भर्खरै :

एमसीसी सम्झौताविरुद्ध सभा निरन्तर

भक्तपुर, २५ फागुन । नेपाल क्रान्तिकारी युवा सङ्घ र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको संयुक्त आयोजनामा बुधबार सूर्यविनायक चोकमा देशघाटी एमसीसी सम्झौताको विरोधमा कोण सभा भयो ।
सभामा नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ १३ औँ राष्ट्रिय सम्मेलन तयारी समितिका सहसंयोजक सुरेश परियारले देशघाती एमसीसी सम्झौता संसद्बाट व्याख्यात्मक घोषणाको रूपमा अनुमोदन हुनु देशका लागि दुर्भाग्य भएको पुष्टि गर्नुभयो ।
उहाँले देशको सार्वभौमिकता विदेशीलाई सुम्पन्ने देशद्रोही शासकहरूको निन्दा गर्दै देशलाई परनिर्भर बनाउने विदेशी दलालहरूलाई चिनेर विस्तारवादी र साम्राज्यवादी शक्तिहरूविरुद्ध अथकरूपमा लड्दै नयाँ पुस्ताको भविष्य सुनिश्चित गर्न अगाडि बढ्नुपर्ने खाँचो औँल्याउनुभयो ।
सहसंयोजक परियारले एमसीसी सम्झौता अनुमोदन हुने सङ्घारमा नेपालको छाउनीमा सङ्कट व्यवस्थापनको नाममा १८ करोड अमेरिकी लगानी भएको र मुस्ताङमा अमेरिकी सेनाले नेपाली सेनालाई माउन्टेन वारफेयर तालिम दिएको उदाहरण प्रस्तुत गर्दै एमसीसी सम्झौता हिन्द प्रशान्त रणनीतिको अङ्ग भएको प्रमाणित गर्नुभयो ।
कङ्गो, होन्डुरस, इराक, लिविया, सिरिया, अफगानिस्तानको स्थिति अध्ययन गरेपछि एमसीसी परियोजना लागू भएका देशहरूमा हिंसाजन्य गतिविधि बढेको रअन्तमा ती देशहरू द्वन्द्वमा फस्न पुगेको हुनाले एमसीसी खारेज गर्नुपर्ने तर्क प्रस्तुत गर्नु भयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घ भजिस सचिव एच. एस. सुवालले विगत ६० वर्ष यतादेखि अमेरिकी साम्राज्यवादले विश्वमा गरेका अपराधका गतिविधिबारे बताउँदै युक्रेनलाई रुसविरुद्ध उक्साउने र नाटो देशमा आबद्ध गराउन खोजिएको हुनाले सचेतताका लागि रुसी सेनाले कारबाही अगाडि बढाएको उल्लेख गर्नुभयो ।
नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घका केन्द्रीय कोषाध्यक्ष दिनेश खड्गीले एमसीसीका मतियारहरूलाई उदाङ्ग्याउँदै देशको स्वाधीनता भू–अखण्डता रक्षाका लागि देशभक्तिपूर्ण भावनाका साथ एकजुट भई सङ्घर्ष गर्न तयार रहनुपर्ने विचार व्यक्त गर्नुभयो । उक्त कोणसभामा नेक्रायुसङ्घ सूर्यविनायक नगर समितिका अध्यक्ष रोशन मचामसी, सुरेश बखुन्छेलगायतले बोल्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *