भर्खरै :

अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसबारे छात्राहरू

सुशिला वली
हरेक वर्ष मार्च ८ को दिनमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइन्छ । सङ्घर्ष, श्रम र समाजप्रतिको योगदानको लागि महिलालाई आदर, सम्मान, प्रशंसा गर्ने दिनको रूपमा संसारभरि विभिन्न कार्यक्रमहरू आयोजना गरी मनाइन्छ ।
आज हामीजस्ता चेलीहरूले हरेक कुरामा समान व्यवहार पाएका भए, पुरुषजस्तो हरेक कुरामा स्वतन्त्रता पाएका भए महिला दिवसको आवश्यकता नै हुँदैनथ्यो होला । परापूर्वकालदेखि नै नारीहरू सधैँ पछाडि पारिँदै आएका छन् । नेपालको सन्दर्भमा हेर्ने हो भने महिलाहरू हरेक कुरामा पिछडिएका छन् । आधाभन्दा बढी सङ्ख्यामा महिलाहरूले अझै पनि दाइजो प्रथा, छाउपडी प्रथा आदि कुरीतिहरू झेल्न बाध्य छन् । अझै पनि नारीहरूमाथि हुने विभिन्न किसिमका विभेदहरूको अन्त्य भएको छैन । महिला भएपछि घरभित्रको काममा मात्र अग्रसर हुनुपर्छ, बाहिर हिँड्नु हुँदैन भन्ने कुविचारले गर्दा आज समाज धेरै पछाडि छ । महिला र पुरुष समान भए तापनि समान ज्याला, समान अधिकार, कामको निश्चित समय नहुने, १८ घण्टा काम गर्दा पनि कामअनुसारको ज्याला नपाउने समस्या, अन्याय र पीडा भोग्नुपर्ने बाध्यता अझै पनि समाजमा छ ।
पुँजीवादी समाजले महिलालाई देहव्यापार गर्न बाध्य बनाएको पाइन्छ । धेरै महिलाहरू गरिबीको कारण, रोजगारको व्यवस्था नहुँदा वा व्यक्तित्व विकासको अवसर नपाउँदा, बाँच्नको निम्ति सङ्घर्षमा आफ्नो शरीर बेच्न बाध्य भएका छन् । यो सबैको कारक पुँजीवादी व्यवस्था, पुँजीवादी शिक्षा नीतिनियम नै हो । महिलालाई मानिसको रूपमा नलिई वस्तुको रूपमा लिने पुँजीवादी मानसिकताको कारणले पनि यौन व्यापार झन् बढेको पाइन्छ । जङ्गली युगमा पुरुष सिकार गर्न हिँड्थे, महिलाहरू केटाकेटी स्याहारसुसार आदि काम गर्थे । आज पनि घरभित्रको काममा मात्र सीमित हुनुपर्छ भन्ने प्रवृत्तिले गर्दा नेपालमा लाखौँ महिला झन्झन् पछाडि परेको छ । जति काम गर्दा पनि सुखको दिन नभेटाउने गरिब गाउँका महिलाले अझै पनि कति गाउँमा सुख कस्तो हुन्छ महसुस गर्न पाएका छैनन् । महिलाहरूले शिक्षा र आर्थिक अभावका अनेक मानसिक र शारीरिक यातना झेल्नु परेको छ ।

विश्व महिला आन्दोलनले गर्दा नै महिलाले केही अधिकार पाएका हुन् । विश्वका करिब ७० देशका कानुनमा महिलालाई समान ज्याला, विभिन्न सुविधा निश्चित गरेको पाइन्छ । त्यसकारण जबसम्म देशमा समाजवादी व्यवस्था आउँदैन तबसम्म महिलाहरू पूर्णरूपमा पुरुषसरह समान हुनै पाउँदैनन् । समाजवादी व्यवस्थाले महिलालाई यथार्थमा स्वतन्त्र बनाउँछ । समाजवादी देशमा महिलाले पुरुषसमान व्यवहार र अधिकार पाएका छन् । त्यसकारण महिलालाई पनि विभिन्न सीप सिकाउने बन्दोबस्त होस्, नारीलाई पनि समानरूपमा बाँच्न पाउने अधिकार होस्  । आर्थिक समानताको स्वतन्त्रता पाइयोस् । अझै पनि नारीहरूमाथि हुने विभिन्न किसिमका विभेदहरू, अन्याय, अपराधहरूको अन्त्य भएको छैन । त्यसका लागि सम्पूर्ण दिदीबहिनी, आमाहरू सचेत र सङ्गठित हुन आह्वान गर्दै सम्पूर्ण नारीहरूलाई ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको शुभकामना व्यक्त गर्न चाहन्छु ।
सिर्जु शाही
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस देशभर मनाइएको खबर पत्रपत्रिका र सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती पढ्न र देख्न पाइयो । विभिन्न व्यक्ति तथा सङ्घसंस्थाको आयोजनामा यो दिवस मनाइएका पोस्ट र तस्बीरहरू सामाजिक सञ्जाल र अखबारहरूमा पढिरहँदा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको मूल भावना नै ओझेल परेको हो कि भन्ने लाग्यो । यसको अपव्याख्या गरी अतिरञ्जनापूर्ण ढङ्गले मनाइने प्रवृत्ति समाजमा छ ।
हामीलाई थाहा छ, विद्यमान समाज वर्गीय छ । हाम्रो समाज मुख्यतः दुई भागमा विभाजित छ । एउटा धनी र अर्को गरिब अथवा काम गरिखाने कामदार वर्ग र शोषण गरिखाने पुँजीपति वर्ग । यी दुईबीच ठूलो खाडल छ । उत्पादनका साधनमाथिको स्वामित्व धनीको हातमा हुन्छ । धनीले गरिबको श्रम शोषण गरेर झन् धनी बन्छ भने गरिब सधैँ पीडित र शोषित भइरहन्छ ।

राजनीति पनि वर्गीय छ । पुँजीपति राजनीति आफ्नो वर्गको सेवा वा भक्तिमा तल्लीन हुने गर्छ । उनीहरूले समाज परिवर्तनको नाउँमा गर्ने राजनीति हात्तीको देखाउने दाँतमात्र हो । श्रमिक वर्गले गर्ने कामदार वर्गको राजनीति साँचो अर्थमा समाज परिवर्तनको मूल मन्त्र हो ।
वर्गीय समाजमा समाज परिवर्तनका निम्ति मनाइने अनेक दिवसहरू पनि वर्गअनुसार हुन्छन् । तिनको भावना र लक्ष्य पनि सोहीअनुरूप निर्धारित हुन्छन् । दिवस र सभाहरू त्यही अनुरूप मनाइन्छन् । अझ साधारण भाषामा भन्नुपर्दा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस वास्तविक समाज परिवर्तनका लागि मनाइन्छ । समाजमा भएको मूल जड धनी र गरिबबीचको खाडल पुर्ने एउटा सशक्त माध्यमको रूपमा मनाइन्छ । तर, शोषक, पुँजीपति र सामन्तहरू यो दिवसलाई ‘नारी दिवस’ भनेर मनाउँछन् । पुँजीवादी महिलाहरू पनि शोषण गर्छन्, पुरुष र महिला भन्दैनन् । ‘नारी दिवस’ महिला मुक्ति र वास्तविक शोषणलाई ओझेल पार्ने गरी तामझामका साथ भड्किलो पहिरन, चर्को नारा र हातमा वाइन ग्लास, ह्वीस्की र स्याम्पेन ट्युलिबहरू बोकेर चुस्की लाउँदै पार्टी प्यालेस र डिस्को बारमा मनाइन्छ । अन्यायविरुद्ध होइन अन्यायलाई झन् बढावा दिन, शोषणको विरुद्ध होइन शोषणलाई झन् चरमचुलीमा पु¥याउन, वास्तविक समस्या र सङ्घर्षलाई ओझेल पार्न मनाइन्छ । महिला मुक्तिको नाउँमा लैङ्गिक विभेदलाई अतिरञ्जित गरिन्छ र जनताबीच भ्रम पैदा गर्ने कुचेष्टा गरिन्छ ।
त्यसको विरोधमा मनाइने हाम्रो दिवस हो अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस । आजभन्दा ११२ वर्ष अगाडि समाजवादी क्रान्तिकारी नेतृ क्लारा जेट्किन र रोजा लक्जेम्बर्गको नेतृत्वमा सन् १९११ मा मजदुर र सर्वहारा महिलाको हकहित सुनिश्चितताको माग गर्दै मनाउन थालिएको थियो । सुरुमा यो दिवस फेब्रुअरी २८ मा मनाउने गरिए तापनि पछि जेटकिनकै नेतृत्वमा सन् १९१३ देखि मार्च ८ मा मनाउने निर्णय गरिएको थियो । नेपालमा पनि हरेक वर्ष मार्च ८ मा हामी कामदार वर्गका महिला पुरुषले वर्गीय विभेदविरुद्ध सङ्घर्ष गर्दै अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउँदै आएका छौँ । हाम्रो यो सङ्घर्ष तबसम्म चलिरहनेछ जबसम्म समाजमा वर्गीय भेदको अन्त्य हुनेछैन । वर्गीय भेद रहेसम्म महिला मुक्ति सम्भव छैन ।
स्वस्तिका तामाङ
महिला समाजको एक अभिन्न अङ्ग हो । महिला समाज सञ्चालनको एक जग हो । महिलाले समाज र विश्वलाई सन्तुलितरूपमा सञ्चालन गर्न मद्दत गर्छन् । विडम्बना ¤ हाम्रो समाजले महिलालाई घरमा बसेर काम गर्ने, खाना बनाउने, घरपरिवारको सेवा गर्ने, सन्तान उत्पादन गर्ने एक चीज वा वस्तुको रूपमा लिने गरेको छ । महिलालाई पुरुषलाई जस्तो स्वतन्त्रता दिइएको छैन । संविधानमा लेखियो, कार्यक्रमहरूमा ठूल्ठूला भाषण दिइयो । तर व्यवहारमा प्रगति भएन । संविधानका बुँदाहरूमा महिला अधिकार, महिला–पुरुष बराबर, महिला–पुरुषलाई समान हक भनेर लेखिएको छ । तर, व्यवहारमा भने केही लागू नभएको देखिन्छ । आज पनि गाउँघरमा छोरीचेलीलाई गरिने र छोरा मान्छेलाई गरिने व्यवहारमा आकाश पातालको फरक छ । छोरालाई पढ्नको लागि सहरतिर पठाइन्छ भने छोरीलाई गाउँघरमा नै राखेर काम गराउने र पढ्नको लागि पनि सरकारी विद्यालयमा पठाउने गरिन्छ । एउटै परिवारको व्यक्ति दिनभरि काम गरेर आउँछ, श्रीमान आउनेबित्तिकै आराम गर्न थाल्छ तर श्रीमतीले भने जति थकाइ लागे पनि आफैले खाना बनाएर दिनुपर्ने हुन्छ । तराई क्षेत्रमा हेर्ने हो भने दाइजोको नाममा बुहारीलाई पिट्ने, मार्नेजस्ता क्रियाकलाप भइरहेका छन् ।

देशको राष्ट्रपति महिला भए पनि देशका महिलाहरूका लागि न्यायपूर्ण कार्य केही भएको छैन । बलात्कृत छोरीचेलीहरूले न्याय पाउन सकेका छैनन् । बोल्न कोसिस गर्नेहरूको मुख बन्द गरिएको छ । महिलालाई दबाउने, कमजोर बनाउने र अगाडि बढ्न नदिने हाम्रो देशमा मात्र नभई पूरै विश्वमा हुन्छ । विश्वकै सबैभन्दा साक्षर र धेरै विकसित भनेर आफूलाई प्रस्तुत गर्ने अमेरिकामा आजसम्म महिला राष्ट्रपति देखेका छैनौँ । त्यहाँका मानिसहरू भन्छन् – महिला देश चलाउन र समाज चलाउन योग्य छैनन् । महिलाले घरव्यवहार चलाउने हो ।
यस्तै यावत समस्याहरूका कारण महिलालाई शिक्षित, आत्मनिर्भर बनाउन र समाजमा महिलालाई अगाडि बढाउन अन्तर्राष्ट्रिय महिला दिवस मनाइन्छ । अन्तर्राष्ट्रिय महिला दिवस ती पिछडिएका श्रमिक महिलाहरूलाई आफ्नो हक अधिकारको संरक्षण गर्न र महिला हिंसाजस्ता विकृतिलाई समाजबाट हटाउनको लागि मनाइन्छ । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस हरेक वर्ष मार्च ८ मा महिलाहरूको सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक उपलब्धिहरू बढाउन र महिला समानताबारे चेतना जगाउन, लैङ्गिक समानतालाई गति दिन मनाइन्छ ।
प्रतिभा रावल
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको सुरुआत १९१० मार्च ८ मा भएको हो । क्रान्तिकारी महिला क्लारा जेट्किनले यसमा अगुवाइ गर्नुभएको थियो । त्यसैअनुसार मार्च ८ मा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउँदै आएका छौँ । यो श्रम वा मजदुरी गरेर जीविकोपार्जन गर्ने अर्थात् कामदार वर्गका महिलाबाट उठेको आन्दोलन हो । संयुक्त राष्ट्रसङ्घले वार्षिक कार्यक्रम गरेर महिला र पुरुषबीचको लैङ्गिक विभेद हटाउन र महिला सशक्तीकरण गर्न प्रशिक्षण तथा सिकाइका रूपमा अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउँछ ।

यो दिवस मनाउन थालेको ११२ वर्ष पुगे पनि महिला हिंसा, लैंगिक समस्याहरू समाजबाट हटेको छैन । नेपालमा अझै पनि दाइजो प्रथा, झुमा प्रथा, देउकी प्रथा, छाउपडी प्रथा, महिला हिंसाले कैयौँ छोरीको हत्या भइरहेको छ । लैङ्गिक असमानताले गर्दा कैयौँ दिदीबहिनीको जीवन अन्धकारमय बनेको छ । चेतनाको कमीले गर्दा नारीहरू बाह्य वातावरणमा घुलमिल हुन नसकेको अवस्था छ ।
कुनै पनि श्रमिक महिला पीडित हुन नपरोस् भनेर हामी अन्तर्राष्ट्रिय महिला दिवस मनाउँछौँ । शोषण र विभिन्न कुप्रथाका आधारमा कुनै पनि छोरीलाई बलिको बाख्रा नबनाइयोस् भनेर देशव्यापीरूपमा महिला दिवस मनाउने गर्छौँ । काम गर्ने समय अवधि घटाउन र काम गरेबापत राम्रो ज्याला पाउन, पुरुष र महिलाबीच समानता कायम गर्न संसारभर अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने गर्छौँ ।
सलिना थापा
अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस ठूलो चाड हो । महिलाहरूको सांस्कृतिक, राजनीतिक, सामाजिक र आर्थिक उपलब्धिहरूको स्मरणमा यो चाड मनाइन्छ ।
यस दिवसले महिला आन्दोलनमा जोड दिन्छ र लैङ्गिक समानता, प्रजनन अधिकार र महिलाविरोधी हिंसा र दुरूपयोगजस्ता अनेक मुद्दा उठान गर्छ ।

बर्सेनि मार्च ८ मा अन्तर्राष्ट्रिय महिला दिवस विश्वभर अनेक किसिमले मनाइन्छ । धेरै देशमा यो दिन सार्वजनिक बिदा हुन्छ । छरछिमेक र समाजमा मनाइन्छ । संयुक्त राष्ट्रसङ्घले पनि यो दिवस मनाउँछ ।
लैङ्गिक समानताको सन्देश दिन र लैङ्गिक हिंसारहित असल समाज बनाउन यो दिवस मनाइन्छ ।
नेपालजस्ता देशका महिलाहरूले आफूलाई कमजोर ठान्छन् र कहिल्यै आफ्नो अधिकार लिन खोज्दैनन् । यो गलत हो । त्यसैले दिदीबहिनीहरू, आफ्नो हकअधिकार प्रयोग गरौँ र स्वतन्त्र भई आफ्नो बहुमूल्य बाँच्न सिकौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *