भर्खरै :

नेपालमा आउँदै चिनियाँ विदेशमन्त्री

परराष्ट्र मन्त्रालयले औपचारिक मिति सार्वजनिक नगरे पनि चीनका विदेशमन्त्री वाङ यी आगामी चैत १२ गते नेपालमा आउने तयारी भइरहेको जानकारी सञ्चार स्रोतहरूले बताएका छन् । उनीसँगै चिनियाँ कम्युनिस्ट पार्टी विदेश विभाग प्रमुख सोङ ताओ पनि नेपाल आउने बताइएको छ । सामान्यतः यसअघि चीनका उच्चस्तरीय पदाधिकारीहरू भारत हुँदै नेपाल भ्रमणमा आउने गरिएकोमा यसपालि वाङ यीको टोली नेपालको भ्रमण सकाएर भारततिर जान लागेको बताइएको छ ।
चीनमाथि नियन्त्रण गर्ने नियतले संरा अमेरिकाले नेपालमा थोपरेको एमसीसी सम्झौता संसद्बाट गत फागुन १५ गते अनुमोदन भएपछि आउन लागेको चिनियाँ टोलीलाई नेपाली जनता र विश्व समुदायले चासोका साथ हेरिरहेका छन् । ‘चीनले विफल बनाउन खोजेको’ एमसीसी सम्झौता नेपालको संसद्ले अनुमोदन गरेपछि अब चीनले कस्तो प्रतिक्रिया दिने हो ? अहिले उत्सुकताको विषय बनेको छ ।
तर, एमसीसी सम्झौताको विषयमा चीनले यसअघि नै आफ्नो धारणा भने प्रस्ट पारिसकेको छ । ‘एमसीसी पारित गर्ने वा नगर्ने विषय नेपालको आन्तरिक मामिलाको विषय हो । तर, कुनै पनि मित्रले अर्को मित्रलाई उपहार पनि मिति तोकेर दिने गर्दैन । एमसीसी नेपालको निम्ति प्यान्डोराको बाकस नबनोस् ।’ चिनियाँ विदेश मन्त्रालयका प्रतिनिधिले औपचारिक रूपमा एमसीसीबारे दिएको वक्तव्यको सार यही थियो । त्यसकारण विदेशमन्त्री वाङ यीले यो विषयमा थप कोट्याइरहने देखिँदैन । बरु चीनले एमसीसी सम्झौताभन्दा अघि गरिएको बीआरआई सम्झौताको कार्यान्वयन अघि बढाउने विषयलाई भने प्राथमिकताका साथ उठाउने देखिन्छ । बीआरआईअन्तर्गतका परियोजना कार्यान्वयनमा नेपालका सरकारले विलम्ब गर्दैै आएको छ । त्यसकारण चिनियाँ पक्षले यसबारे चासो देखाउनु अन्यथा होइन । चिनियाँ प्रतिनिधिमण्डलले उठाउने बीआरआईको प्रश्नलाई लिएर संरा अमेरिका र भारतले भने कोकोहोलो मच्चाउने सम्भावनालाई अस्वीकार गर्न सकिन्न ।
महामारीको सुरुवातयता वाङ यीको भ्रमण भौतिक रूपमा भएको सबभन्दा उच्चस्तरीय चिनियाँ सरकारी अधिकारीको भ्रमण हो । आकर्षक व्यक्तित्वका धनी वाङ यी यसअघि पनि नेपालमा दुई पटक आइसकेका हुन् । मन्त्री वाङ यीमार्फत् महामारीको समयमा चीनले नेपाललाई गरेको सहायताको निम्ति नेपाली जनताको तर्फबाट चिनियाँ टोलीलाई आभार व्यक्त गर्न सरकारले भुल्न हुन्न । कोभिड–१९ विरुद्ध चीनको साहसिक प्रतिरोधको कदर गर्न पनि जरुरी छ ।
छिमेकीको सुरक्षा चासोप्रति गम्भीर नहुँदा विध्वंस र युद्धसमेत निम्तिन सक्ने घटनाक्रम आज संसारले देखिरहेको छ । संसारको प्रमुख शक्ति राष्ट्रको रूपमा चीनको उदयसँगै संसारमा एकछत्र राज गर्दै आएका र त्यो प्रभुत्व कायम राख्न चाहने शक्ति देशहरूले उसमाथि नियन्त्रण गर्ने प्रयासलाई नेपालले गम्भीरतापूर्वक लिन जरुरी छ । यही नै शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्त (पञ्चशील)को मूल मर्म हो । यो मर्मप्रति नेपालको प्रतिबद्धता चिनियाँ उच्चस्तरीय भ्रमण टोलीसमक्ष जोडका साथ राख्न जरुरी छ ।
पछिल्लो समय देउवा सरकार असंलग्न र सन्तुलित परराष्ट्र नीतिको भावनाविपरीत एउटा पक्षलाई खुशी बनाउने खेलमा लागेको देखिएको छ । सिद्धान्तको कलेवरमा पश्चिमा मोर्चाप्रति निकटता प्रदर्शन गर्दै नेपाल सरकारले भविष्यमा रणनीतिक द्वन्द्वको जोखिम मोल्नु नेपाली जनताको हितमा कदापि छैन । संरा अमेरिका र भारतको बीआरआईप्रतिको पूर्वाग्रही सोचकै कारण यसअन्तर्गतका परियोजना अघि बढाउन देउवा सरकार अनकनाइरहेको छ । यसले अन्तर्राष्ट्रिय जगतमा नेपालको कूटनीतिबारे अस्पष्टता बढ्दै गएको छ । यस्तो महत्वपूर्ण समयमा चीनमा नेपालको राजदूत नियुक्तिमा विलम्ब गर्नु विडम्बनाको कुरा हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *