भर्खरै :

महाकवि सिद्धिदासका विविध आयाममाथि कार्यशाला

भक्तपुर, १३ साउन । नेपाल भाषाका महाकवि सिद्धिदास महाजूको यो वर्ष विभिन्न गतिविधि गरी एक सय पचासौं जन्म वर्ष मनाइँदैछ । आगामी भाद्र २३ गते महाजूको १ सय ५० औं जन्म दिवस पर्दछ । यसै सिलसिलामा सिद्धिदास प्रतिष्ठानको आयोजना शुक्रबार महाकवि सिद्धिदास महाजूका विविध चिन्तन विषयक एक दिवसीय कार्यपत्र प्रस्तुति तथा अन्तरक्रिया कार्यक्रम भयो ।

कार्यक्रमको वरिष्ठ वामपन्थी प्राध्यापक माणिकलाल श्रेष्ठले उद्घाटन गर्नुभयो ।
कार्यक्रममा बोल्दै प्राध्यापक श्रेष्ठले सिद्धिदासको चिन्तन तात्कालीन परिस्थितिको सापेक्षमा प्रगतिशील मात्र नभई क्रान्तिकारी भएको विचार व्यक्त गर्नुभयो । उहाँले नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यका कृतिमा प्रस्तुत विचारको तुलनामा महाजूका कृतिमा व्यक्त विचार प्रगतिशील र क्रान्तिकारी भएकोमा जोड दिनुभयो ।
प्राध्यापक श्रेष्ठले गणेशमान सिंहले आफ्नो जीवनकालमा कुनै पनि साहित्य नलेखेको भए पनि नेपालभाषा साहित्यको विकासमा उहाँको अप्रत्यक्ष योगदान भएको र सिद्धिदासलाई श्रेष्ठले ठूलो सम्मान गर्ने गरेको संस्मरण सुनाउनुभयो ।
कार्यक्रममा महाजूको प्रथम काव्यकृति सज्जन हृदयाभरणममा भारतीय नीति साहित्यको प्रभाव विषयमा उपप्राध्यापक रवि शाक्य, सिद्धिदास महाजूको वर्णविन्यास व्यवस्था विषयमा प्रा.डा. तुयूबहादुर महर्जन, सिद्धिदास महाजूको महिलाप्रति धारणा विषयमा प्राडा चुन्दा बज्राचार्य र महाकवि सिद्धिदास महाजूका विविध चिन्तन विषयमा प्राडा योगेन्द्र प्रधानले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । प्रस्त्ुत कार्यपत्रहरुमाथि साहित्यकार गोविन्दमान श्रेष्ठ, डा.ओमकारेश्वर श्रेष्ठ, प्राज्ञ ध्रुव मधिकर्मी र त्रिरत्न शाक्यले टिप्पणी गर्नुभएको थियो ।
सिद्धिदास प्रतिष्ठानका अध्यक्ष नरेन्द्र हाडाको अध्यक्षतामा भएको कार्यक्रममा मल्ल के.सुन्दर, प्रतिष्ठानका विमल ताम्राकार, महेन्द्रगोपाल कर्माचार्य, अमररत्न बज्राचार्यलगायतले बोल्नुभएको थियो ।
प्रतिष्ठानले कार्यशालामा प्रस्तुत कार्यपत्र र विचार सङ्कलन गरी महाजूको जन्म दिनमा विमोचन हुने गरी पुस्तक प्रकाशन गर्ने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *