भर्खरै :

सम्पत्तिको लागि दोस्रो विवाह गर्ने भन्ने पनि हुन्छ र ?

देशमा राजनीतिक अस्थिरताले गर्दा पहिले धेरै समय स्थानीय निकाय खाली रह्यो । पछि भएको स्थानीय निकायको चुनावमा नेपाल मजदुर किसान पार्टीले भक्तपुर नगरपालिकामा जितेको थियो । हाम्रो वडामा पनि भारी मतले नेमकिपा जितेको थियो । भर्खर–भर्खरमात्र वडा कार्यालयको कुर्सी समालेको थिएँ । अनुभवको कमी नै थियो । एक दिन वडा कार्यालयमा म समयमै गएको थिएँ । त्यस्तैमा करिब पैतालीस पचासको एक युवा विवाह दर्ताको निवेदन फारममा तोक लगाउनको लागि आउनुभयो । वडा कार्यालयमा बसेको धेरै दिन नभएकोले मैले त्यस व्यक्तिलाई चिन्न सकिनँ । साथै दुईवटा वडा मर्च भएर नयाँ वडा भएकोले र त्यस व्यक्ति म बसेको वडाको नभएकोले पनि मैले त्यस व्यक्तिको पहिचान ठम्याउन सकिनँ । मैले निवेदनको फारामसँगै अन्य कागजातहरू हेरेँ । उहाँको नाम कृष्णराम सुवाल (नाम परिवर्तित) हो । निवेदनको साथमा भक्तपुर जिल्ला अदालतको सम्बन्ध विच्छेदको कागजात, नयाँ श्रीमतीको नागरिकताको फोटो कपी र आफ्नो नागरिकता साथमा थियो । कागज हेरेर नै उक्त व्यक्तिले दोस्रो विवाह दर्ता गर्न खोजको अन्दाज लगाएँ र प्रश्न गरिहालेँ, “भर्खरैमात्र सम्बन्ध विच्छेद भएको देखिन्छ । कागज हेर्दा तपाईँको श्रीमतीलाई पुनरावेदन जाने अधिकार भएको देखिन्छ । फेरि तपाईँले अर्कै विवाह गरेर ल्याउनुभएको जस्तो छ । यति हतार किन गर्नुभएको होला । तपाईँको निवेदनको सम्बन्धमा एकचोटि बुझेर नहेरिकन म तोक लगाउन सक्दिन । तपाईँले यो निवेदन छाडेर जानुस् । म एकचोटि निर्वाचित जनप्रतिनिधिसँग सल्लाह गरेर तपाईँलाई खबर गर्छु ।” उहाँले मेरो प्रश्नको जवाफमा भन्नुभयो, “अदालतले सम्बन्ध विच्छेद गरिसकेको कागज छँदै छ । फैसला भएको पनि ६ महिनाभन्दा बढी भइसक्यो । अनि कसरी पुनरावेदन जाने हद म्याद बाँकी रहन्छ ? मैले अर्कै श्रीमती विवाह गरेर ल्याइसकेँ । अब तपाईँले विवाह दर्ता नगरे कसले गर्छ ।” मैले जवाफमा भनेँ, “विवाह दर्ता व्यक्तिगत घटना दर्ता भएकोले सचिवले दर्ता गर्ने र हस्ताक्षर गर्ने गर्दछ । तापनि, व्यवहारिकरूपमा मैले तोक लगाउनेमात्र गरिरहेको छु । त्यसैले एकचोटि जनप्रतिनिधिसँग छलफल गर्छु । साथै वडामा पाँच जना जनप्रतिनिधि निर्वाचित गर्नु पनि यसरी छलफल गरेर वडाको काम कारबाही सफल होस् भन्ने उद्देश्यले नै हो । त्यसैले दुई दिनपछि तपाईँ सम्पर्क गर्नुहोला ।” त्यसपछि उहाँ जानुभयो ।
दिनको दोस्रो प्रहरमा सचिवज्यू मेरो अफिसमा आउनुभयो । सचिव वडामा पनि धेरै वर्षदेखि कार्यरत भएकोले मैले उहाँसँग त्यस विवाह दर्ताको निवेदन सम्बन्धमा छलफल गरेँ । उहाँले निवेदकको नाम हेरेरै निवेदकको इतिहास मलाई सुनाउनुभयो । उहाँले भन्नुभयो, “यो मान्छे वडा कार्यालयअगाडि नै घर भएको व्यक्ति हो । श्रीमती यही वडाको अर्को टोलमा डेरामा बस्छिन् । यसको एउटा छोरा स्थानीय स्कूलमा कक्षा १२ मा पढ्छ । एउटी छोरी पनि छिन् । छोराछोरी श्रीमतीसँग डेरामा बस्छन् । मुद्दा चलिरहेको मलाई थाहा छ । तर, सम्बन्ध विच्छेदको फैसला भएको मलाई थाहा छैन । पुनरावेदन अदालतमा गएको पनि हुनसक्छ । त्यसैले श्रीमतीलाई बोलाई एकचोटि सरले बुझेर हेर्नुभयो भने सबै कुरा पत्ता लाग्छ । श्रीमतीको मोवाइल नं. त छैन । बरु स्थानीय स्कूलमा सम्पर्क गर्नुस्न । छोरासँग सम्पर्क भइहाल्छ ।” कुराकानीकै क्रममा ज्येष्ठ जनप्रतिनिधि पनि आउनुभयो । उहाँसँग परामर्श गर्दा पनि त्यही सल्लाह आयो । उहाँले फेरि थप कुरा भन्नुभयो, “यो मान्छेलाई म राम्रोसँग चिन्छु । पहिले ठिक्कै थिए । तर, रक्सी खाने बानीले गर्दा उनी विस्तारै बिगँ्रदै गए । रक्सी खाने र मारपिट गर्ने बानीले श्रीमतीसँग सम्बन्ध विच्छेदसम्म पुग्यो । सङ्गठनका साथीहरूले सम्झाउँदा सम्झाउँदा नभएपछि कारबाही गरेको मान्छे हो । यो मान्छेले घरमा श्रीमती त ल्याएको छैन । मेरो घर पनि उसैको नजिक हो । मैले उहाँलाई निवेदनमा भएको दोस्रो श्रीमतीको नागरिकता प्रतिलिपि देखाएँ । उहाँले पहिचान गर्नसक्नुभएन ।
त्यसपछि मैले स्थानीय स्कूलको प्राचार्यको मोबाइलमा सम्पर्क गरेँ । उहाँले तुरुन्तै छोरालाई वडामा पठाई दिनुभयो । सचिव र ज्येष्ठ जनप्रतिनिधिको रोहवरमा छोरासँग मैले कुराकानी गरेँ । छोरासँगको कुराकानीबाट श्रीमती पुनरावेदन जानको लागि तयारी गरिरहेको जानकारी भयो । त्यसपछि आमालाई नै वडा कार्यालयमा बोलाएँ । उहाँले पुनरावेदन जान लागेको फिराद पत्र नै देखाउनुभयो र साथै हद म्याद बाँकी भएको पनि जानकारी दिनुभयो । त्यसपछि उहाँले विगतको इतिहास र श्रीमान्सँग भएको झगडाका कथाहरू सुनाउन थाल्नुभयो । उहाँको कुराले श्रीमान् राजनीतिक गतिविधिमा लाग्दा राम्रो र असल व्यवहार भएको र राजनीतिक गतिविधिबाट टाढिँदै गएपछि जाँड रक्सी खाने भएर झगडा सुरु भई सम्बन्ध विच्छेदसम्म पुगेको थाहा भयो ।
केही दिनपछि कृष्णराम सुवाल फेरि आउनुभयो । उहाँले अफिसमा आएर मसँग सोध्नुभयो, “मेरो निवेदनबारे बुझेर हेर्नुभयो ? मलाई जसरी भए पनि दोस्रो विवाह दर्ता गरिदिनुप¥यो । मेरो दोस्रो श्रीमती पनि सिकिस्त बिरामी छ । सम्भवतः केही दिनमात्र बाँच्छ जस्तो छ । मेरी दोस्रो श्रीमतीको दातइ कोही छैन । त्यसैले सम्पत्ति खानलाई मात्र विवाह गरेको हुँ । तपाईँले विवाह दर्ता गरिदिएन भने मैले सम्पत्ति खान नपाइने भयो । त्यसैले कुनै पनि हालतमा दोस्रो विवाह दर्ता गरिदिनुपर्छ । मलाई अरू कुरा थाहा छैन । मेरो विवाह दर्ता नगरी मेरी दोस्रो श्रीमती मरिन् भन्ने तपाईँ जिम्मेवार हुन्छ ।” उहाँको कुरा मलाई चित्त बुझेन । सम्पत्ति खानलाई दोस्रो विवाह गरेको भन्न सकेको स्वार्थी मान्छे रहेछ भन्ने लाग्यो । घरमा तरुनी छोरी र जवान छोरा अनि श्रीमती हुँदाहुँदै सम्पत्ति खानलाई अर्कै केटी विवाह
गर्न सकेको होला । मैले भनेँ, “मैले तपाईँको श्रीमती र छोरासँग कुराकानी गरेँ । उहाँहरूले पुनरावेदन जाने भन्नुभएको छ । साथै फैसला पत्र बुझेर लिएको धेरै भएको रहेनछ । त्यसैले पुनरावेदन जाने म्याद पनि बाँकी रहेछ । त्यसैले कानुनीरूपमा तपाईँले दोस्रो विवाह दर्ताको लागि निवेदन दिन पाउँदैन । व्यवहारिकरूपमा पनि तपाईँको दोस्रो विवाह दर्ता गर्न मिल्दैन । फेरि सम्पत्तिको लागि दोस्रो विवाह गर्ने भन्ने पनि हुन्छ र ?”
मेरो जवाफ सुनेर उसको अनुहार कालो निलो भयो । उहाँले रिसाएर भन्नुभयो, “तपाईँलाई मेरो व्यक्तिगत र पारिवारिक कुरामा बोल्ने अधिकार कसले दियो ? तपाईँको चासोको विषय नै होइन नि ? तपाईँ दिने भए विवाह दर्ता दिनुस् ।” मैले जवाफ दिएँ, “तपाईँको विवाह दर्ता हुँदैन ।” मेरो जवाफ सुनेर उहाँ फनक्क फन्केर वडा बाहिर जानुभयो ।
उहाँ वडाबाट निस्केको केही दिनपछि दोस्रो श्रीमतीको मृत्यु भएको खबर टोलवासीबाट सुनेँ । वडाबाट दोस्रो श्रीमतीसँग विवाह दर्ता नदिएपछि उनको सम्पत्ति खाने इच्छा पूर्ति भएन । घरमा औपचारिकरूपमा पनि भित्याउन पाइएन । त्यसैको प्रतिक्रियामा उहाँले टोलमा वडा कार्यालय र मेरोबारेमा नराम्रो हल्ला फैलाउनुभयो । श्रीमती मरेकोले सम्पत्ति खान नपाएको रिसमा वडाध्यक्षलाई बाँकी राख्दिनँ भनेर टोलमा हल्ला फैलाउँदै हिँड्न थालेको पनि सुनियो । उहाँको पहिलो श्रीमती आएर पुनरावेदन अदालतमा खान लाउन, छोरा छोरी लालनपालन र अंशभागको दाबीसहितको पुनरावेदन गएको जानकारी दिन आउनुभयो र एकप्रति वडामा पनि छोडेर जानुभयो ।
#वडा अध्यक्षको डायरीबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *