यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
लमजुङको सुन्दर बजारबाट अटो (टेम्पु) चढेर करिब ११ बजेतिर हामी कुन्छातर्फ लाग्यौँ । सदरमुकाम बेसीसहरबाट सुन्दरबजार कुन्छा हुँदै मध्यनेपाल नपाको दुईपिप्ले र पोखरा जाने गाडी बिहान र बेलुकामात्र छुट्दो रहेछ । अरू समयमा तीन पाङ्गे्र अटो चढ्नुको विकल्प रहेनछ । सुन्दर नगरबाट कुन्छासम्मको कच्ची, खाल्डाखुल्डी बाटोबाट यात्रा गर्नुपर्ने बाध्यता हामीले पनि भोग्यौँ । लमजुङ जिल्लाको चार नगरपालिकामध्ये सुन्दरबजार नगरपालिका प्राकृतिकरूपले वैभवशाली र साँच्चै नामजस्तै सुन्दर छ । नेपालकै करिब करिब मध्त्रगतिर पर्ने यो नगरपालिका समुद्री सतहबाट ५०० देखि १५ सय मिटरको उचाइमा रहेको छ । पूर्व–पश्चिम फैलिएको बीचमा समथर फाँट, तरेली फाँट, डाँडापाखा, वरिपरि हरियाली वन, मनमोहक झरना, पहाडका साथै उत्तरतर्फ माछापुच्छे्र, अन्नपूर्ण १, २, ३, मनास्लु, बुद्ध, लमजुङ हिमाल लहरै मुस्काइरहेको देख्न सकिन्छ ।
सुन्दर नगरको पूर्वतर्फ अन्नपूर्ण हिमालको उत्तर बेल्टको पानी बग्दै आएको मस्र्याङ्दी नदी, दक्षिणतर्फ कुन्छाको छेउछाउबाट बग्दै आएको पाउँदी र नाउदी खोलाले यहाँको जमिन हराभरा तथा सिँचित गरेको छ । बनेको बाटो छिचोल्दै यात्रा गर्दैगर्दा सुन्दर नगरको समथर भूमि पनि धेरै जसो बाँझो रहेको देख्दा जो कसैको मन खल्लो हुन्छ नै ! हामीले चढेको अटोका चालक गुरुङ समुदायका सोझा तर फरासिला स्वभावका रहेछन् । यात्रा गर्दै गर्दा उनीसँग केही राजनीतिक गफ पनि भयो । भर्खरै सरकारले संसद्बाट पारित गराएको एमसीसी सम्झौताबारे पनि उनलाई जानकारी रहेछ । अमेरिकीहरूको धम्कीको सामु लत्रिएर देउवा सरकारले एमसीसी सम्झौता पारित गराएकोमा नेपाली काङ्ग्रेसप्रति उनमा ठूलो आक्रोश रहेछ । गफैगफमा उनी नेकपा एमालेका वडा समितिको अध्यक्ष रहेको पनि बताए । हामीले एमसीसी सम्झौता पारित हुनुमा नेकपा एमालेका अध्यक्ष केपी ओलीको पनि ठूलो हात रहेको बतायौँ । ओलीले नै एमसीसी सम्झौता संसद् सचिवालयमा दर्ता गराएको र विगतमा महाकाली सन्धि गरेर महाकाली नदी भारतको पोल्टामा पु¥याउन सहयोगी भूमिका निर्वाह गरेको समेत बताएपछिमात्र उनी छ्याङ्ग वा प्रस्ट भएको हामीले महसुस ग¥यौँ । यात्राको दौरान हामीले धेरै स्थानीयको राय बुझ्ने कोसिस ग¥यौैँ । कसैले पनि एमसीसी सम्झौता राम्रो छ भनेनन् । जनताले एमसीसी सम्झौता देशहितविपरीत रहेको बुझेका छन् । जनसमर्थन छैन । जनताले चाहे कुनै पनि बेला यो देशघाती निर्णय उल्टन सक्छ भन्ने विश्वास हामीमा जाग्यो ।
विसं २०७१ सालमा साविकको सुन्दर बजार, भोटेओडार, तार्कु, परेवा डाँडा र कुन्छा गाविसलाई गाभेर सुन्दर नगर नगरपालिकाको घोषणा गरिएको थियो भने २०७३ सालमा दूराडाँडा, चन्द्रेश्वर, घुसैनी र सिन्दुरे गाविस पनि यो नपामा गाभियो । व्यापारिक चहलपहल भएको सुन्दरबजार वरपरसम्म त ठिकै छ तर सेवा–सुविधा पुग्न नसकेको डाँडाकाँडालाई पनि नगरभित्र समेट्दा जनताले असन्तोष व्यक्त गरेको पाइन्छ । नगरपालिका घोषणा गर्दा विदेशीको उक्साहटमा अवैज्ञानिक ढङ्गले गरिएको बुझ्न गा¥हो हुन्न ।
यसको उत्तरतर्फ बेसीसहर नपा, पूर्व दोर्दी गाउँपालिका र राइनास नपा, पश्चिमतर्फ नेपाल नगरपालिका र दक्षिणतर्फ तनहुँको भानु नगरपालिका रहेको छ । यस नपाअन्तर्गत रहेको सिन्दुरेको सम्बन्ध शाहवंशसँग जोडिएको यहाँका वासिन्दाहरू बताउँछन् । विसं १५५० असार १५ गते रक्जे दुरा, सुकभर कान्छा, सामु धिङ्गल, लछुमन दुरा र कस्माजर घिमिरेले कुलमण्डल शाहका कान्छा छोरा यशोब्रह्मलाई कास्कीबाट बोकेर ल्याई सिन्दुरेको ढुङ्गामा राखेर सिन्दूरयात्रा गर्दै लमजुङ दरबारमा भित्र्याएर राजा बनाएको इतिहास छ । मुलकोट, तुर्लुङकोट, तार्कुकोट, बजारकोट, कुन्छागढीमा लमजुङ राज्यको सुरक्षाको लागि सैनिक अखडाहरू बनाइएको पाइएकोले यसको ऐतिहासिक महत्व रहेको पनि जानकारहरू बताउँछन् ।
कुन्छा कुनै बेला हुलाकी मार्गको रूपमा रहेको स्थानीय बताउँछन् । उनीहरूका अनुसार पृथ्वी राजमार्ग बन्नुअघि हुम्ला–जुम्लादेखि हुलाकीहरू चिठीको थैलो बोकेर काठमाडौँसम्म जानेआउने गर्दथे । विसं २०२८ सालसम्म कुन्छा लमजुङ जिल्लाकै सदरमुकाम थियो । त्यतिबेला दुई ठूला पर्वतको बीचमा भञ्ज्याङको रूपमा रहेको कुन्छा बजार व्यवसायको पनि केन्द्र थियो । अहिले पनि कुन्छा राम्रै व्यापार, व्यवसायको केन्द्र हो । कुन्छामा राम्रै व्यापार हुँदो रहेछ । २०२८ सालमा सदरमुकाम बेसी सहरमा सरेपछि भने सदरमुकामसँगै मान्छेको बसाइ पनि बेसी झरेपछि चहलपहल कम भएको कुन्छावासी बताउँछन् । नेपालका तत्कालीन प्रधानमन्त्री भिमसेन थापाको पालामा अमरसिंह थापाले बनाएको ऐतिहासिक पौवा र भिमसेन थापा घुम्न आउँदा उनीसँग आएकी एक महिला सुत्केरी भएपछि सुत्केरीले गाडेको ढुङ्गा ऐतिहासिक सम्पदाको रूपमा अहिले पनि संरक्षित छन् । कुन्छामा प्रशासनिक अड्डाहरूको अवशेष अझै पनि छ ।
कुन्छा बजारबाट करिब २०÷२५ मिनेट उकालो चढेपछि भिरालो परेको जमिनका रहेको ठकुरी गाउँ पुग्यौँ । त्यसभन्दा माथि २०१७ सालमै भवन निर्माण भएर सञ्चालनमा आएको श्री शान्ति माध्यमिक विद्यालय रहेको छ । विद्यालय पुगेर बुझ्दा व्यवस्थापन र शिक्षाशास्त्र विषयसहित १२ कक्षासम्म पढाइ हुने तथा २५० जति विद्यार्थी रहेको जानकारी प्राप्त भयो । विद्यालयकै नामबाट उक्त ठाउँको नाम पनि शान्तिबजार रहन गएको बुझियोे । शान्तिबजारबाट अझै केही माथि अमडाँडासम्म पुग्यौँ । गाउँहरू कच्ची मोटरबाटोको सञ्जालले जोडिएका छन् । एउटा पसलमा बसेर गाउँका स्थानीयसँग हामी गफियौँ । स्थानीयका अनुसार सुन्दर नगर नपामा गुरुङ समुदायको बाहुल्यता रहेको र दुरा, अछामी, गौली, शाही, मल्ल, अधिकारी, दर्जी, सेढाई, सुनार, सोती, हमाल, कोइराला, श्रेष्ठ, न्यौपाने, मगर, मुस्लिम, (मियाँ) मिश्र, कुँवर, पौडेल, बसौला, धमनिया, रिमाल आदि जातिको मिश्रित बसोबास रहेको जानकारी पायौँ ।
आमडाँडामा उभिएर हेर्दा सुन्दरबजार नपाको क्षेत्र एकदमै सुन्दर देखिन्छ । भिरालो परेका पाखो बारी, बेसीमा धनहर खेत प्रशस्तै देखिन्छन् । धान, गहुँ, कोदो, दलहन, तेलहन, सुन्तला, केरा, अदुवा, हलेदो, टिमुर, दालचिनी, अलैँची, आलु, काउलीलगायत विभिन्न थरिका तरकारी पनि यस भेगमा उब्जनी हुन्छन् । तर, अधिकांश जमिन बाँझै छन् । हामीले बाँझा जमिनका बारे स्थानीयसँग सोधपुछ ग¥यौँ ।
लमजुङमा वैदेशिक रोजगारमा जानेहरूको सङ्ख्या दिनानुदिन बढेको पाइयो । अधिकांश युवाहरूको रोजाइ बेलायती गोर्खा सेनामा भर्ति हुने, सिङ्गापुरमा आर्मीमा जाने, नभए इन्डियन आर्मीमा भर्ती हुने, त्यो पनि नभए खाडी मुलुकलगायत विदेशी मुलुकमा रोजगारीको निम्ति जाने देखियो । गोर्खा रेजिमेन्टमा जागीर खाएकाहरूको आम्दानी पनि राम्रै हुने रहेछ । वैदेशिक रोजगारमा गएर धन कमाएकाहरूले काठमाडौँ, पोखरा, दमौली, बेसीसहर, सुन्दर नगरलगायत सुगम ठाउँमा जग्गा किनेर घर बनाउँछन् । परिवार सबै सुगम ठाउँमा सरेपछि गाउँका खेतबारीमा काम गर्नेहरूको कमी हुनु त स्वाभाविक हो ।
अर्को गाउँमा बाटोघाटो, विद्यालय, स्वास्थ्य चौकी राम्रो बन्दोवस्त नभएपछि सुविधा खोज्दै बेसी झर्ने क्रम पनि बढ्दै छ । गाउँमा उब्जाउ भूमि भए पनि सिँचाईको बन्दोवस्त राम्रो नहुनु, खानेपानीको अभाव बढ्दै जानुले पनि रोजगार र सुविधाको आशा गरेर बसाइ सर्नु स्वाभाविकै हो । सरकारले यस्ता कुरामा विचार गर्न नसके निकट भविष्यमा भयावह सङ्कट देखापर्ने निश्चित छ । यसकारण, सरकारले नेपालको भौगोलिक अवस्थालाई मध्यनजर गरी सन्तुलित विकासलाई ध्यान दिनु जरुरी छ ।
Leave a Reply