भर्खरै :

नेमकिपा आठबिस नगर समितिको दोस्रो सम्मेलन उद्घाटन

दैलेख, ४ चैत । नेपाल मजदुर किसान पार्टी, आठबिस नगर समितिको दोस्रो नगर सम्मेलन शुक्रबार राकम बजारमा सुरु भएको छ ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् पार्टी कर्णाली प्रदेश संयोजक सरोजराज गोसाईले स्थानीय तहको आगामी निर्वाचनलाई पनि नेमकिपाले आन्दोलनको रुपमा उपयोग गर्ने बताउनुभयो । उहाँले नेमकिपा संसद्वादी पार्टी होइन भन्दै क्रान्तिकारी संसद्वादको सिद्धान्तअनुसार नेमकिपाले निर्वाचन उपयोग गर्दै आएको उल्लेख गर्नुभयो ।
केन्द्रीय सदस्य गोसाईले भन्नुभयो, “निर्वाचनबाट क्रान्ति हुँदैन । निर्वाचनबाट समाजवाद आउँछ भन्नु संशोधनवाद हो ।” उहाँले बेरोजगारीको कारण कर्णालीका युवाहरु आज पनि भारतदेखि खाडीसम्म श्रम बेच्न विवश हुनुमा शासक पार्टीहरु नै जिम्मेवार छन् भन्दै जाँडरक्सी तथा जुवातासका विकृति हटाउन नेमकिपाका कार्यकर्ता सक्रियतापूर्वक लाग्नुपर्ने धारणा राख्नुभयो ।
केन्द्रीय सदस्य गोसाईले शासक पार्टीहरुले षड्यन्त्रमूलक रुपमा कर्णालीको यातायात, शिक्षा, स्वास्थ्यलगायत दैनिक जीवनका क्षेत्रको सुधारमा ध्यान नदिएको भन्दै शासक पार्टीहरुबाट आगामी निर्वाचनमा पनि हुनसक्ने पैसा र शक्तिको दुरुपयोग र जालझेललाई चिर्न जनता तयार हुनुपर्ने धारणा राख्नुभयो ।
उहाँले एमसीसी पारित गर्ने पार्टीहरु कम्युनिस्टका नाममा कलङ्क हो भन्दै एमसीसी पारित गराउने पार्टीहरुलाई निर्वाचनमा सजाय गर्नुपर्ने विचार राख्नुभयो । नेमकिपाले कर्णाली प्रदेशका विकट जिल्लामा सबभन्दा पहिला क्रान्तिकारी झन्डा गाडेको भन्दै माओवादी अराकतावादविरुद्ध लड्दा पनि नेमकिपा एक्लो रहेको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् नेमकिपा दैलेख जिल्ला समितिका अध्यक्ष जग्यबहादुर शाहीले अमेरिकाको हिन्द–प्रशान्त रणनीतिअन्तर्गतको एमसीसी परियोजनाको कारण नेपाल साम्राज्यवादीहरुको स्वार्थको खेलमैदान हुनलागेको भन्दै एमसीसी खारेजीको आन्दोलन निरन्तर रहने विचार व्यक्त गर्नुभयो ।
उहाँले कर्णाली प्रदेशका सांसद र मन्त्रीहरु विभिन्न अपराध कार्यक्रमा संलग्न भएको भन्दै माओवादी तथा एमालेजस्ता कम्युनिस्ट नामका पार्टीहरु क्रान्तिकारी भूमिसुधारको पक्षमा नरहेको उल्लेख गर्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य बजिरसिं विकले जनविरोधी काम गर्ने पार्टीहरुलाई कारबाही गर्ने बेला आएको भन्दै भारतीय विस्तारवादको दलाली गर्ने सम्पूर्ण पार्टीलाई जनताबीच उदाङ्ग्याउने धारणा राख्नुभयो ।
उहाँले नेमकिपाले एमालेलाई आजभन्दा २० वर्षअगाडि नै भाइकाङ्ग्रेसको सङ्ज्ञा दिएको भन्दै नेकालाई एमसीसी पारित गराउनकै निम्ति सरकारमा ल्याएको बताउनुभयो ।
कार्यक्रममा नेमकिपा अछाम जिल्ला समितिका अध्यक्ष झङ्करबहादुर शाहीले नेमकिपाले निर्वाचनलाई जनताको चेतनास्तर उठाउन उपयोग गर्ने बताउनुभयो ।
नेमकिपा दैलेख जिल्ला सदस्य निरकबहादुर शाहीले नेमकिपाका निर्वाचित प्रतिनिधिहरुले जनताको सेवा गर्ने काम गरेको बताउनुभयो ।
नेमकिपा आठबिस नगर समितिका संयोजक जयबहादुर बडुवालको सभापतित्वमा भएको कार्यक्रममा पार्टी जिल्ला सदस्यहरु लालबहादुर सिजापति, धनबहादुर सिजापति र धनकुमारी शाही, नेक्राकिसङ्घका जिल्ला उपाध्यक्ष रतनबहादुर कठायत, नेमकिपा आठबिसका सचिव नविन सिजापति, नेक्रामसङ्घ आठबिस नगर समितिका अध्यक्ष इन्द्रसरा बडुवाल, नेक्राशिसङ्घ आठबिसका उपाध्यक्ष मानबहादुर सिजापति, नेक्रायुसङ्घ आठबिसका अध्यक्ष प्रमोदकुमार बडुवाल, नेमकिपा ठाँटीकाँधका सदस्य जयबहादुर थापा, नेमकिपा आठबिस नगर सदस्य शेरबहादुर विकलगायतले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा नेपाल क्रान्तिकारी सांस्कृतिक सङ्घका कलकारहरुले गीत तथा नृत्य प्रस्तुत गर्नुभएको थियो । देउडा कलाकारहरु कटक विक, गोपीराम विक, जयबहादुर थापालगायतले देउडा खेल प्रस्तुत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *