भर्खरै :

गोविन्द लोहनीको स्मृतिग्रन्थ विमोचन

काठमाडौँ, ६ चैत । कूटनीतिज्ञ, दार्शनिक तथा साहित्यकार गोविन्दप्रसाद लोहनीको स्मृति ग्रन्थ शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानको डबलीमा आयोजित कार्यक्रमबीच विमोचन गरियो । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती, वरिष्ठ पत्रकार भैरव रिसाल, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी र लेखक अरबिन्द रिमालले सो कृतिको विमोचन गर्नुभएको थियो ।
कुल १२३ जना विभिन्न क्षेत्र र विज्ञता भएका व्यक्तिहरूले गोविन्दप्रसाद लोहनी र उहाँका कृतिबारे लेखिएका लेखहरू सङ्कलित स्मृति ग्रन्थको सम्पादन ‘शारदा’ साहित्यिक मासिकका सम्पादक विमल भौकाजीले गर्नुभएको छ । लोहनीका कान्छा छोरा लेखक कपिल लोहनीको अग्रसरतामा सो ग्रन्थ प्रकाशित भएको हो ।
विमोचन कार्यक्रममा सहभागी व्यक्तिहरूले लोहनीको व्यक्तित्व र कृतित्वको चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपालको बौद्धिक परम्परामा गोविन्दप्रसाद लोहनीको महत्वपूर्ण योगदान भएको चर्चा गर्दै उहाँको बहुआयामिक व्यक्तित्वको स्मरण र नयाँ पुस्तामा हस्तान्तरणको लागि स्मृति ग्रन्थको प्रकाशन प्रशंसनीय भएको बताउनुभयो ।
“नेपालमा पनि गोविन्दप्रसाद लोहनीजस्ता बौद्धिक व्यक्ति भएको र त्यस्ता व्यक्तित्वको जगमा नेपालको परम्परा उभिएको कुरा नयाँ पुस्तासमक्ष पु¥याउन स्मृतिग्रन्थ उपयोगी छ”, कुलपति उप्रेतीले भन्नुभयो ।
वरिष्ठ पत्रकार भैरव रिसालले लोहनीलाई परिस्थितिको सही प्रयोग गर्न जान्ने व्यक्तित्वको रूपमा सम्झनुभयो ।
लेखक अरबिन्द रिमालले नेपालमा कम्युनिस्ट पार्टी प्रतिबन्धित अवस्थामा कार्यकर्ताहरूलाई वैचारिक विषयमा प्रशिक्षण दिन लोहनीले महत्वपूर्ण योगदान गर्नुभएको स्मरण गर्दै विसं २००० को दसकमा लोहनीले उठाउनुभएका प्रश्न आज सात दसकपछि पनि अनुत्तरित हुनु विडम्बनापूर्ण भएको बताउनुभयो ।
वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले नेपालमा कम्युनिस्ट पार्टीको वैचारिक मार्गदर्शनमा लोहनीले विभिन्न समयमा योगदान गर्नुभएको बताउनुभयो ।
अर्थशास्त्री विश्वम्भर प्याकुरेलले देशले आज भोगिरहेको आर्थिक विषमताको समाधानको निम्ति लोहनीका अनुभव र विचार उपयोगी हुन सक्ने धारणा राख्नुभयो ।
पाका राजनीतिक नेता कमल कोइरालाले दक्षिण कोरियामा राजदूतको रूपमा आफ्नो अनुभव सुनाउँदै नेपालको विकासको निम्ति भारत सधैँ बाधक हुने गरेको बताउनुभयो । उहाँले नेपाल अझै पनि स्वतन्त्र देश बन्न नसकेकोमा दुःख व्यक्त गर्नुभयो ।
संयुक्त राष्ट्र सङ्घको लागि नेपालका पूर्वस्थायी दूत जयराज आचार्यले राष्ट्रिय हितलाई कूटनीति र विदेश नीतिको प्राथमिक विषय मान्नुपर्ने लोहनीको विचारकै पथमा हिँडेर राष्ट्र सङ्घमा नेपालको पक्षमा काम गरेको बताउनुभयो ।
नेपाल राष्ट्र बैङ्कका पूर्वगर्भनर दिपेन्द्र क्षेत्रीले नेपालमा विकास र योजनाको कुरा धेरै अघिबाट सुरू भए पनि आर्थिक गतिविधिले कसको सेवा गर्ने भन्ने राजनीतिक अर्थतन्त्रको सुरूवात गोविन्दप्रसाद लोहनीले जग हाल्नुभएको बताउनुभयो ।
पूर्वराजदूत मदन भट्टराईले राजदूत नियुक्तिमा दलीय भागबन्डा हुने नेपालजस्तो देशले कूटनीतिक क्षेत्रबाट धेरै अपेक्षा गर्न नमिल्ने बताउनुभयो ।
कार्यक्रममा पूर्वराजदूत हिरण्यलाल श्रेष्ठ, बद्रीप्रसाद खतिवडा, साहित्यकार पुष्कर लोहनी, प्राध्यापक खेम कोइराला पन्त, पूर्वराजदूत मोहन लोहनी, पत्रकार पद्म ठकुराठी, साहित्यकार डा. ज्ञानु पाण्डे, रमा शर्मा, भूगर्भविद् रत्नसंसार राणा, पूर्वसचिव गोपी मैनालीलगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा सम्पादक विमल भौकाजी र लोहनीपुत्र कपील लोहनीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *