भर्खरै :

चीनमा विमान दुर्घटना

पेइचिङ, २१ मार्च । सोमबार दक्षिणी चीनको क्वाङ्सी चिआङ स्वशासित क्षेत्रमा विमान दुर्घटना भयो । दक्षिणपश्चिम चीनको युनान प्रान्तको कुनमिङ चाङशुई विमानस्थलबाट स्थानीय समयअनुसार १ः१५ बजे उडेको चाइना इस्ट्रन एयरलाइन्सको विमान एमयु ५७३५ झन्डै दुई घण्टापछि ३ः०७ बजे दुर्घटना भएको चीनको नागरिक उड्डयनसम्बन्धी प्राधिकरणले जनाएको छ । विमान खस्दा सो क्षेत्रको जङ्गलमा ठूलो आगलागी भएको थियो । विमान सवार १३२ जना मानिसमध्ये १२३ जना यात्रु र बाँकी नौ जना चालक दल सदस्य थिए ।
दुर्घटनामा के कति जना निधन भयो भन्ने तथ्याङ्क सोमबार यो समाचार तयार गर्दासम्म औपचारिक जानकारी खुलाइएको छैन । सन् २०१० मा उत्तरपूर्वी चीनको हेलोङच्याङ प्रान्तको यिचुनमा भएको विमान दुर्घटनायता चीनमा भएको यो सबभन्दा ठूलो विमान दुर्घटना हो । सन् २०१० को दुर्घटनामा ४४ जना मानिसको ज्यान गएको थियो ।
दुर्घटनालगत्तै चीनका राष्ट्रपति सी चिनफिङले घटनाप्रति दुःख व्यक्त गर्दै सम्भव सबै उपाय लगाएर उद्धार कार्य अघि बढाउन निर्देशन दिनुभएको थियो ।
“आपत्कालीन सबै संयन्त्र विमान दुर्घटनास्थलमा परिचालन गर्नुस् । खोजी र उद्धारमा सबै शक्ति लगाउनुस् । सबै अवस्थाको सही व्यवस्थापन गर्नुहोस्”, सीले निर्देशनमा भन्नुभयो ।
चीनको मन्त्रिमण्डलले दुर्घटनालाई उच्च प्राथमिकतामा राख्दै अधिकारीहरूलाई सकेसम्म चाँडो दुर्घटनाका कारण पत्ता लगाउन निर्देशन दिएको छ । साथै नागरिक उड्डयन क्षेत्रमा सुरक्षा कमजोरीको अनुसन्धान गर्न पनि निर्देशन दिइएको छ । “भविष्यमा नागरिक उड्डयनमा कुनै कमी कमजोर हुन नदिन र जनताको सुरक्षाको लागि सो क्षेत्रलाई पूर्णतः सुरक्षित बनाउन जरुरी छ”, मन्त्रिमण्डलले भनेको छ ।
चीनका प्रधानमन्त्री लि खस्याङले दुर्घटनामा बाँच्नेको खोजी र घाइतेका उपचार गर्नुको साथै पीडित र उनीहरूका परिवारको सुरक्षाको जिम्मेवारी सरकारले दिने बताउनुभएको छ ।
दुर्घटनालगायत सो क्षेत्रमा ठूलो सङ्ख्यामा स्वास्थ्यकर्मी, दमकल र एम्बुलेन्स परिचालन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *