भर्खरै :

काठमाडौँ उपत्यकामा खानेपानी ल्याउन नगर प्रमुखहरू सिस्नेरीमा

काठमाडौँ, ७ चैत । काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी समितिका सदस्यहरूले मकवानपुरको सिस्नेरी खानेपानी आयोजनाको ड्याम निर्माण हुने स्थलको अवलोकन गर्नुभयो ।
भ्याली बोर्डका अध्यक्ष तथा काठमाडौँ महानपाका प्रमुख विद्यासुन्दर शाक्य, ललितपुर महानपाका अध्यक्ष चिरिबाबु महर्जन, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, गोदावरी नपाका प्रमुख गजेन्द्र महर्जन, मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठ तथा काठमाडौँ र ललितपुर महानपाका वडाध्यक्षसहितको टोलीले सिस्नेरी खोलाको सोमबार स्थलगत अवलोकन तथा निरीक्षण गरेको हो ।
बोर्डका सदस्य एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले मेलम्चीको पानी छिटोभन्दा छिटो भक्तपुरमा ल्याउन पहल गर्नुपर्नेमा जोड दिँदै सिस्नेरी खानेपानी आयोजनाले उपत्यकाको खानेपानी आपूर्तिमा सहज हुने बताउनुभयो ।
काठमाडौँ उपत्यकाका लागि मेलम्चीको विकल्पको रूपमा सिस्नेरी आयोजना नेपालकै दोस्रो ठूलो आयोजना हुने चर्चा गर्दै प्रमुख प्रजापतिले उपत्यकामा जनसङ्ख्या वृद्धिसँगै खानेपानीको हाहाकार बढिरहेको हुँदा समयमै अन्य स्रोतहरूको पहिचान गरी कामलाई अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।
बोर्डका अध्यक्ष विद्यासुन्दर शाक्यले सिस्नेरी खानेपानी आयोजना आफैमा गौरवको आयोजना भएको उल्लेख गर्दै उपत्यकाको खानेपानी समस्या समाधानको लागि आयोजनाले सकारात्मक भूमिका खेल्ने बताउनुभयो ।
ललितपुर महानपाका प्रमुख चिरिबाबु महर्जनले सिस्नेरी खानेपानी आयोजना निर्धारित समयमा सम्पन्न गर्न सके धेरै राहत हुने भन्दै आयोजनाको काममा कुनै ढिलासुस्ती गर्न नहुने बताउनुभयो ।
भ्याली बोर्डका सचिव डा. सञ्जीवविक्रम राणाले मेलम्ची खानेपानी आयोजनाको विकल्पको रूपमा सिस्नेरी खानेपानी आयोजना अगाडि बढाइएको जानकारी दिँदै उपत्यकाको ललितपुरभित्र खानेपानी आपूर्ति गर्ने आयोजनाको मुख्य उद्देश्य रहेको प्रस्ट पार्नुभयो ।
उहाँले सिस्नेरी खानेपानी आयोजनाको अनुमानित लागत रु. २० अर्ब रहेको उल्लेख गर्दै आयोजनाले ६० मिटरको ड्याम निर्माण गरी करिब ७.८ अर्ब लिटर बराबरको पानी अट्ने क्षमतासहितको ड्याम बन्ने बताउनुभयो ।
भीमफेदी गाउँपालिका र इन्द्रसरोबर गाउँपालिकामा अवस्थित सिस्नेरी आयोजना ५ देखि ७ वर्षसम्ममा सम्पन्न गरिसक्ने योजना रहेको बताउँदै सचिव राणाले जनसङ्ख्या वृद्धिसँगै खानेपानीको हाहाकार हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै बोर्डले मेलम्चीको वैकल्पिक आयोजनाको रूपमा यसलाई अगाडि ल्याएको बताउनुभयो ।
सोही क्रममा भ्याली बोर्डको टोलीले कुलेखानी ड्यामको पनि अवलोकन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *