भर्खरै :

लोक–सभ्यताको विकास, होलिको उल्लास !

प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाको दिन अर्थात् फागु पूर्णिमाको दिन हिन्दू संस्कृतिअनुसार यो चाड धूमधामका साथ मनाइन्छ । फागुन महिनाको शुभारम्भ हुनासाथ मिथिलाञ्चलमा ‘फगुवा’ गाउन थालेपछि वातावरण ‘होरीमय’ बन्दछ । यो रङ खेल्ने पर्व हो । नेपाललगायत अन्य मुलुकमा रहने हिन्दूहरूको लागि यो चाड महत्वपूर्ण मानिन्छ । फागुन महिना सुरुवात हुनासाथ मनाइने हरेक व्रत वा पूजा उत्सव तथा चाडमा ‘फगुवा’ गाइन्छ । जुन यसप्रकार हुन्छः
‘पहिल हि डम्फा मोरा बाजल हो, हो सुरज दरबार !
खोल सुरज बजरी केवरिया,
जगदम्बा खेलैथ फागु !!
यस अवसरमा गाइने लोकगीतहरूले जीवनको यथार्थलाई प्रतिबिम्बित गर्दै वास्तविकता दर्शाउने सन्देश छरेका हुन्छन् । यो पर्व वसन्त ऋतुको आगमनपश्चात् फागुन महिनाभित्र वा चैतको पहिलो हप्तासम्म मनाइन्छ । फागुन शुक्ल अष्टमीको दिन काठमाडौँको वसन्तपुर दरबार अगाडि ‘चीर’ गाडेपछि होली पर्व औपचारिकरूपमा सुरु भएको ठानिन्छ । उक्त चिरलाई ढालेर जलाएपछि होलिको समापन भएको मानिन्छ । यो पर्वले ऐतिहासिक पृष्ठभूमि बोकेको छ ।
होलि पर्व कहिलेबाट आरम्भ भयो भन्ने कुरा खोज्दा यसबारे पनि पुराणहरूमा कथा पाइन्छ । त्रेता युगमा दैत्यराज हिरण्यकश्यपुले विष्णुभक्त छोरा प्रल्हादलाई मार्ने ध्येयले ब्रह्माबाट आगोले छुनै नसक्ने वरदान प्राप्त गरेकी आफ्नी सहोदर बहिनी होलिकालाई प्रल्हादलाई लिएर आगोभित्र प्रवेश गर्ने आज्ञा दिन्छ । उक्त सिलसिलामा होलिका आफै भष्म हुन्छिन् तर प्रल्हादलाई भने आगोले रत्तिभर छोएको हुँदैन । यही कथा÷किंवदन्ती यो पर्वसँग जोडिएर आउने गर्छ । शक्तिको घोर दुरूपयोग गर्ने राक्षसी प्रवृत्तिकी प्रतीक मानिएकी होलिका भरिएको अवसर पारेर फागु (होलि) पर्व परम्परागतरूपमा मान्ने प्रचलन रहेको छ ।
व्रजवासीले जसलाई फागु महोत्सव मनाउने परम्परा चल्दै आएको धर्मग्रन्थमा उल्लेख गरेको पाइन्छ । त्रिवि, मैथिली विभागका पूर्वप्रमुख परमेश्वर कापडीको भनाइमा जीवनको सार्थकता रंगमा छ, जबसम्म बाच्छौँ, तबसम्म आनन्द र जीवन्त रहौँ भन्ने सन्देश बोकेको छ । साहित्यकार एवम् पत्रकार श्यामसुन्दर शशीको भनाइमा भने यो पर्व शास्त्रीय र लौकिक पर्व हो । शास्त्रीय पर्वमा पुरोहितहरूलाई बोलाएर मन्त्रोच्चारण गरी विधिपूर्वक पूजा गरिन्छ । लौकिक पर्वको अर्थ भनेको लोकगीतसँग सम्बन्धित पर्व हो । सनातनरूपमा मिथिला समाज कृषि पेशासँग सम्बन्धित छ । खेती–किसानी गर्नेहरू वसन्तमासमा खेतीबाली, बोटबिरुवामा नव पालुवा लागेर लहलह देख्दा खुसीले भुइँमा खुट्टा हुँदैन । किनकि मौसम र पर्व एक सिक्काका दुइ पाटा हुन् । एक अर्काका परिपूरक हुन् ।
मिथिला नाट्यकला परिषद्का पूर्वअध्यक्ष सुनिल मल्लिकको विचारमा होलि पर्व उमङ्ग, उल्लास, सद्भाव र मैत्री भएकोले लोकगीतको माध्यमबाट नै मनका अटेसमटेस वह सार्वजनिकरूपमै छताछुल्लै हुन्छन् । मानव जगत प्रकृतिप्रेमी भएकोेले प्रकृतिप्रति आभार प्रकट गर्दै जब खुसी हुन्छ तब आल्हादित हुँदै खुसीका गीत–बात गर्छ । त्यसैले प्रकृति र मानवबीचको प्रगाढ सम्बन्धको ‘कडी’ हो ‘फगुवा’ । फगुवाको गीतमा ठट्यौली, रसरङ्ग र हँस्सीमजाक हुन्छ ।
रङ्गहरूको चाडको रूपमा मानिने यस पर्वको आफ्नै गरिमा र ऐतिहासिक महत्व छ । यो पर्व धार्मिक, सांस्कृतिक, भ्रातृत्व र अपनत्वको आत्मीय भावनाले ओतप्रोत हुन्छ । जीवनयापनको सिलसिलामा अहोरात्र, अहोदिन खटिने मानव जीवनलाई खुसी र आत्मसन्तुष्टी अपरिहार्य छ । तर, पवित्र चाड होली आउनु अगावै सडक तथा गल्लीमा लोला र पिचकारी लुकेर हान्ने र खास गरेर स्कूल, कलेज र कार्यालयतर्फ जाने आउने महिला, दिदीबहिनी, छात्राहरूतर्फ लक्षित यस्ता अमानवीय हर्कतहरूले मानव सभ्यताको विकास र लोकसभ्यताको विकासमा उपहास गर्छ । नसड्ने र नगल्ने प्लास्टिकको अत्यधिक प्रयोगले वातावरण प्रदुषणमा नकारात्मक प्रभाव पार्छ । विद्यालय, कलेज तथा कार्यालय जाँदा र फर्कँदा महिला दिदीबहिनीहरूलाई त्रासै–त्रासले मानसिक तनाव हुने गर्छ । होलिको क्रममा सवारी साधनमा सवार हुँदा दुई विपरीत पक्षबीच ‘ग्याङ फाइट’ हुने, घरको माथिबाट लडेर भयानक दुर्घटनाको शिकार हुनेजस्ता अप्रिय घटनाहरूले गर्दा अभिभावक, गुरु, प्रहरी–प्रशासन, नागरिक समाज एवम् स्वयम् बालबालिका सबैको गहन जिम्मेवारी र संवदेनशीलताको खाँचो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *