भर्खरै :

सही या गलतको मापदण्ड सङ्ख्या होइन

नेपालमा गलत राजनीतिक अभ्यास भइरहेको छ । दलको सिद्धान्त र विचार बुझाएर जनतालाई हातमा लिने काम नगरी कहिले ठूलो दलको भजन गाएर, कहिले सरकारको नेतृत्व गर्ने दल भनेर त कहिले अन्य नेता तथा कार्यकर्ता पार्टीमा प्रवेश गरेको देखाएर हातमा लिने काम ठूला तथा सत्तारुढ दलहरूले गरिरहेका छन् । ती दलका नेताहरू दल ठूलो हुनु नै सच्चाइको मापदण्ड ठान्छन् र गर्व गर्छन् । तिनै दलका नेताहरू जनताको विश्वास लिने नाउँमा शक्ति प्रदर्शन गर्छन् । कुनै दलको जुलुस या आमसभामा देखिएको जनसहभागिताभन्दा बढी आफ्नो देखाउन जसरी भए पनि कार्यकर्ता या जनता सहभागी गराउने काम पनि तिनै ठूला र सत्तारुढ दलका नेताहरू गर्छन् । यसरी देशमा दलको होडबाजी बेथिति ढङ्गले भइरहेको देखिन्छ । यो राम्रो सङ्केत होइन ।
कुनै राजनीतिक दललाई हेर्ने र बुझ्ने त्यो दलको सिद्धान्त र विचार नै हो । कुनै दलले कुनै सभा या कार्यक्रममा गरेको प्रदर्शन, सहभागी सङ्ख्या, दलले प्राप्त गरेको मत र सरकारको नेतृत्व नै सच्चाइको आधार होइन । त्यसलाई आधार मान्ने हो भने सरकारको नेतृत्व गर्ने दल सधैँ एउटै छैन, एउटै होइन । सरकारको नेतृत्व बेलाबखत फरक दलले गरे, फरक–फरक समयमा फरक–फरक दल ठूला भए । ठूलो दलमात्रै ठीक र सही मानेमा हालसम्मका सबै सत्तारुढ दललाई गलत मान्नुपर्ने हुन्छ । यसकारण, दल सही या गलतको मापदण्ड सङ्ख्या होइन । सङ्ख्यालाई आधार मानेर कुनै पनि नागरिकले सही या गलत मानी दलमा पस्नु या मतदान गर्नु ठीक हुँदैन ।
आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदै छ । निर्वाचनको पूर्वसन्ध्यामा आ–आफ्नो दलप्रति जनताको विश्वास देखाउन ठूला दलका नेताहरू फलाना नेता तथा कार्यकर्ता फलाना पार्टीमा प्रवेश भएको देखाउँछन्, सञ्चारमाध्यमार्फत प्रचारप्रसार गर्छन् । पार्टी नेता तथा कार्यकर्ता प्रवेश भएकै आधारमा तिनीहरू आफ्नो पार्टीलाई सही र अर्काे पार्टीलाई गलत ठान्छन् । आजभोलि हरेक दिनझैँ सिङ्गो जिल्ला पार्टी, सिङ्गो गाउँ फलानामा पार्टीमा प्रवेश भन्ने समाचार आइरहेको पाइन्छ । नेकाको एमालेमा, एमालेको नेकामा, एमालेको एकीकृत समाजवादीमा, समाजवादीको एमालेमा, माओवादीको एमालेमा, एमालेको माओवादीमा प्रवेशका समाचारहरू हामी पढ्न पाउँछौँ । पार्टी प्रवेश भएकै भरमा नेताहरू नाक फुलाउँछन् र आफ्नै पार्टीलाई सही मान्छन् । त्यहीअनुसार नेताहरू भाषण ठाँट्छन् ।
कुनै व्यक्तिले दल बदल्नु हुँदैन भन्ने होइन । दल रोज्न पाउनु उसको अधिकार हो । कतिले दलको सिद्धान्त र विचार चित्त नबुझेर दल फेर्छन् । कति नेता तथा कार्यकर्ताहरूले दलको सिद्धान्त र विचारविपरीत काम गर्दा बस्न नसकेर या कारबाही गर्ने चिन्ताले त कतिले पदको दुरूपयोग गरी अकुत सम्पत्ति कुम्ल्याएर या कुम्ल्याउन नपाएर पनि दल छोड्छन् । कुनै नेता, कार्यकर्ताले गलत काम गरेर पार्टी छोड्नु र सिद्धान्त नै चित्त नबुझेर पार्टी छोड्नु फरक–फरक कुरा हो । सिद्धान्त र विचार बुझेको होस् या नहोस् जो कसैलाई पार्टीमा भित्र्याउँदा त्यो पार्टी कस्तो हुन्छ ? पार्टीमा सदस्य सङ्ख्या बढी भए पनि त्यस्तो पार्टीले दिशा निर्देश गर्नसक्दैन, सही दिशा दिनसक्दैन । यसले समाज परिवर्तनमा कुनै भूमिका खेल्दैन । पटक–पटक सरकारको नेतृत्व गर्ने दलले कुनै मौलिक परिवर्तन गर्न नसक्नुको कारण पनि यही हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *