नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
भक्तपुर, ३० फागुन । भक्तपुर नगरपालिकाभित्रका विद्यालयहरूमा कक्षा १ देखि कक्षा ८ सम्म अध्यापनका लागि गठित स्थानीय पाठ्यक्रम निर्माण कार्यका पदाधिकारीहरूलाई सोमबार धन्यवादज्ञापन कार्यक्रम भयो ।
भक्तपुर नगरपालिकाको आयोजनामा भएको उक्त धन्यवादज्ञापन कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुर नगरपालिकाबाट गठित स्थानीय पाठ्यक्रम निर्माण कार्यदलका पदाधिकारीहरू योगेन्द्रमान बिजुक्छेँ, सिद्धिरत्न शाक्य, उद्धव सुजखू, रोशनराज तुईतुई र राजेन्द्रप्रसाद श्रेष्ठलाई धन्यवादपत्र, मायाको चिनो र प्रोत्साहनस्वरूप नगद रु. ५० हजार प्रदान गर्नुभयो ।
कार्यक्रममा अध्यक्ष बिजुक्छेँले भक्तपुर नपाको पाठ्यक्रमले नयाँ पुस्तामा कस्तो प्रभाव पारेको छ, व्याख्या विश्लेषणको खाँचो आवश्यक भएको बताउनुभयो ।
उहाँले आगामी दिनमा पाठ्यक्रमलाई अझ परिष्कृत ढङ्गले अगाडि लान आवश्यक भएको बताउनुभयो ।
भक्तपुरका सम्पदा, बाजागाजा, चाडपर्व, मौलिक परम्परा आदि नेपाली सभ्यताको पहिचान हो भन्दै उहाँले यसको वैज्ञानिक विश्लेषणको आवश्यकता भएको औँल्याउनुभयो ।
स्थानीय पाठ्यक्रममा उल्लिखित विषयवस्तुहरूबाट नयाँ पुस्ता स्वाभाविकरूपमा लाभान्वित हुने धारणा राख्दै उहाँले शोषणको विरोध हुँदैमा समाजवाद आउँछ भन्नी सोच्नु गलत हुने बताउनुभयो ।
इतिहास, भूगोल र देशको राजनीतिक विषयमा पाठ्यक्रममै समाविष्ट गरी विद्यालयस्तरदेखि विद्यार्थीलाई शिक्षित बनाउनुपर्ने आवश्यकता आँैल्याउँदै उहाँले शिक्षकहरूले समाजमा आमूल परिवर्तनको निम्ति योगदान गर्नुपर्ने बताउनुभयो ।
भाषागत शुद्धाशुद्धीमा शिक्षकहरू दख्खल हुनुपर्ने धारणा राख्दै अध्यक्ष बिजुक्छेँले विश्वको इतिहास र भूगोलको विषयमा विद्यार्थीलाई राम्रोसँग अध्यापन गराउनुपर्ने खाँचो औँल्याउनुभयो ।
शासक दलका नेताहरूमा दूरदर्शी सोचको अभाव भएको बताउँदै उहाँले रुस र युक्रेनबीचको लडाइँ हुनुमा अमेरिकी साम्राज्यवादको ठूलो हात भएको उल्लेख गर्नुभयो ।
कार्यक्रमका सभापति एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर नपाले स्थानीय पाठ्यक्रम निर्माण कार्यदल गठन गरी भक्तपुर नपाभित्रका ९२ वटा विद्यालयहरूमा कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम निर्माण गरी लागु गरिसकेको र सन्दर्भ सामग्री ख्वपको पहिचान भाग १ र भाग २ प्रकाशनमा ल्याइसकेको जानकारी दिनुभयो ।
सस्तो र गुणस्तरीय शिक्षा अहिले भक्तपुरको विशेषता बनेको छ भन्दै उहाँले कक्षा १ देखि ८ सम्म स्थानीय पाठ्यक्रम बनाई लागु गर्ने भक्तपुर नै पहिलो नगरपालिका भएको दाबी गर्नुभयो ।
भक्तपुर नपाबाट सञ्चालित कलेजहरूसँगै भक्तपुरमा सञ्चालित अधिकांश सामुदायिक विद्यालयहरूको शैक्षिक स्तरमा सुधार भएको बताउँदै उहाँले चिट चोरेर पास गर्ने प्रवृत्ति अन्त्य भएसँगै भक्तपुरका विद्यालयहरूबीच गुणस्तरीय शिक्षाको लागि प्रतिस्पर्धा हुन थालेको बताउनुभयो ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले कार्यदलले गरेको कामको प्रशंसा गर्दै भक्तपुरलाई शैक्षिक गन्तव्यस्थल बनाउन यहाँका विद्यालयहरूको ठूलो देन रहेको बताउनुभयो । नगरपालिकाका आगामी कार्यक्रममा पनि रचनात्मक सुझावको अपेक्षा गर्दै उहाँले एक्काइसौँ शताब्दीको लागि योग्य नागरिक तयार गर्ने ढङ्गले आफ्ना शैक्षिक क्रियाकलापलाई जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
स्थानीय पाठ्यक्रम निर्माण कार्यदलका संयोजक योगेन्द्रमान बिजुक्छेँले भक्तपुर नपाको स्थानीय पाठ्यक्रममा मूर्त र अमूर्त सम्पदाहरूको इतिहास समावेश भएको बताउँदै पाठ्यक्रममा अनुसन्धान र खोलमूलक विषयवस्तु रहेको छ भन्नुभयो ।
कार्यदलका सदस्य सिद्धिरत्न शाक्यले समाजको आवश्यकता र रुचिअनुसार पाठ्यक्रम परिमार्जन गर्दै लानुपर्ने आवश्यकता औंल्याउँदै उहाँले पाठ्यक्रम र पाठ्यपुस्तकबीचको भिन्नताबारे प्रस्ट पार्नुभयो ।
सार्वजनिक मावि संयुक्त परीक्षा समितिका अध्यक्ष श्रीकृष्ण किसीले स्थानीय पाठ्यक्रमले कक्षागत र तहगतरूपमा विद्यार्थीलाई स्थानीयरूपमा रहेको ख्वपको भूबनोट, इतिहास, जनसङ्ख्या, जनजातजाति, संस्कार, सीपलगायतका विषयमा अध्ययन अध्यापन गराउन सहज बनाएको र शिक्षकहरूलाई क्रियाशील बनाएको बताउनुभयो ।
सामुदायिक मावि संयुक्त परीक्षा समितिका अध्यक्ष महेन्द्रगोपाल कर्माचार्यले पाठ्यक्रमलाई परिमार्जन गर्ने क्रममा धेरै सुधारहरू भएका छन् भन्दै भक्तपुर नपाले निर्माण गरेको स्थानीय पाठ्यक्रम अन्य स्थानीय तहको निम्ति मोडल बनेको र शिक्षण सिकाइ क्रियाकलापलाई सहजीकरण गर्न निर्माण गरिएको स्थानीय पाठ्यक्रम सन्दर्भ सामग्रीले शिक्षक तथा विद्यार्थीलाई धेरै सजिलो बनाएको बताउनुभयो ।
स्थानीय पाठ्यक्रममा उल्लेख भएका लोपोन्मुख वस्तुहरूको सङ्ग्रह गरी सङ्ग्रहालय निर्माण गर्नु उचित हुने सुझाव उहाँले दिनुभयो ।
इसान भक्तपुरका अध्यक्ष पुरुषोत्तम ग्वाछाले कोभिडका कारण पढ्ने वातावरण नभएकोले विद्यार्थीहरूको पढाइ खस्कँदै गएको धारणा राख्दै भक्तपुर नपाले शिक्षा क्षेत्रमा गरिरहेको काम प्रशंसनीय भएको बताउनुभयो ।
एन.प्याब्सन भक्तपुरका अध्यक्ष पुण्यराम कवांले जनताको आस्थाको धरोहर बन्न सफल भक्तपुर नपाले संस्थागत विद्यालयका विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरी उच्च शिक्षा हासिल गर्ने अवसर प्रदान गरेकोमा धन्यवाद ज्ञापन गर्दै देशविदेशमा समेत भक्तपुर नपा उदाहरणीय काम गर्न सफल भएकोमा गौरवान्वित महसुस भएको बताउनुभयो ।
आधारभूत विद्यालय संयुक्त परीक्षा समितिका अध्यक्ष दीपक माकले भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्रको रूपमा विकास गर्न स्थानीय पाठ्यक्रम कार्यदलले महत्वपूर्ण भूमिका खेलेको धारणा राख्दै भनपाले पाठ्यक्रम लागू गरिसकेपछि विद्यार्थीहरूले नयाँ कुरा सिक्न पाएको अनुभव गरेका छन् भन्नुभयो ।
भक्तपुर नगर प्याब्सनका अध्यक्ष रमेशचन्द्र श्रेष्ठले विद्यालयस्तरमा स्थानीय पाठ्यक्रमको महत्व धेरै भएको र भक्तपुरका कला, संस्कृतिबारे नयाँ पुस्ताका विद्यार्थीलाई जानकार गराउन पाठ्यक्रमको भूमिका उल्लेखनीय भएको बताउनुभयो ।
संस्थागत विद्यालयको लेखापरीक्षणको समयमा देखिने समस्यामा नगर शिक्षा शाखाबाट आवश्यक सहयोगको अपेक्षा रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व, प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी र नगर शिक्षा शाखाका कृष्णप्रसाद कर्माचार्यले स्थानीय पाठ्यक्रम निर्माण कार्यदलको औचित्यता र उद्देश्यमाथि प्रस्ट पार्नुभयो ।
कार्यक्रममा भक्तपुर नपाभित्र सञ्चालित ९२ वटा विद्यालयका प्रअ तथा स्थानीय पाठ्यक्रम अध्यापन गर्ने शिक्षक शिक्षिकाहरूको उपस्थिति थियो ।
Leave a Reply