भर्खरै :

जनप्रतिनिधिको समीक्षा गर्ने समय

स्थानीय चुनावको मिति नजिकिएसँगै राजनीतिमा धेरै थरी रङ देखिँदै छ । राजनीतिक दल अदलबदलदेखि बाँकी समयावधिमा आफ्ना मान्छे भर्ना गर्नेसम्मका विकृतिका समाचार पनि आइरहेका छन् । अर्कोतिर पाँच वर्षको अवधिमा जनप्रतिनिधिहरूले स्थानीय सरकारमा आफूले गरेका उपलब्धि जनतासमक्ष प्रस्तुत गर्ने कार्यक्रम पनि भइरहेका छन् । पाँच वर्ष दिनरात जनताको सेवामा लागेका जनप्रतिनिधिहरू जनतासमक्ष पाँच वर्षअघि आफूले दिएका वाचा पूरा भएको वा गर्न बाँकी कामबारे जनतालाई जानकारी दिन आतुर छन् । यस्ता कार्यक्रमले जनतालाई आफ्ना प्रतिनिधिले गरेका काम अथवा आफूलाई दिएको वचनअनुसार काम भए–नभएको लेखाजोखा गर्न सहज हुनेछ ।
जनप्रतिनिधिहरूले अब पाँच वर्षअघि जनतालाई बाँडेको घोषणापत्र फेरि पल्टाएर बुँदागत रूपमा भए नभएको, नभए किन हुनसकेन भन्ने कुराको गम्भीर आत्मसमीक्षा गर्न जरूरी छ । स्थानीय तहमा निर्वाचित भएर आफ्नो स्वार्थ पूरा गर्ने अथवा जनताबीच सस्तो लोकप्रियता कमाउने एकाध काम गरेर त्यसैमा भ्रष्टाचार गर्ने ‘जनप्रतिनिधि’ पनि देखिए । जनप्रतिनिधिको हैसियतलाई धनी हुन आकाङ्क्षा पूरा गर्ने अवसरको रूपमा दुरूपयोग गर्ने पनि देखिए । आफ्नो ठाउँमा भएका प्राकृतिक स्रोत दोहन गर्न जनप्रतिनिधिको हैसियत दुरूपयोग गर्नेहरू पनि धेरै देखिए । बाटोघाटो बनाउने भन्दै आफूसँग भएका निर्माण सामग्रीको प्रयोग गरी अकुत सम्पत्ति कमाउने कथित जनताका सेवक पनि नेपाली जनताले देखे । स्थानीय तहको बजेट बाँडफाँट र भागबन्डामा कुरा नमिल्दा मेयर–उपमेयर र जनप्रतिनिधिहरूबीच कुटाकुट भएका समाचार पनि धेरै पुरानो होइन । जनप्रतिनिधि हुनुलाई पैसा कमाउने मौकाको रूपमा लिने भ्रष्ट मानिसलाई पनि जनताले गल्तीवस निर्वाचित गरेको देखियो ।
अर्कोतिर पाँच वर्षको अवधिमा आफ्नो परिवार र व्यक्तिगत हित सबै त्यागेर जनताको सेवामा दिन–रात खट्ने जनप्रतिनिधिहरूले पाँचै वर्ष जनतालाई दिएको वाचा सम्झेर काम गरे । जनतालाई नै आफ्नो पथप्रदर्शक मानेर जनताका हरेक समस्या, दुःख–सुखको साक्षी बनेर काम गर्ने असल जनप्रतिनिधिहरू पनि यी पाँच वर्षमा जनताले देखे । कोभिड महामारीको समयमा जनताका हरेक समस्या समाधानको निम्ति आफूलाई जोखिममा राखेर पनि काम गर्ने प्रतिनिधिहरू पनि देखिए । संविधानले स्थानीय तहलाई दिएका अधिकार र क्षेत्राधिकारको अधिकतम प्रयोग गरी जनताको बढीभन्दा बढी सेवा गर्ने जनप्रतिनिधि पनि देखिए ।
नयाँ संविधानअन्तर्गत भएको पहिलो स्थानीय तहको निर्वाचन यता जनताले राम्रो प्रयोग पनि देखे, विकृति पनि देखिए, औपचारिकतामा सीमित प्रयोग पनि देखिए, जनताको सेवाका लागि अहोरात्र चिन्तन गर्ने जनसेवक पनि देखिए ।
स्थानीय तह जनताले प्रत्यक्ष भोग्ने सरकार हो । जनताका दुःख सुखमा साथ रहने सरकार स्थानीय तहको सरकार हो । आगामी वैशाखमा अर्को निर्वाचन हुँदै छ । यो निर्वाचनमा जनताले विगत पाँच वर्षको गम्भीर समीक्षा गरी असल जनसेवकहरूलाई निर्वाचित गर्नुपर्छ । स्थानीय सरकारलाई आफ्नो दुनो सोझ्याउने ठाउँ र सस्तो लोकप्रियताको निम्ति गलत काम गर्ने प्रतिनिधिहरूलाई सजाय गर्नुपर्छ । जनप्रतिनिधिहरूले जसरी आफ्नो पाँच वर्षको समीक्षा गर्न लागेका छन्, जनताले पनि जनप्रतिनिधिको मूल्याङ्कन गर्ने समय आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *