भर्खरै :

ज्येष्ठ नागरिकका अनुभव नयाँ पुस्तामा हस्तान्तरण आवश्यक

भक्तपुर, ५ चैत । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. का ७० वर्षभन्दा माथिका ज्येष्ठ सदस्य तथा बचतकर्ताहरूलाई शनिबार दोसल्ला ओढाई सम्मान गर्नुभयो ।
कार्यक्रममा बिजुक्छेँले विकासोन्मुख देशका ज्येष्ठ नागरिकहरूमा सामाजिक तथा राजनीतिक सचेतनाको कमी हुने भएकोले नयाँ पुस्तालाई मार्गनिर्देशनको लागि नियमित कार्यक्रम गरिरहनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
जीवनको उत्तराद्र्धमा आरामपूर्वक बस्नुभन्दा शारीरिक रूपमा सक्रिय भई विभिन्न क्रियाकलापमा संलग्न हुनसके अझ राम्रो हुने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “ज्येष्ठ सदस्यहरूले शारीरिक रूपमा स्वस्थ रहन दैनिक खानपिन ध्यान दिनु आवश्यक छ । स्वस्थलाई चिल्लो, पिरो, नुनिलोजस्ता जिब्रोलाई स्वाद दिने तर शरीरलाई बेफाइदा गर्ने खानेकुराबाट टाढा रहनु आवश्यक छ ।”
नेपाली समाजमा नियमित स्वास्थ्य जाँचको कमी रहेको र रोग लागिसकेपछिमात्र स्वास्थ्य परीक्षण गराउँदा ठूलो स्वास्थ्यमा हुनपुग्ने भएकोले नियमित स्वास्थ्य परीक्षण गराइराख्नुपर्नेमा अध्यक्ष रोहितले सुझाव दिनुभयो ।
उहाँले भन्नुभयो, “बढ्दो व्यस्त दैनिकीमा परिवारले ज्येष्ठ सदस्यहरूलाई समय दिनु आवश्यक छ । हरेक ज्येष्ठ नागरिकसँग आ–आफ्नै कथा, व्यथा, अनुभव हुने र त्यो भावी पुस्तालाई मार्गनिर्देशन हुने भएकोले त्यसबारे साहित्य सृजना गर्न सके नयाँ पिढीलाई शिक्षा हुनेछ ।”
अध्यक्ष बिजुक्छेँले महिलाहरू राजनीतिक र शैक्षिकरूपमा अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याउँदै महिला अघि बढेमात्र समाज अगाडि बढ्ने धारणा राख्नुभयो ।
भनपा ७ का वडाध्यक्ष उकेश कवांले स्थानीय प्रतिनिधिहरूको ५ वर्षे कार्यकालको समाप्ति नजिक रहेको चर्चा गर्दै भनपाका जनप्रतिनिधिहरूले निर्वाचन घोषणापत्रअनुसार इमानदारीपूर्वक जनताको सेवा गरिरहेको बताउनुभयो ।
भनपाले शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण, सरसफाइमा विशेष जोड दिएर कार्य गरिरहेको उल्लेख गर्दै उहाँले अहिले भनपाले महाकाली क्षेत्रमा आदर निकेतनका लागि भवन तथा स्थान निर्माण कार्य गरिरहेको जानकारी दिनुभयो ।
उहाँले नगरको खानेपानीको समस्या समाधानको लागि पटक–पटक काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) लाई ताकेता गर्दा पनि समस्या सम्बोधनमा उदासिन रहेकोले नपाले विभिन्न ठाउँमा डीप बोरिङ गरी खानेपानीको समस्या समाधानतर्फ पहल गरिरहेको बताउनुभयो ।
कार्यक्रमका सभापति एवं संस्थाका अध्यक्ष राजन लाखाजुले जेष्ठ नागरिकहरू समाजका अगुवा, मार्गनिर्देशक तथा समाज निर्माणमा अतुलनीय योगदान पु¥याउने व्यक्ति भएकोले सम्मानको हकदार रहे तापनि बढ्दो सामाजिक विकृतिले उचित सम्मान तथा हेरविचारबाट विमुख रहेको बताउनुभयो ।
ज्येष्ठ सदस्यहरूले सहकारी संस्थामा बचत निक्षेप जम्मा गरी संस्था सञ्चालनमा महत्वपूर्ण भूमिका खेल्ने धारणा राख्दै उहाँले भन्नुभयो, “सिद्धि गणेश सहकारीले जिल्लामै न्यून ब्याजदरमा ऋण लगानी गर्ने वातावरण बनाइरहेको छ । ”
१६४ जना ज्येष्ठ सदस्य एवं बचतकर्ताहरूलाई सम्मानित गरिएको उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष विष्णुराम दुमरू, सचिव रूद्रनारायण लाखा र का.मू. व्यवस्थापक शिला गोसाईले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *