भर्खरै :

भक्तपुरलाई पर्यटकीय गन्तव्यस्थल बनाउने आधार तयार गरिँदै

भक्तपुर, ७ चैत । भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भनपा वडा नं. ९ गणेशस्थानस्थित पर्यटक सूचना केन्द्र भवनको एक समारोहबीच सोमबार उद्घाटन गर्नुभयो ।
नेमकिपाको घोषणापत्र, नपाको प्रतिबद्धता र जनताको सुझाव र सल्लाहअनुसार काम गरिरहेको चर्चा गर्दै उहाँले सांस्कृतिक नगर भक्तपुरलाई सभ्य, शिक्षित, स्वस्थ र शिष्ट बनाउने अभिलाषाका साथ भनपाले काम गरिरहेको स्पष्ट पार्नुभयो ।
मिलेर हामी सक्छौँ र गर्छौँ भन्ने उद्देश्यअनुसार जनताको साथ र सहयोगमा काम भइरहेको हुँदा भनपा देशकै उदाहरणीय नगर बनेको उल्लेख गर्दै उपप्रमुख जोशीले अक्सिजन प्लान्ट स्थापनामा जनताको सहयोग अविस्मरणीय छ भन्नुभयो ।
भक्तपुरलाई पर्यटकीय गन्तव्यस्थल बनाउने आधार तयार गरिरहेको विचार व्यक्त गर्दै उहाँले संसारकै अचम्मको जात्रा बिस्केटलाई शान्तिपूर्ण बनाउन सबै तर्फबाट समन्वयात्मक भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।
नगरलाई आर्थिकरूपले सक्षम बनाउन र आर्थिक विकासमा टेवा पु¥याउन सबैको सहयोग, साथ र सुझाव आवश्यक छ, उहाँले भन्नुभयो ।
भनपा वडा नं ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले सबै नगरवासीलाई शिक्षित, स्वस्थ, जिम्मेवार र सचेत बनाउने उद्देश्यले काम भइरहेको उल्लेख गर्दै पर्यटक केन्द्रलाई ज्ञान आर्जन या वस्तुतथ्य थाहा पाउने थलोको रूपमा विकास गर्ने योजना रहेको बताउनुभयो ।
सांस्कृतिक सम्पदा स्थल तथा सडकमा दमकल र एम्बुलेन्सजस्ता अति आवश्यक साधन सञ्चालनमा कुनै मर्का नपर्ने गरी व्यवसाय सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले बाटोमा अवरोध भएकै कारण आगलागीमा ठूलो क्षति भएको दृष्टान्त बताउनुभयो ।
पर्यटक सूचना तथा सेवा केन्द्रका अधिकृत शरद् खत्रीले सम्पदा संरक्षण, सरसफाइ र शिक्षामा भक्तपुर नगर अग्रस्थानमा रहेको उल्लेख गर्दै पर्यटक सूचना केन्द्रले आन्तरिक तथा बाह्य पर्यटकलाई पु¥याइरहेको सेवाबारे जानकारी दिनुभयो ।
पर्यटक सूचना केन्द्र अनुसन्धान गर्ने विद्यार्थीको लागि तथ्याङ्क सङ्कलन गर्ने केन्द्रको रूपमा विकास गर्न सके पर्यटकहरूको आगमन अझ बढ्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
पर्यटन सूचना केन्द्र भवनको उपभोक्ता समितिका अध्यक्ष एवं कार्यक्रमका सभापति विष्णुबहादुर मानन्धरले विश्व सम्पदा सूचीमा सूचिकृत भक्तपुरलाई जीवन्तता दिन निरन्तर लागिरहनुपर्नेमा जोड दिँदै मानिसको सङ्कीर्ण सोचलाई नबदलेसम्म विकास सम्भव छैन भन्नुभयो ।
मौलिक शैलीमा निर्मित पर्यटक सूचना केन्द्र भवन निर्माणको लागि ९७ लाख २७ हजार २३६ रूपियाँ खर्च भएको जानकारी उहाँले दिनुभयो ।
कार्यक्रममा उपभोक्ता समितिका सदस्य पशुपतिमान थकुले स्वागत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *