भर्खरै :

अङ्ग्रेजी भाषाप्रतिको यो कस्तो मोह !

  • फाल्गुन २७, २०७८
  • इन्द्रकुमार श्रेष्ठ
  • साहित्य

“पुर्खाले आर्जेको सम्पत्ति, हाम्रो कला र संस्कृति !”
यो, देशकै नमुनामा पर्न सफल भक्तपुर नगरपालिकाको आदर्श र अनुकरणीय नारा हो । सरकारले पनि यो नारालाई मनन र अनुकरण गरी नेपालीभाषाका सन्दर्भमा पनि लागू गर्न सके सा¥है राम्रो हुन्थ्यो । तर, यहाँ त्यस्तो भएको छैन ।
हाम्रा बालबालिकाहरूले बोली फुटेदेखि नै ‘डेडी’, ‘ममी’, ‘अङ्कल’, ‘आन्टी’ र ‘बाइबाइ’ भन्न सिक्छन् । स्कूल जानासाथ ‘गुड मर्निङ’, ‘थ्याङ्क यु’ बोल्न सिक्छन् । यसरी सानैदेखि नेपाली भाषाको ठाउँमा अङ्ग्रेजी सिक्ने÷सिकाउने परम्पराले आफ्नो भाषाप्रतिको बेवास्ता भाव बढाउन मद्दत गरेको छ ।
अन्य देशमा आफ्नो भाषालाई धेरै माया गर्ने गरिन्छ । त्यसको मौलिकता जोगाउनका लागि सचेत भइन्छ र पहिला आफ्नोमा व्यवस्थित बनाएपछि त्यसलाई टाढाटाढासम्म फैलाउने योजना पनि बनाइन्छ । हाम्रो देशमा भने त्यस्तो केही भएको देखिँदैन । बरु त्यसका सट्टा जानीनजानी नेपाली भाषाको हुर्मत लिने काम गरिएको छ ।
एक दशक यता नेपाली भाषाको वर्णविन्यास राष्ट्रिय स्तरमै बिगारिएको सर्वविदितै छ । यसबाट भाषिक प्रयोगमा एकरूपता र व्यवस्थित अवस्था देखिनुभन्दा अनेकता र अराजकता देखिएको छ । के कस्तो लेख्दा ठीक हुने विषयमा पुराना र नयाँ पुस्ताका बीच विवाद छ । भाषा सिक्ने÷सिकाइने र पढ्ने÷पढाइने ठाउँ भनेको विद्यालय हो । तर, त्यहाँ पनि हाम्रो प्यारो नेपाली भाषालाई महत्व दिइँदैन र यथोचित कदर पनि गरिँदैन । त्यहाँ विद्यार्थीहरूलाई सानैदेखि नेपाली भाषा शुद्धसँग बोल्न र लेख्न सिकाइनुपर्नेमा अङ्ग्रेजीलाई बढी महत्व दिएर रटाइन्छ । ‘बोर्डिङ स्कूल’ मा त पहिलेदेखि नै यस्तो व्यवस्था थियो र छ नै । सरकारी विद्यालयमा पनि आजकल ‘अङ्ग्रेजी माध्यम’ को भूत चढेको छ । आफ्नो विद्यालयलाई चर्चित्, लोकप्रिय र आकर्षणको केन्द्र बनाउनका लागि नेपाली भाषा राम्ररी सिकाउने व्यवस्था मिलाउने होइन, जसरी पनि ‘अङ्ग्रेजी माध्यम’ को बनाउनुपर्ने अनौठो बाध्यता आएको छ ।
फलतः आजकल अधिकांश सरकारी विद्यालयको योजना भनेकै ‘विद्यार्थीहरूलाई अङ्ग्रेजी भाषा बोल्न प्रोत्साहित गर्नु’ बनेको छ । एकदुई विद्यालय गर्दै, यो योजनाले देखासिकीमै व्यापकता पाउँदै छ । ‘अङ्ग्रेजी माध्यम’ का नमुना विद्यालय बन्दै गर्दा, विद्यार्थीहरूचाहिँ नेपाली भाषा र नेपाली विषयमा ज्यादै कमजोर हुन थालेका छन् ।
‘जन्मेदेखि नै विद्यार्थीले नेपाली बोलेको हुँदा, तिनीहरूलाई यो विषय त त्यति के सिकाउनुपर्छ र !
‘नेपाली विषय त जसले पनि पढाउन सकिहाल्छ नि !’
‘यो विषयमा त त्यत्रो के ध्यान दिइरहनुपर्छ र !’
‘नेपाली विषयलाई चाहिँ अन्तिम घण्टीमा राख्नुपर्छ है !’
नेपाली विषयको सन्दर्भमा, अधिकांश विद्यालयहरूमा यस्तै कुरा÷धारणाहरू पाइन्छन् ।
यसैको परिणामस्वरूप, सातआठ कक्षामा पढ्ने अधिकांश विद्यार्थीहरूले ‘भन्दैनौँ’ लाई ‘भनदइनउ’ र ‘मैले’ लाई ‘मइले’ लेख्छन् । ‘क्ष’, ‘त्र’, र ‘ज्ञ’ अक्षर चिन्दैनन्, ‘श्री’ र ‘ॐ’ को त कुरै छोडौँ । नेपाली भाषाको यस्तो दयनीय अवस्था भएको विद्यालयमा पनि, वर्षमा छ महिनाजति ट्युसन÷कोचिङ गणित, विज्ञानसहित अङ्ग्रेजी विषयको चल्छ । सरकारी योजना नै यी विषयमा कसरी विद्यार्थीहरूलाई सक्षम बनाउने भन्ने छ । त्यसैले, बर्सेनी विभिन्न पालिकाहरूले अङ्ग्रेजीलगायतका विषयमा कोचिङ÷ट्युसन पढाउने योजना नै ल्याउँछन् । त्यति गर्दा पनि ती विषयमा विद्यार्थीहरू फेल भइरहेका देखिन्छन् । नेपाली विषयमा भने विद्यार्थीहरू सक्षम होऊन् कि नहोऊन्, त्यस विषयमा फेल होऊन् कि पास होऊन् मतलब नै छैन किनभने नेपाली सजिलो विषय हो ¤ यस विषयमा विद्यालयका केही नेपाली शिक्षकले चिन्ता र चासोले मात्र पुग्दैन ।
अङ्ग्रेजीलाई महत्व दिने प्रवृत्ति विकसित भएका कारण, धेरै सरकारी विद्यालयमा समेत विद्यार्थीले पढ्नुपर्ने सात आठवटा विषयहरूमध्ये, बिचरा एउटामात्र विषय ‘नेपाली’ नेपाली माध्यमको हुन्छ । बाँकी सबै अङ्ग्रेजी माध्यममा । त्यस्ता विद्यालयमा नेपाली बोल्यो भने विद्यार्थीहरूले सजाय पाउँछन् । आफ्ना छोराछोरीलाई सरकारी विद्यालयमा पढाउने अभिभावकहरू पनि, ‘मेरो छोरा÷छोरी त पहिला बोर्डिङमा पढेर आएकोले नेपालीचाहिँ जान्दैन’ भनेर हँसिलो मुख लाउँछन् । यसरी नेपाली नजान्नुलाई यहाँ ठूलो इज्जतका रूपमा लिइन्छ । यो अवस्थामा विद्यार्थीको ध्यान नेपाली भाषा सिक्नपट्टि कसरी जाओस् ! अझ त्यस्तो विद्यार्थीको मातृभाषा पनि अर्कै छ भने त नेपाली सिक्न गा¥हो हुनु स्वाभाविकै हो । विद्यार्थीहरूलाई, ‘तिम्रो बुबाआमाको नाम के हो ?’ भनेर सोध्यो भने अनौठो मानेर अलमलिन्छ । ‘तिम्रो डेडीममीको नाम के हो ?’ भन्यो भनेचाहिँ बल्ल छ्याङ्ग बुझेर बताउन सक्छ ।
कनीकुथी ‘नेपाङ्ग्रेजी’ मा अभ्यस्त भएका आजकलका विद्यार्थीहरू, ‘अठचालिस’, ‘अन्ठाउन्न’, ‘उनान्सत्तरी’ भन्यो भने बुझ्दैनन् । नेपाली शिक्षकले नेपाली विषयको कक्षामा पनि, ‘फोर्टी अइट’, ‘फिप्टी अइट’ ‘सिक्स्टी नाइन’ नै भनेर बुझाइदिनुपर्छ । मोबाइल नं नेपालीबाट भनेर मरेकाटे बुझ्दैनन्, अङ्ग्रेजीबाटै भन्नुपर्छ । नेपालीका कक्षामा कुनै कठिन शब्दको अर्थ किताबमा नेपालीबाटै दिइएको भए पनि तिनीहरू बुझ्दैनन् । त्यो बेला शिक्षकले ‘अर्थको अर्थ’ लाई पनि अङ्ग्रेजीबाट भनेर बुझाइदिनुपर्ने हुन्छ । यस्तो भएपछि हाम्रो ‘राष्ट्रभाषा’ नेपालीको अवस्था कस्तो होला !
राष्ट्रियता र भाषाप्रतिको ममता जगाउनका लागि, आफ्ना देशका विभिन्न ठाउँका नामहरू पनि पहिलेदेखि चलिआएकालाई नै प्रयोग गर्ने गरे राम्रो हुने हो । यो कुरा महशुस गरेर छिमेकी देश भारतले ‘अलाहावाद’ लाई प्रयागराज, ‘बनारस’ लाई वाराणसी, ‘बेङलोर’ लाई बेङलुरु, ‘कलकत्ता’ लाई कोलकाटा, ‘गौहाटी’ लाई गुवाहटी, ‘मुस्ताफाबाद’ लाई सरस्वतीनगर, ‘साकेत’ लाई अयोध्या इत्यादि बनाएर भाषिक र सांस्कृतिक मौलिकता बचाएको छ । हामी कहाँ भने प्रदेशको नाम राख्ने क्रममा पनि यो कुराको ख्याल गरेको देखिएन । सप्तरी वरमझियाको पेडा निकै प्रख्यात छ । त्यहाँका पेडा पसलेहरूले आफूलाई झनै असली र पुरानो देखाउन, ‘बाजेको पेडा पसल’, ‘बूढो बाजेको पेडा पसल’, ‘कुप्रो बाजेको पेडा पसल’ जस्ता नाम राखेका छन् । त्यस्तै हाम्रा शैक्षिक संस्थाका नाम पनि आफूलाई ‘एक्सेलेन्ट’ र ‘पोस्ट मोर्डन’ देखाउन विदेशी स्तरका राख्ने होडबाजी चलेको पाइन्छ । त्यस्ता केही नामहरू—ग्लोबल, मोडेल, मोडर्न, मदरल्यान्ड, नेशनल, लिटिल एन्जल्स, सेन्ट जेभियर्स, युनाइटेड, गोल्डेन गेट, थेम्स, क्याथफोर्ड, हेराल्ड, इस्लिङटन, मिडभ्याली, ट्रिटन, ट्रिनिटी, आइन्स्टाइन, अक्सफोर्ड, डाइमन्ड, रेडन, ह्वाइट हाउस, टाइम्स, क्याम्पियन, पेन्टागन, टेक्सास, समिट, साइनिङ्ग प्राइम, लिङ्कन, क्यान्भास, क्लासिक, लिभरपुल, प्यारागन, मोर्गान, बर्नहार्ट—हामीले सुनेकै हौँ । नेपाली भूमिमा जन्मेका, नेपाली मातृभाषा भएका, नेपाली नागरिकता लिएका, नेपालमा बसेका र नेपालमै शैक्षिक संस्था चलाउने शैक्षिक अभियन्तामा नाम कहलिएकाहरूको यो कस्तो अङ्ग्रेजी मोह होला ¤ यो त नेपाली भएर पनि, नेपाली भाषालाई उपेक्षा गरेको भएन र ! ती नामका सट्टा हाम्रै हिमाल, पहाड, प्रकृति र विभूतिका नामहरू राख्न किन नमिल्ने ?
राखिएका त्यस्ता केही नाममा पनि बीचमा फेरि घुमाइफिराइ अङ्ग्रेजी शब्द नै घुसाइएको छ । जस्तै, ‘मनमोहन मेमोरियल अस्पताल’ । यसका बीचमा ‘मेमोरियल’ नराखेर ‘स्मृति’ राख्दाचाहिँ मनमोहन अधिकारीलाई नसम्झेको त नठहरिनुपर्ने हो !
विश्व भूमण्डीकरणको अवस्थामा, विदेशी भाषा सिक्नु र सिकाउनु एकदमै जरूरी छ । त्यसमा पनि अङ्ग्रेजी त विश्वभाषा नै भएको हुँदा यसको सिकाइ÷पढाइ त झन् पहिलो प्राथमिकता पर्ने नै भयो । तर, यसो भन्दैमा आफ्नो भाषालाई वास्तै नगरिकन अर्काको भाषालाई अनावश्यक मोह र माया गर्नुचाहिँ किमार्थ राम्रो होइन ।
तस्बीर ; onlinekhaber

Leave a Reply

Your email address will not be published. Required fields are marked *