भर्खरै :

देश जोगाउन लाग्नेहरू देशविरोधी ?

नेकाका नेता, मन्त्री र सांसदहरूले एमसीसी सम्झौतामा रहेका सर्तहरू सही छन् भनेका छैनन् । उनीहरू खालि एमसीसी मुलुकको हितमा छ, देशघाती छैनन् भनी बखान गर्छन् । एमसीसी परियोजनाका सर्तहरू देशविरोधी भएको कुरा उनीहरूलाई थाहा नभएको होइन । तर, बुझ पचाइरहेका छन् । यसको कारण हो, उनीहरूले एमसीसी सम्झौतामा सही गरेका हुन्, सही गरेर उनीहरू गिरेका छन् । नेकाका नेता र मन्त्रीहरूले एमसीसी सम्झौता जतिसुकै देशको हितमा छ भनी फुके पनि उनीहरूको मनमा चयन हुँदैन । निद्रा लाग्दैन । वास्तवमा अध्ययन नै नगरी सम्झौतामा सही गरेको भनी उनीहरू नै स्वीकार्छन् । एमसीसी सम्झौता जहिलेसम्म खारेज हुँदैन तहिलेसम्म सत्तारुढ दलका नेता र मन्त्रीहरूलाई निद्रा लाग्दैन ।
देश बचाउने या देश जोगाउने अभियानमा लागेका दलका नेता, सांसद तथा कार्यकर्ताहरू सरकारको नजरमा देशविरोधी भएका छन् । पैसा नै सबथोक सम्झेर राजनीतिमा हाम फालेका, राजनीति गर्नु जोगी बन्न होइन भनी अकुत सम्पत्ति कुम्ल्याउन दौडधूप गर्ने सत्तारुढ दलका नेता तथा मन्त्रीहरू नै सही ठान्छन् । देश र जनताको निम्ति काम गर्ने, ज्यानको बाजी राख्ने देशभक्त, सङ्घर्षशील योद्धाहरू सरकारको नजरमा गलत हुन्छन् । एमसीसी सम्झौता विरोधको लागि विरोध गरेकै होइन । नेका या अन्य कुनै दलले ल्याएको कारण सो सम्झौताको विरोध गरेकै होइन न त अमेरिकी कम्पनी भएरै विरोध भएको हो । देश र जनतालाई घात हुने कुनै पनि काम कुनै विदेशी शक्ति राष्ट्रले गरेमा या सरकारले गरेमा देशभक्त जनताले सोको विरोध नगरी सुखै छैन । नेपाली जनताले कुनै देश र दलको त्यतिकै विरोध गर्नुपर्ने जरुरी छैन । नेपाल र नेपालीको अहितमा घात हुने कामको विरोध गर्नुको अर्थ कुनै देश मन नपरेर र कुनै दल मन नपरेर गरेको भन्न मिल्दैन । देशघाती सम्झौताको विरोध गर्ने दल कसरी विकासविरोधी हुन्छ ?
एमसीसी सम्झौता पारित गर्नुअघि जसरी देशव्यापी विरोध प्रदर्शन भयो त्यसरी नै योजना कार्यान्वयन गर्ने सिलसिलामा अझ बढी विरोध प्रदर्शन हुनेमा शङ्का छैन । त्यो अहिले नै सुरु हुन थालेको छ । आफ्नो बस्ती उठाउने त होइन भनी अहिले सङ्घर्ष समिति गठन गरेर योजना स्थलमा परेका जनता आन्दोलनमा उत्रन थालेका छन् । देश र जनताविरोधी कदमविरुद्ध जनता उठ्नु या जाग्नु स्वाभाविक हो । एमसीसी सम्झौता खारेज नभएसम्म आन्दोलन रोकिने छैन ।–

Leave a Reply

Your email address will not be published. Required fields are marked *