भर्खरै :

नेक्राविसङ्घको १३ औँ राष्ट्रिय सम्मेलन चैतमा

भक्तपुर, २६ फागुन । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको १३ औँ राष्ट्रिय सम्मेलन यही चैत १७–१९ गते काठमाडौँ उपत्यकामा हुने सम्मेलन तयारी समितिले जनाएको छ । कोरोनाको तेस्रो लहरका कारण फागुन २०–२२ गते हुने भनिएको सम्मेलन पछि धकेलिएको हो । गत वर्ष चैतमा गठित सम्मेलन तयारी समितिले एक वर्षपछि सम्मेलन गर्न लागेको हो ।
‘अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवादको विरोध गरौँ, समाजवादी शिक्षा व्यवस्थाको निम्ति सङ्घर्ष गरौँ¤ – सम्मेलनको मूल नारा हुने बताइएको छ । यसबारे प्रकाश पार्दै आयोजक समितिका एक सदस्यले भने, “शिक्षामा नवउदारवाद भित्रिएसँगै नेपालको शिक्षा व्यवस्था अराजकताको शिकार बनेको छ । यो शिक्षामा विदेशी हस्तक्षेप नै हो । देशको शिक्षा व्यवस्थालाई उकास्न कामदार वर्गका विद्यार्थीहरूले अब समाजवादी शिक्षा व्यवस्थाको निम्ति सङ्घर्षमा जोड दिनुपर्छ । देशघाती एमसीसी सम्झौताको विरोध सँगसँगै हामीसामू निःशुल्क, अनिवार्य र उत्पादन श्रमसँग जोडिएको शिक्षाको निम्ति सङ्घर्ष गर्नुको विकल्प छैन ।”
सम्मेलनको उद्घाटन ¥याली चैत १७ गते बिहीबारको दिन दिउँसो १२ बजे कीर्तिपुरको पाङ्गाबाट सुरु हुनेछ । उद्घाटन सत्र दिनको १ बजे कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस परिसरभित्र हुनेछ । उद्घाटन सत्रलाई नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले सम्बोधन गर्नुहुने कार्यक्रम छ । बन्द सत्र भने भक्तपुरमा गर्ने आयोजक समितिको तयारी छ ।
सम्मेलनको मिति नजिकिँदै जाँदा सम्मेलनको तयारी तीव्र बनेको छ । विभिन्न जिल्लामा मातहतका समितिहरूको गठन, पुनःगठन र सम्मेलन, सम्मेलनको प्रचारार्थ पर्चा र प्याम्पलेट प्रकाशन, वितरण तथा आर्थिक सङ्कलनजस्ता गतिविधि चलिरहेको तयारी समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *