भर्खरै :

सत्यमोहन जोशीको आत्मवृत्तान्तमूलक कृति सार्वजनिक

ललितपुर, ४ चैत । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको आत्मवृत्तान्तपरक कृति ‘सत्यमोहन’ शुक्रबार पाटन सङ्ग्रहालयमा आयोजित कार्यक्रमबीच विमोचन गरियो । लेखक गिरिश गिरीले लेख्नुभएको सो कृति संस्कृतिविद् जोशीले विमोचन गर्नुभएको थियो ।
लेखक गिरीले जोशीले चार वर्षअघि सेतोपाटी अनलाइन पत्रिकामा सुरु गरी गर्नुभएको सत्यमोहन जोशीको संस्मरणात्मक लेखनको शृङ्खलाकै जगमा सो कृति तयार गरिएको हो ।
विगत ६ महिनायता गिरी नियमित जोशीको निवास पुगेर गरिएको वार्ताले सो कृतिलाई पूर्णता दिएको लेखक गिरीले बताउनुभयो ।
१०२ वर्ष वयका सत्यमोहन जोशीको कृति विमोचन कार्यक्रममा समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूको बाक्लो उपस्थिति थियो । सामान्य अस्वस्थ्यताको कारण लामो समय बोल्न असहज मान्दै जोशीले लेखक गिरी स्वयम् सत्यमोहन जोशी भएर कृति तयार पार्नुभएकोमा आभार व्यक्त गर्नुभयो ।
“सत्यमोहन जोशीको कुरा सुनेर गिरीजीले आफै सत्यमोहन बनेर यो कृति लेख्नुभएको छ । अब यो कृति मेरो भन्ने वा उहाँको ?, तपाईंहरूले नै निक्र्योल गर्नुहोला”, उहाँले भन्नुभयो ।
जोशीले लोक संस्कृतिको अध्ययनको क्रममा जुरेली चरीको जीवनचर्या अध्ययन गरेर मानिसको जीवनसँग मिल्ने गरी ‘जुरेली दर्शन’ बारे पुस्तकमा केही चर्चा रहेको बताउनुभयो ।
सत्यमोहन जोशीका कृतिहरूको अङ्ग्रेजी अनुवादमा संलग्न ज्योति तुलाधरले ‘सत्यमोहन’ पुस्तक आत्मसंस्मरण भनिए पनि यसको शक्तिशाली लेखनले पाठकलाई उपन्यास पठनको अनुभूति गराउने बताउनुभयो । जोशीको ‘कलाकार अरनिको’ पुस्तकको अङ्ग्रेजी अनुवाद गर्नुभएका तुलाधरले जोशीले देशका विभिन्न क्षेत्रमा पुगेर सङ्कलन गर्नुभएका लोकगीतहरूको अनुवादको प्रयास धेरै अघिबाट सुरु भए पनि अहिलेसम्म पनि सकाउन कठिन भएको बताउनुभयो ।
उहाँले सत्यमोहन जोशीको बहुआयाम बुझ्दै जाँदा अझ खुल्दै जाने बताउनुभयो ।
लोक भाका र गीतका सङ्कलक तथा नेपथ्य समुहका चर्चित गायक अमृत गुरुङले लोक जीवनमा धेरै सन्देशमूलक र रोचक लोक गीत र भाका हुने चर्चा गर्दै त्यस्ता भाका र गीतको संरक्षणको खाँचो औँल्याउनुभयो । उहाँले झन्डै आठ दसकअघि नेपालका विभिन्न स्थानमा पुगेर जोशीले सङ्कलन गर्नुभएको लोकगीत नेपाली संस्कृतिको अमूल्य पाटो भएको बताउनुभयो ।
“सत्यमोहन जोशीको जीवन कर्मै कर्मले भरिएको छ । कति धेरै कर्म गर्नुभएको दाई ¤ कति धेरै विधामा कति धेरै अनुसन्धान र लेखन गर्नुभएको ¤”, गुरुङले भन्नुभयो ।
पुस्तकका लेखक गिरीश गिरीले जोशीका जीवनका विभिन्न पाना पर्गेल्दै जाँदा नेवार विद्वान् व्यक्तित्वको रूपमा स्थापित परिचयमा ठूलो परिवर्तन भएको बताउनुभयो ।
‘सत्यमोहन’ बुकहिल पब्लिकेशनले प्रकाशित गरेको हो । ३१ खण्डमा विभाजित ३०८ पुष्ठको पुस्तकमा सत्यमोहन जोशीका जीवनसँग जोडिएका विभिन्न तस्विर पनि प्रकाशित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *