भर्खरै :

चिकित्सक दिवसको नारा र व्यङ्ग्य !!

‘जिम्मेवार चिकित्सक, सुरक्षित पेशा’ मुख्य नाराका साथ फागुन २० गते नेपाल चिकित्सक दिवस मनाइरहँदा साँझपख एउटा समाचार आउँछ, ‘सुत्केरीको मृत्युपश्चात् अस्पताल तनावग्रस्त ।’ अर्काे समाचारको शीर्षक थियो, ‘के ग¥यो उदयपुर जिल्ला अस्पतालले ? लियो आमा र छोराको ज्यान ।’ यस्तैमा एक जना संवाददाता लाइभमा आउनुहुन्छ ।
अस्पतालको प्राङ्गणमा केही मानिसहरूको भिडको बीचमा एक जना व्यक्ति बोलिरहेको थियो, “गल्ती गर्ने तर गल्तीको स्वीकार नगर्ने ? …. यदि डाक्टरले गल्ती स्वीकार गरेन र यो अस्पतालमा तोडफोड भयो भने त्यो सबको जिम्मा त्यही डाक्टरले लिनुपर्छ ।”
अस्पताल सबैको साझा सम्पत्ति हो, तोडफोड गर्नुहुँदैन । तर, त्यो ज्यानमारा डाक्टरको खप्पर फुटाउन सक्नुपर्छ । भिडमा ताली बज्छ, ऊ झन् जोसिएर अस्पतालतिर चोर औँला देखाउँदै बोल्न थाल्छ, “हामीले आधा घण्टाको समय दिएका छौँ । आधा घण्टामा उनीहरू बाहिर आएर सफाइ दिएन भने हामीभित्र जानेछौँ ।” ताली !!!
भिडियो क्यामेराअगाडि बढ्छ जहाँ केही महिलाहरू जम्मा भएका छन् । संवाददाता प्रश्न गर्छन्, “बिरामीको ज्यान कसरी गएको हो ?” मृतकको आफन्त पर्ने एक जना महिला उत्तर दिन्छिन्, यो मृत्यु डाक्टरको चरम लापरबाहीले गर्दा भएको हो । आफन्तहरू सबैलाई बाहिर पठाएर थिचीथिची मारेको हो । हामी भित्र गएर हेरेको त सबै स्वास्थ्यकर्मीहरू लुकेर बसेका छन् । बाहिर आएर यथार्थ के हो ? जान्न पाउनुप¥यो ।…. पीडितले न्याय पाउनैपर्छ भन्दै संवाददाताको क्यामेरा बन्द हुन्छ । समाचार हेरेपछि केही चिकित्सकहरूको निराशा आफ्ना फेसबुकका स्टाटसहरूमा यसरी पोखिन्छन्–
“के नेपालमा जन्मिनु र डाक्टर भएर काम गर्नु अभिशाप हो ?” “१००० बिरामी बचाउँदा कोही केही नबोल्ने तर एउटा बिरामी तलमाथि भएमा ज्यानमारा कहलिनुपर्ने, यो कहाँसम्मको न्याय हो ?” “हामीले चिकित्सक दिवसमा कति ठूलो उपहार पाएछौँ, अपमान, आरोप र दुव्र्यवहार !!”
यो एउटा प्रतिनिधि घटनामात्र हो, यस्ता समाचारहरू त महिनामा ३–४ वटा आउँछन्, कुनै नौलो कुरा रहेन । प्रत्येक जीवन अमूल्य छ । हरेक मानिसलाई आफ्नो र आफ्नो प्रियजनको जीवन प्यारो लाग्छ । त्यस्तै गरी जीवन बचाउने प्रण लिएका डाक्टरहरूलाई पनि आफ्नो बिरामीहरूको जीवन प्यारो लाग्छ । कोही पनि डाक्टरले बिरामीको ज्यान लिने कुनियतका साथ उपचार गर्छ जस्तो लाग्दैन । तर, यो पनि ध्रुवसत्य कुरा हो कि अस्पतालमा आउने हरेक बिरामीको ज्यान बचाउन सम्भव छैन । बिरामीको उपचारको निम्ति आफ्नो अधिकांश समय खर्चिने ती डाक्टर वा स्वास्थ्यकर्मीहरूले नै अपराधी र ज्यानमाराको संज्ञा पाउँदा ती डाक्टरहरूको भावना र आत्मसम्मानमा कति आघात पुगेको हुन्छ, त्यो कुरा यी दोषारोपण गर्ने व्यक्तिहरूले सोच्न पनि भ्याउँदैनन् । आफ्नो ज्यान जोगाउनको निम्ति कुनै अपराधी भागेजस्तै भाग्नुपर्छ, कोही चोर लुकेजस्तै लुक्नुपर्छ भने डाक्टरहरूको सुरक्षा कहाँनेर छ ?
यसको अर्थ डाक्टरहरूबाट गल्ती नै हुँदैन भन्ने होइन तर जानीजानी गल्ती कसैले गर्दैनन् । एउटै रोगको प्रस्तुति पनि व्यक्तिपिच्छे फरक हुनसक्छ, कहिलेकाहीँ आफूले आर्जन गरेको ज्ञान र सीप कम पर्न सक्छ, कहिले प्राविधिक त्रुटिहरू हुनसक्छ, कहिले जति कोसिस गर्दा पनि अवस्था नियन्त्रणबाहिर जान सक्छ, कहिले सीमित स्रोत र साधनको बीचमा उपचार गर्नुपर्ने हुन्छ, अझ हाम्रो जस्तो देशमा बिरामीलाई धामीझाक्रीकहाँ लगेर निको नभएपछि अन्तिम अवस्थामा अस्पताल ल्याउँछन् । त्यतिबेलासम्म उपचारमा ढिलाइ भइसकेको हुन्छ । यी सबै कारणलाई ओझेलमा राखेर ‘डाक्टरको लापरबाही’ मुख्य कारण देखाउनु अन्यायपूर्ण छ । अझ घटनाक्रमबारे राम्रोसँग विस्तृत जानकारी लिन नभ्याउँदै पत्रकारहरूले सम्पूर्ण दोष डाक्टरहरूमाथि लगाएर समाचारको शीर्षक बनाउन भ्याइसक्छन् । जसले पीडित पक्षमात्र नभई आम जनमानसमा आक्रोश बढ्छ र स्थिति झन् अनियन्त्रित बन्छ । त्यसपछि अस्पतालमा नाराबाजी सुरु हुन्छ– ज्यानमारा डाक्टर मुर्दावाद !
पीडित परिवारलाई न्याय !
बिरामी मार्न पाइँदैन–पाइँदैन, पाइँदैन ।
घटनाबारे विस्तृत छलफल र निष्पक्ष छानबिन गर्नुपर्छ र साँच्चै स्वास्थ्यकर्मीको दोष वा लापरबाही प्रमाणित भएमा सजाय अवश्य दिनुपर्छ ।
यी घटनाहरूले नेपालमा चिकित्सकहरू सामाजिक र भौतिकरूपमा सुरक्षित छैनन् भने प्रस्ट चित्रण गरेका छन् । आर्थिक सुरक्षाको कुरा गर्ने हो भने त झन् विरक्तलाग्दो कहानी छ । चिकित्सकले निजी अस्पतालमा एकदम न्यून पारिश्रमिकमा काम गर्नुपर्ने बाध्यता छ । पढाइमा लाखौँ रुपियाँ लगानी गरेर केही हजार तलबमा चित्त बुझाउनुपर्छ । दुई–तीन क्लिनिकहरूमा काम गर्नुपर्ने हुन्छ जसले गर्दा आफ्नो स्वास्थ्य र आफ्नो परिवारलाई दिनुपर्ने समय नै बाँकी रहन्न । त्यसैले नेपालमा चिकित्सकहरू सुरक्षित छैनन्, आर्थिक, भौतिक र सामाजिकरूपमा । चिकित्सकको सुरक्षा नाराहरूमा सीमित छ । फेसबुक स्क्रोल (क्अचयिि) गर्दै जान्छु ….. केही समयपछि फेरि अर्काे समाचार आउँछ– ‘उपचारको क्रममा शिशुको मृत्युपश्चात् कोसी अस्पताल तनावग्रस्त ¤¤’ फेरि त्यस्तै नाराबाजी र तोडफोड । चिकित्सकहरूको भाग दौड । यस्तो लाग्यो, यी समाचारहरूले चिकित्सक दिवसको नारामाथि व्यङ्ग्य गरिरहेछन्, गिज्याइरहेछन् । ‘जिम्मेवार चिकित्सक, सुरक्षित पेशा ।’
चिकित्सक गाईजू नुवाकोटस्थित त्रिशुली अस्पतालमा कार्यरत हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *