारकै बेवास्ताले गर्दा नेपालका जिल्ला–जिल्लामा महिला हिंसा, चेलिबेटी बेचबिखन, छाउप्रथाजस्ता सामाजिक विकृति बढेको बताउनुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय संयोजक प्रकाश गुरूङले महिलाहरूले लैङ्गिक समानताको सङ्घर्षलाई वर्गसङ्घर्षसित जोडेर अगाडि बढाउनुपर्छ भन्नुभयो ।
आयोजक समितिका अध्यक्ष मीना डंगोलको सभापतित्वमा भएको भेलामा सचिव बन्दना महर्जन, नेपाल क्रान्तिकारी महिला सङ्घ टोखा नगर समितिका अध्यक्ष कृष्णमाया डंगोल, उपाध्यक्ष च्यार्ली डंगोल, मिर्मिरे साकोस महिला तथा बालबालिका उपसमितिका संयोजक गणेशमाया डंगोल, अधिवक्ता मदन श्रेष्ठ, सृजना डंगोल, चन्डेश्वरी महर्जनलगायतले बोल्नुभएको थियो ।
काभ्रेमा महिला भेला
श्रमिक महिला दिवसकै अवसरमा नेपाल क्रान्तिकारी महिला सङ्घ काभ्रे जिल्ला समितिको आयोजनामा मङ्गलबार बनेपामा प्रवचन कार्यक्रम सम्पन्न भयो ।
भेलामा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पुँजीवादी बन्दोबस्तमा श्रमिक महिला मुक्त सम्भव नहुने चर्चा गर्दै समाजवादी व्यवस्थामा मात्र वास्तविक अर्थमा महिला मुक्ति सम्भव हुने बताउनुभयो ।
समान कामको निम्ति समान पारिश्रमिक र सेवा सुविधा बन्दोबस्त हुनुपर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, “राजनीतिकरूपमा सचेत र सङ्गठित समूहले मात्र आफ्नो हक–अधिकारको लागि लड्न सक्ने भएकोले महिला दिदी–बहिनीहरू सङ्गठनमा आबद्ध भई सङ्गठित हुनु आवश्यक छ ।”
“महिलाहरू राज्यको प्रमुख पदमा पुगे पनि महिलाहरू शोषण र अन्यायबाट मुक्ति नभएको उदाहरण नेपालकै छ । राष्ट्रपति, सभामुख र सर्वोच्च अदालतको मुख्य न्यायाधीश एकै समयमा महिला भएको अवस्थामा पनि महिलामाथि हुने अन्याय, अत्याचार घटेन । महिलाले नेतृत्व गर्दैमा स्थिति राम्रो नहुने हुँदा राज्य सञ्चालनको पद्धति नै राम्रो हुनुपर्छ, त्यो भनेको समाजवादी राज्य बन्दोबस्त हो”, अतिथि प्रजापतिले भन्नुभयो ।

नेपाल क्रान्तिकारी महिला सङ्घ केन्द्रीय समितिका सचिव प्रतिभा श्रेष्ठले महिलामा पनि वर्ग हुने भएकोले कामदार वर्गका महिलाको हितमा लाग्नुपर्ने बताउनुभयो ।
“नेपालमा आजको अवस्थामा पनि महिलाहरू अन्धविश्वासको सिकार भइरहेका छन् । बोक्साबोक्सी, छाउपडी यसका ज्वलन्त उदाहरण हुन् । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउनुको अर्थ भोजभतेर र मनोरञ्जन गर्नु होइन, क्रान्तिकारी महिलाहरूको योगदान र महिला विभेदको अन्त्यको निम्ति छलफल गर्नु, सिक्नु र सिकाउनु हो ।” सचिव श्रेष्ठले भन्नुभयो ।
आयोजक समितिका अध्यक्ष कान्ति वैद्यको सभापतित्वमा भएको महिला भेलामा डा. हरिप्रसाद मानन्धर, मुना तामाङ, शर्मिला प्रजापति, लक्ष्मी डोटेल, राजु तामाङ, रोशनी शाही ठकुरीलगायतले बोल्नुभएको थियो ।
वागीश्वरी कलेज/माविमा श्रमिक महिला दिवस
भक्तपुर, २४ फागुन । ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेपाल क्रान्तिकारी शिक्षक सङ्घ र नेपाल प्राध्यापक समाज वागीश्वरी एकाइ समितिको संयुक्त आयोजनामा मङ्गलबार प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् नेपाल प्राध्यापक समाजका अध्यक्ष सरोजराज गोसाईले उत्पादनका साधन सामाजिकीकरण भएपछि महिला मुक्त हुने
धारणा राख्नुभयो । शिक्षा र सीपले महिलालाई सचेत एवम् सङ्गठित बनाउने भन्दै उहाँले शिक्षित मानिस नै स्वतन्त्र हुने विचार राख्नुभयो । सामन्तवादी तथा पुँजीवादी व्यवस्थाले महिलालाई मुक्त गर्न नसकेको भन्दै केन्द्रीय सदस्य गोसाईले समाजवादी व्यवस्थाको निम्ति सङ्घर्ष गर्नुको विकल्प नभएको बताउनुभयो ।

नेक्राशिसङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले सम्बन्ध विच्छेद वृद्धि भएको तथ्याङ्कले समाजमा छाडापन र विकृति बढेको सङ्केत गर्दछ भन्नुभयो । छोरीको भ्रुणहत्याले छोरीप्रतिको विभेद कायम रहेको पुष्टि हुने भन्दै पुँजीवादी व्यवस्थाले महिलालाई वस्तुको रूपमा लिने बताउनुभयो ।
नेपाल प्राध्यापक समाजका केन्द्रीय कोषाध्यक्ष सुशिला कर्माचार्यले विश्व इतिहासमा आन्दोलन नगरी कुनै चिज हात नपरेको स्पष्ट पार्नुभयो ।
नेक्राशिसङ्घका केन्द्रीय सदस्य पवित्रा शाहीले विश्वका सर्वहारा वर्गका श्रमिक महिला मुक्तिका लागि भएको यस दिवसमा राष्ट्रिय अन्तर्राष्ट्रिय समसामयिक घटनाबारे शिक्षक–प्राध्यापक जानकार भइराख्नुपर्ने बताउनुभयो ।
नेक्राशिसङ्घका शोभालक्ष्मी गोसाईको सभापतित्वमा भएको कार्यक्रममा नेमकिपा काभ्रेका सहसचिव मुना तामाङ, शिक्षकहरू अविना श्रेष्ठ, मैयाकेशरी कोजू, नारांदेवी दुवाल, विश्वेश्वर मानन्धरलगायतले बोल्नुभएको थियो ।
नेक्राविसङ्घ केन्द्रीय समितिको आयोजनामा छात्रा भेला
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ १३ औँ राष्ट्रिय सम्मेलन तयारी समितिको आयोजनामा मङ्गलबार छात्रा भेला भयो ।
भेलामा नेमकिपाका केन्द्रीय सदस्य एव नेक्राविसङ्घका पूर्वकेन्द्रीय अध्यक्ष सरोजराज गोसाईले समाजमा वर्ग रहेसम्म श्रमिक महिला मुक्ति सम्भव नहुने बताउनुभयो । उहाँले कामदार वर्गका महिलाले वर्गीय मुक्तिको निम्ति सङ्घर्ष गर्नुपर्ने भन्दै शिक्षाकै माध्यमबाट महिलालाई स्वतन्त्रतातर्फ उन्मुख गराउन आवश्यक छ भन्नुभयो । समाजवादी व्यवस्थाले मात्र वास्तविकरूपमा श्रमिक महिला मुक्ति गर्ने उहाँको भनाइ थियो । नेक्राविसङ्घका सहसंयोजक सुरेश परियारले पुँजीवादी सोचमा ढालिएका महिलाहरू आफै पनि महिलाविरोधी हुनसक्ने औँल्याउनुभयो ।
इतिहासका विभिन्न कालखण्डमा महिलालाई सन्तान जन्माउने साधन नभई निजी सम्पत्तिको वारेस र पुँजीपतिको लागि सस्तो ज्यामी जन्माउने साधन बनाइएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “महिला मुक्तिको बाटोमा हिँड्नुअघि महिलाहरूले आफ्ना समस्याहरू केलाउन सिक्नुपर्छ ।”
कार्यक्रममा नेक्राविसङ्घका तारा न्यौपाने, सविता त्वानाबासु, सेमसल तामाङ, तिर्सना पुनमगर, पवित्रा साहले विभिन्न क्रान्तिकारी महिलाहरूका जीवन सङ्घर्षहरूबारे चर्चा गर्नुभएको थियो । त्यस्तै उष्णा मानन्धर, सुजी ह्योङ्गजु, मीना शाही र श्रेया शाहीले विभिन्न रचनाहरू वाचन गर्नुभएको थियो । कार्यक्रममा सिर्जु शाहीले पनि बोल्नुभएको थियो ।
कैलाली
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मङ्गलबार नेक्रामहिला सङ्घ कैलाली जिल्ला समितिको आयोजनामा महिला भेला भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले कम्युनिस्ट आन्दोलन नै श्रमिक महिलाहरूलाई सामन्ती र पुँजीवादी शोषणबाट मुक्त गर्ने बाटो भएको बताउनुभयो ।
उहाँले समाजवादी व्यवस्थामा महिला र पुरुषबीच समानता, सबैखालको श्रमको सम्मान र व्यक्तित्व विकासमा समान अवसरको व्यवस्था हुने भएकोले महिलाहरू स्वतन्त्र हुने बताउनुभयो ।
श्रमिक महिलाहरू राजनीतिकरूपमा सचेत र सङ्गठित भए समाज परिवर्तनमा योगदान गर्नसक्ने चर्चा गर्दै केन्द्रीय सदस्य शाहीले संसारका विभिन्न क्रान्ति र परिवर्तनमा महिलाहरूले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

नेमकिपा कैलाली जिल्ला समितिका अध्यक्ष रमेशकुमार रावलले एमसीसी सम्झौताले नेपाललाई पनि शक्ति देशहरूबीचको प्रतिस्पर्धामा धकेलेको बताउँदै यसले देशको सार्वभौमिकता कमजोर बनाउने बताउनुभयो ।
नेमकिपा कैलालीका उपाध्यक्ष ज्योति बडुवालले नेपाली समाजमा महिलामाथिको उत्पीडन र विभेदमा आधारित सबै चलन र परम्परालाई त्याग्दै जानुपर्नेमा जोड दिनुभयो ।
नेक्रामसङ्घका जानकी सिजापतिले संसारका क्रान्तिकारी महिलाहरूको सङ्घर्षबाट सुरु भएको अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसले आज पनि महिलालाई समानता र मुक्तिको लागि सङ्घर्ष गर्न अभिप्रेरित गरिरहेको बताउनुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घका गुप्तबहादुर शाहीले महिलाभित्र पनि वर्ग हुने भएकोले महिलाहरू वर्गीयरूपमा सचेत हुनुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका हिक्मत भण्डारी, नेक्रामसङ्घ कैलालीका लक्ष्मी पुन, जानकी शाहीलगायतले बोल्नुभएको थियो ।
ललितपुर
नेक्रामहिला सङ्घ, ललितपुरको आयोजनामा मङ्गलबार प्रवचन कार्यक्रम गरी अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइयो ।
उक्त कार्यक्रममा नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य राजेन्द्र चवालले यो दिवस श्रमिक महिलाहरूको अधिकारको लागि शासक वर्ग र पुँजीपति वर्गविरूद्धको लडाइँको रूपमा मनाउनु पर्दछ भन्नुभयो ।
उहाँले क्लारा जेट्किन, रोजा लक्जेम्बर्गजस्ता कम्युनिस्ट नेतृहरूले महिलाहरूलाई समान ज्याला, मतदानको अधिकार, राजनैतिक अधिकार, महिलामाथि भइरहेको विविध लैङ्गिक विभेदको अन्त्यको लागि श्रमिक महिला दिवस मनाउन सुरू गरेको हो भन्नुभयो ।
उहाँले भन्नुभयो, “साँचो अर्थमा समाजवादी देश सोभियत सङ्घको समाजवादी व्यवस्थामा नै पहिला महिला र पुरूष समान भएको, महिलाले पुरूष सरह मतदान गर्न पाएको र राजनैतिक अधिकार पाएको हो । अहिले क्युवा, चीन र प्रजग कोरियामा मात्र पुरूष र महिलाबीच समानता छ ।”

उहाँले भन्नुभयो, “अहिले युक्रेनमा भइरहेको युद्ध संरा अमेरिकाले निम्त्याएको हो । यदि युक्रेनलाई संरा अमेरिकाले हातहतियार दिने र नाटोमा सामेल गर्ने प्रक्रिया नगरेको भए यो युद्ध निम्तिने थिएन । संरा अमेरिका पूर्णरूपमा रूसलाई ध्वस्त गर्न रूसको सबै छिमेकमा सेना तैनाथ गर्न खोजिरहेकै कारण यो युद्ध आरम्भ भएको हो । असंलग्न परराष्ट्र नीति रहेको नेपाल सरकारले अमेरिकाको पक्षमा वा युक्रेनमा भएको युद्धमा रूसको विरोध गर्यो । नेपालले अमेरिकाको पक्ष लिनु एमसीसी पास गरेकोको परिणाम हो । यही हिसाबले नेपाल अगाडि बढ्यो भने नेपाल पनि युक्रेनको अवस्थामा पुग्दैन भन्न सकिँदैन ।”
कार्यक्रममा नेमकिपा ललितपुर जिल्ला समितिका अध्यक्ष राजवीर डंगोलले नेक्रामहिला सङ्घले महिलाहरूको राजनैतिक स्तर उकास्न थप योगदान गर्नु आवश्यक छ भन्नुभयो ।
नेक्रामहिला सङ्घका केन्द्रीय सदस्य सुनकेश्रा शाहीले श्रमिक महिला दिवसमा श्रमिक महिलालाई राजनैतिक र वर्गीयरूपमा सचेत र सङ्गठित गर्ने कार्यमा लाग्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
नेक्रामहिला सङ्घका अर्का केन्द्रीय सदस्य सुलोचना छवाजुले लैङ्गिक विभेद अन्त्य गर्न, छाउपडी, बोक्सीप्रथाजस्ता कुरीति र कुसंस्कार अन्त्य गरी महिला समानता कायम गर्न समाजवादी व्यवस्थामा मात्र सम्भव हुने भएकोले समाजवादी व्यवस्थाको लागि सङ्घर्ष गर्न महिलाहरू लाग्नुपर्छ भन्नुभयो ।
आयोजक समितिका अध्यक्ष मन्दिरा श्रेष्ठको सभापतित्वमा भएको उक्त कार्यक्रममा ममता श्रेष्ठ र एनबी थिङले पनि बोल्नुभएको थियो ।
सुर्खेत
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसकै अवसरमा नेक्रामहिला सङ्घ सुर्खेतको आयोजनामा अन्तरक्रिया कार्यक्रम भयो ।
नेक्रामसङ्घ सुर्खेतका अध्यक्ष तुल्सी खड्काको सभापतित्वमा भएको कार्यक्रममा नेमकिपा सुर्खेतका अध्यक्ष हरिबहादुर बोहराले सामन्ती व्यवस्थामा महिलालाई मान्छेको दर्जा नदिएको, पुँजीवादी व्यवस्थाले महिलालाई दोस्रो दर्जाको नागरिक बनाएको र मनोरञ्जनको साधन बनाएकोले वर्गीय आन्दोलनमार्फत समाजवाद स्थापना भएपछि महिला मुक्तिसँगै समान अधिकार पाउने बताउनुभयो ।

नेमकिपा सुर्खेतका उपाध्यक्ष एवं नेक्राकिसङ्घका केन्द्रीय सदस्य प्रेमकुमार थापाले हरेक परिवर्तनमा महिलाहरूको योगदानको चर्चा गर्दै वर्गीय मुक्तिसँगै हरेक विभेदको मुक्ति हुने भएकोले वर्गीय मुक्तिविना महिला मुक्ति नहुने बताउनुभयो ।
उक्त कार्यक्रममा शेरबहादुर शाही, गोविन्दनाथ योगी, गणेश खड्का, शिवराज दाहाल, लालबहादुर थापा, बिजुकला राना, धनबहादुर रावत र जानकी थापालगायतले कार्यक्रमको विषयमा बोल्नुभएको थियो ।
जुम्ला
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मङ्गलबार जुम्लामा महिला भेला भयो । नेपाल क्रान्तिकारी महिला सङ्घ जुम्ला जिल्ला समितिको आयोजनामा भएको भेलामा वक्ताहरूले संसार र नेपालमा श्रमिक महिलाहरूको आन्दोलनबारे चर्चा गर्नुभएको थियो । कार्यक्रममा संसारका क्रान्तिकारी महिलाहरूको जीवनी र योगदानबारे प्रशिक्षण दिइएको थियो ।
नेमकिपा जुम्ला जिल्ला समितिका अध्यक्ष पूर्णलाल खत्रीले नेपाली श्रमिक महिलाहरूले संसारका क्रान्तिकारी महिलाहरूको जीवनी र विचारबाट सिक्नुपर्ने बताउनुभयो ।
नेक्रामसङ्घ जुम्ला जिल्ला समितिका अध्यक्ष राज्यलक्ष्मी न्यौपानेको सभापतित्वमा भएको भेलामा नेमकिपाका राजेश्वर देवकोटा र हस्तिना न्यौपानेले पनि बोल्नुभएको थियो ।
दैलेख
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेपाल क्रान्तिकारी महिला सङ्घ चामुण्डाविन्द्रासैनी नगर समितिले वडा नं ३ हाडाकोटमा जनसभाको आयोजना गरेको छ ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी दैलेख जिल्ला समिति सदस्य निरकबहादुर शाहीले पुँजीवादी व्यवस्थामा महिला र पुरुषको हक अधिकार बराबर नहुने भन्दै कामदार वर्गका महिला बढी उत्पीडित भएको बताउनुभयो ।
एमसीसी सम्झौता संसद्बाट अनुमोदन गरेर शासक दलहरूले आत्मसमर्पण गरेको उहाँको भनाइ थियो ।

आयोजक समितिका अध्यक्ष मनसुपा तारामीको सभापतित्वमा भएको कार्यक्रममा पार्टी नगर समितिका सदस्य हिरालाल तारामी, उपेन्द्र विष्ट, गोरख केसी, कल्पना शाही, कल्पना थापामगरलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *