भर्खरै :

अस्वस्थ खानपानले बढ्दै हृदयघात

मानिसका जीवनशैलीमा आएको परिवर्तनले नेपालमा हृदयघातका बिरामी बढिरहेका छन् । अस्वस्थ खानपान रजीवनशैलीमा आएको परिवर्तन रोगका कारक मानिएको छ । दस वर्षको तथ्याङ्क हेर्ने हो भने हृदयघात हुनेको सङ्ख्यामा दोब्बर वृद्धि भएको छ ।
निष्क्रिय जीवनशैली, चिन्ता, युवावस्थामा नै चुरोट, सुर्ती तथा खैनी सेवन र चिल्लो–बोसो खानाले हृदयघातका बिरामी बढिरहेको सहिद गङ्गालाल हृदय राष्ट्रिय केन्द्रका निर्देशक डा. चन्द्रमणि अधिकारीले बताउनुभयो । घरभन्दा बाहिरको अस्वस्थ खानपान गर्नाले पनि हृदयघातका बिरामी बढिरहेको चिकित्सकले बताएका छन् । केन्द्रमा सन् २०१२ मा ४९५ जनामा हृदयघात भएकामा ६ वर्षपछि २०१८ मा तीन गुणा बढेर एक हजार ४६० जना पीडित भएका थिए । उहाँका अनुसार २०२० मा एक हजार ६९८ र सन् २०२१ मा दुई हजार २७३ जना सो रोगका कारण अस्पतालमा भर्ना भएका छन् ।
डा. अधिकारीले २०२१ मा अस्पताल भर्ना भएका बिरामीमध्ये प्रायः हृदयघात भएका हुन् । हृदयघातका बिरामी बढे पनि सन् २०२० मा कोरोना भाइरसका कारणले अस्पतालमा मुटु रोगका कम बिरामी आएका थिए । उहाँले भन्नुभयो, “विगत १० वर्षको तथ्याङ्क हेर्ने हो भने मुटु रोगका बिरामीमध्ये ५० प्रतिशत त हृदयघात भएका बिरामीमात्र नै छन् । नेपालमा हृदयघातका बिरामी दिनप्रतिदिन बढिरहेको गङ्गालालमा आएका बिरामीबाट नै थाहा हुन्छ ।”
उहाँका अनुसार अस्पतालमा दैनिक चार जना हृदयघात आउने गरेका छन् । वरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान कोइराला पनि अस्वस्थ खानपान, तनाव, बाहिरी प्रदूषण र वंशाणुगत कारणले गर्दा मुटुको नली चाँडै बन्द भएर हृदयघात हुने गरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “धूमपान, मधुमेह र उच्च रक्तचाप भएका मानिसको मुटुको नली र अन्य नली बाक्लो हुँदै हृदयघातले आक्रमण गर्छ । यस्तै कोलेस्टेरोल (मुटुमा हुने बोसो), शारीरिक अभ्यासको कमी पेट बढ्ने, पसिना ननिकाल्ने, तनाव, बाहिरी प्रदूषण र वंशाणुगत कारणले गर्दा मुटुको नली चाँडै बन्द हुने गर्छ । स्वस्थ जीवनशैली अपनाउने, खाना धेरै नखाने, स्वच्छ खाने, शारीरिक अभ्यास गर्ने, चुरोट नखाने, नियमित व्यायाम गर्न सके हृदयघातबाट बच्न सकिन्छ ।”
उहाँका अनुसार मुटु जन्मजात बिग्रेर आउने, बिग्रेर आउनेबाट बचेको, घाँटीको दुख्ने रोगबाट सुरु भई पछि मुटुको भल्भ बिग्रने रोग (बाथज्वरजन्य रोग) जस्ता कारणले मुटुका बिरामी हुने गरेका छन् ।
चुरोट सेवन
चुरोट सेवन गर्ने, मधुमेह, कोलेस्टेरोल र उच्च रक्तचाप भएका मानिसमा हृदयघात बढी हुन्छ । तीमध्ये चुरोट पिउने मानिसमा हृदयघात हुने सम्भावना बढी हुने गरेको निर्देशक डा. अधिकारी बताउनुहुन्छ । अहिले युवावस्थामा नै चुरोट सेवन गरेको पाइन्छ । उहाँका अनुसार हृदयघात भएकामध्ये ६५ प्रतिशत चुरोट सेवन गर्नेहरू हुन्छन् । तीमध्ये ४० वर्ष उमेर समूहका व्यक्ति धेरै छन् ।
डा. कोइराला पनि हृदयघात ६० वर्षमाथिकामा हुने गरे तापनि चुरोट खाने व्यक्तिमा भने ४० वर्षमुनि पनि हुने गरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “चुरोट सेवन गर्नाले युवावस्थामा नै हृदयघात हुने सङ्ख्या अत्यधिक बढ्दै गएको छ ।” चालीस वर्षभन्दा कम उमेरको व्यक्तिले चुरोट सेवन गर्छ भने उसलाई हृदयघात हुने सम्भावना नखानेको तुलनामा आठ गुणाले बढी हुने डा. अधिकारीको भनाइ छ ।
हृदयघात भएको १२ घण्टामा जीवन सम्भव
केन्द्रका निर्देशक डा. अधिकारी हृदयघात भएका बिरामी १२ घण्टाभित्र अस्पतालमा आउन सके बचाउन सकिने बताउनुहुन्छ । केन्द्रले हृदयघात भएका बिरामीलाई २४ घण्टा नै एन्जिओप्लास्टी गरेर बचाउने गर्छ । केन्द्रले हृदयघात भएर आएको एक घण्टाभित्र बिरामीको एन्जिओप्लास्टी गर्ने उहाँ बताउनुहुन्छ ।
एउटा एन्जिओप्लास्टी गर्नका लागि रु. एक लाख ५० हजार खर्च लाग्छ । त्यति रकम तिर्न नसक्ने गरिब–असहायका लागि केन्द्रले दुई वर्षदेखि भने निःशुल्क एन्जिओप्लास्टी गर्ने गरेको छ । तीन प्रकारका हृदयघातमध्ये नेपालमा सबैभन्दा धेरै स्टेमी हृदयघात हुन्छ जुन भएका मानिसलाई समयमा नै अस्पताल पु¥याउन सके बचाउन सकिन्छ । उहाँले भन्नुभयो, “हृदयघात भएको मानिसको मुटुमा रगतको आपूर्ति बन्द भएपछि दुख्न थाल्छ । मुटुको मासु मरिसकुन्जेल छाती दुख्ने गर्छ । मुटु दुखिरहेका बेलामा नै अस्पतालमा बिरामी पु¥याउन सके बचाउन सकिन्छ । बिरामी आएको १२ घण्टामा मुटुको प्राइमरी एन्जिओप्लास्टी (मुटुको नसा खोल्ने प्रविधि) शल्यक्रिया गरी नसा खोलेर बचाउन सकिन्छ ।”
नेस्टेमी हृदयघात भएका बिरामीलाई भने केही समयपछि मात्र उपचार गरिन्छ । त्यस्ता बिरामीलाई भर्ना गरे केही दिनपछि शल्यक्रिया गरेर बचाउन सकिन्छ । केन्द्रले प्राइमरी एन्जिओप्लास्टी गरेका बिरामीलाई चार–पाँच दिनमै अस्पतालबाट घर पठाउँछ ।
केन्द्रमा २४ घण्टा नै हृदयघात भएका बिरामीको प्राइमरी एन्जिओप्लास्टी गर्नका लागि १५ जनशक्तिसहित चार अप्रेसन थिएटर (क्याथल्याब) तयारी अवस्थामा राखिएको हुन्छ । केन्द्रमा प्रत्येक महिना ५० जनाको प्राइमरी एन्जिओप्लास्टी गरेर हृदयघात भएका बिरामीलाई बचाउने गरेको उहाँ बताउनुहुन्छ । केन्द्रमा सन् २००६ देखि एन्जिप्लास्टी हुँदै आएको छ ।
पहिलो पटक हृदयघात हुँदा १०० मध्ये २३ जनाको मृत्यु अस्पताल नपुग्दै हुने गर्छ । हृदयघात भएर अस्पताल आएका बिरामीमध्ये सात प्रतिशतको अस्पतालमै मृत्यु हुने गरेको छ । नेपालमा केन्द्रबाहेक मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, नर्भिक इन्टरनेसनल अस्पताल तथा विराटनगर–धरान–बुटवल–नेपालगन्ज भरतपुरका अस्पतालमा पनि एन्जिओप्लास्टी हुने गर्छ ।
कसरी हुन्छ
मुटुलाई काम गर्नका लागि अक्सिजन आवश्यक पर्छ जुन रगतले दिने गर्छ । मुटुमा रगत आपूर्ति गर्ने नसा हुन्छ जसबाट रगत मुटुमा आउने गर्छ । रगत आपूर्ति बन्द भयो भने हृदयघात हुन्छ । उमेर बढ्दै जाँदा मुटुको रक्तसञ्चार गर्ने नली साँघुरिँदै जाने र पछि बन्द भई मुटु बन्द हुने गर्छ । अहिले नली साँघुरिँदै जाने र मुटु बन्द भएर हुने हृदयघात धेरै हुने गरेको छ ।
रगतको आपूर्ति सबै बन्द भएपछि मानिसको छाती दुख्न थाल्छ । धेरैजसो मानिस छाती दुखे पनि घरमै बस्छन् । अनि ढिला आउँछन् । रगतको आपूर्ति बन्द हुनाका साथै निरन्तर छाती दुखेपछि मुटुको मासु मर्ने गर्छ । मासु मरेपछि मुटुले काम गर्न छाड्छ र मानिसको ज्यान जान्छ ।
मुटु प्रत्यारोपण नेपालमा
विश्वमा मुटुरोग अस्पतालले दिने सेवामध्ये एक दुईवटामात्र सेवा केन्द्रले दिन सकेको छैन । भारतलगायत देशमा मुटु प्रत्यारोपण हुने गरेकोमा नेपालमा सम्भव भए पनि प्राविधिकरूपमा गा¥हो र खर्चिलो भएको उहाँको भनाइ छ । भारतमा सय बिरामीको मुटु प्रत्यारोपण हुने गरेको अध्ययनले देखाएको छ । धेरै खर्चिलो हुनाका साथै प्राविधिकरूपमा मुटुको प्रत्यारोपण नेपालमा गा¥हो छ । दुई मिर्गौैलामध्ये एउटा कसैलाई दियो भने मानिस स्वस्थ भएर बाँच्न सक्छ । उहाँले भन्नुभयो, “तर मुटु अर्कालाई दिने भनेको ब्रेनडेथ (मस्तिष्क मृत्यु) भएको मानिसले मात्र दिने हो । त्यसका लागि एउटा मानिस मर्नु प¥यो । मरेको मानिसबाट मुटु निकाल्न प¥यो, अर्को मानिस अप्रेशन गर्न तयार हुनुप¥यो । एउटा समयभित्र मुटु प्रत्यारोपण गर्ने हो । मुटु दिने मानिसको मुटु लिने मानिसकामा मिल्नुप¥यो । त्यसैले मुटु प्रत्यारोपण प्राविधिकरूपमा गा¥हो छ ।”
उहाँ आफूले अध्ययनकै क्रममा नेपालमा मुटु प्रत्यारोपण एक–दुई केशमात्र गर्नसक्ने बताउनुहुन्छ । मुटु प्रत्यारोपण गर्ने मानिस आर्थिकरूपमा पनि सक्षम हुनुपर्छ । एक व्यक्ति दुर्घटना भएर मर्नेबित्तिकै मुटु प्रत्यारोपण गरिने बिरामीको रगत परीक्षण गरेर मिल्ने नमिल्ने हेर्नुपर्छ ।
यस्तै केन्द्रले सन् २०१४ देखि मुटुमा प्वाल परेका बिरामीको छाती नचिरिकन यन्त्र (डिभाइस) मार्फत उपचार गर्ने गरेको छ । प्रत्येक वर्ष सत्न्दा बढी मुटुमा प्वाल परेका बिरामीको उपचार गर्ने गरेको र यस वर्षमात्र २२२ वटा भएको छ ।
केन्द्रले १५ वर्षमुनिका र ७५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई निःशुल्क मुटुको उपचार गर्ने गरेको छ । विपन्न वर्गलाई रु. एक लाखसम्म निःशुल्क छ । केन्द्रले २०० शय्याको बाल मुटुरोग भवन बनाउन थालेको छ । बीस शय्याको सघन उपचार कक्ष (सीसीयू) पनि निर्माण गर्न थालेको छ । अहिले सीसीयू १२ शय्याको छ ।
स्रोतः राष्ट्रिय समाचार समिति हृदयघात

Leave a Reply

Your email address will not be published. Required fields are marked *