सिद्धान्त र विचार नै दललाई चिन्ने आधार
- बैशाख ९, २०८३
प्रजातन्त्रमा आवधिक निर्वाचनहरूमा राजनैतिक पार्टीहरू आ–आफ्नो स्थितिअनुसार प्रचारप्रसार गर्छन्, यो नै पुँजीवादी प्रजातन्त्रको ‘सौन्दर्य’ हो !? तर, सिद्धान्त र कार्यक्रममा आधारित जनतामाझ हुनुपर्ने छलफल एवम् आह्वान व्यक्ति व्यक्तिप्रतिको हिलो छ्यापाछ्यापमा केन्द्रित भएकोबारे प्रचारमाध्यममा टिकाटिप्पणी हुँदै छ ।
‘बिनाघोषणापत्र भोट माग्दै नेता’ शीर्षकमा ७ चैत २०७८ को ‘राजधानी’ ले सम्पादकीय लेख्यो । तर, सोही दैनिक पत्रिकाको सोही पृष्ठमा एक पत्रकारले टिप्पणी गरे, “चुनावी घोषणापत्रको कर्मकाण्डीय पद्धति’ ।
नेपाली काङ्ग्रेसका नेता डा. शेखर कोइरालाले भने– “कम्युनिस्ट पार्टीसँग गठबन्धन नगरौँ !” (नागरिक दैनिक, ७ चैत २०७८)
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले उत्तर दिए, “निर्वाचनमा कसैको वैसाखी टेक्दैनौँ ¤” (नागरिक दैनिक, ७ चैत २०७८)
नेकपा एमालेका अध्यक्ष केपी ओलीले आफ्नो स्थिति प्रस्ट पारे, “एमाले एक्लै चुनाव लड्छ ।” (नागरिक दैनिक, ७ चैत २०७८)
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले ‘अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) लाई ओलीले संसद्बाट हुबहु अनुमोदन गराउन खोजेको तर आफूहरूले त्यसलाई व्याख्यात्मक टिप्पणीसहित सच्याएको’ दाबी गरेका थिए । तर, माधव नेपालको भनाइ उद्धृत गरिएको समाचारको शीर्षक थियो, ‘आफैले जन्माएको सन्तान रावण’ । (नागरिक दैनिक, ६ चैत २०७८)
नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालबारे ‘युक्रेनको समर्थन गरेकोमा झलनाथको विरोध’ शीर्षकमा १९ फागुनको ‘नेपाल समाचारपत्र’ ले लेख्यो । जब कि एकीकृत समाजवादी पार्टी पनि सरकारमै छ ।
प्रम शेरबहादुर देउवाले पहिले प्रम हुँदा पनि अफगानिस्तानमा बम वर्षा गर्ने अमेरिकी सैनिक विमानहरूलाई नेपालको विमानस्थलमा तेल भर्न स्वीकृति दिएका थिए । ४ चैत २०७८ शुक्रबारको दिन पुनः अमेरिकी सेनाको हवाईजहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण ग¥यो । संसदीय व्यवस्थामा प्रधानमन्त्रीसँग सहमत नभए मन्त्रीहरूले मन्त्रीमण्डल वा मन्त्रिपरिषद्बाट राजीनामा दिनुपर्ने हुन्छ ।
के नेपालमा अमेरिकाले सेना ओसा¥यो ?
४ चैत २०७८ शुक्रबारको दिन संरा अमेरिकी सैनिक हवाईजहाज त्रिभुवन विमानस्थलमा बिसाउनासाथै नेपाली बुद्धिजीवी समुदाय र प्रजातन्त्रवादी जनतामा खैलाबैला मच्चिएको व्यापक चर्चा काठमाडौँ उपत्यकामा हुँदै छ । नेपालको प्रतिनिधिसभाको बहुमतले एमसीसी पारित गरेको मसी सुक्न नपाउँदै ‘महाशक्ति’ को सैनिक विमान उत्रेको भन्ने केही सञ्चारमाध्यमका समाचारले प्रजातन्त्रवादी संवेदनशील जनता यति छिट्टो व्यवहारमा एमसीसीको कार्यान्वयन सैनिकरूपमा हुने कल्पनामा समेत थिएनन् । वामपन्थीहरूको होहल्ला तथा पूर्वाग्रहपूर्ण प्रचार भनेको जवाफ दिनलाई मसला खोज्नु रहेको भन्ने कानेखुशी बजार, गल्ली, कार्यालय र कलेजहरूमा भइरहेको अब गुप्त रहेन ।
प्रजातन्त्रवादीमध्ये एक सानो समूह नुन खाएको कुखुराझैँ झोक्रिएको छ भने अर्काे समूह ‘सत्तामा पुग्दा यस्तै गर्नुपर्ने रहेछ, महाशक्तिको अगाडि के लाग्छ र हाम्रा नेताहरूलाई ¤’ भन्दै छन् ।
भियतनामी जनता र अफगानी जनताले ‘त्यो महाशक्तिसँग कसरी बहादुरीका साथ लडे होलान्’ भनी वामपन्थी विद्यार्थीहरूका फरक चर्चा सुनिन्छ ।
सानो कामलाई पनि महिनौँ र वर्षाैँ लगाउने सिंहदरबार र जिल्ला – जिल्लाका दरबारका कर्मचारीतन्त्र अमेरिकी ‘कार्यकुशलता’ र ‘तदारुकता’ सुनेर थरथर काँप्दै छन् भन्ने सञ्चारले कर्मचारीहरूबाट सास्ती खाएका जनता भने ‘अब भने यी स्थायी सरकारहरूको पाइन देखिने भो’ भन्दै मनमनै रिसको स्वास फेर्दै छन् ।
तर, केही सुस्तरी भन्दै छन्, ‘हात–हतियार’ होइन मात्र ‘पीडित जनतालाई राहत बाँड्ने सामग्री’ हो । एकले अर्काेलाई शङ्काको आँखाले हेरिँदै छ । ‘युक्रेन पनि त एमसीसीको सदस्य होला नि होइन ? त्यहाँ पनि अमेरिकाले ‘राहत’ लग्दै होला ! नेपालीहरूले किन यस्तो अत्याएको’ भन्नेहरू पनि छन् ।
जनतालाई सबै खुलस्त पार्नु राम्रै होला ! जुन व्यवस्थाको सरकारमा काम गरेको हो, पार्टी र मन्त्रीहरूले सोअनुसार आचरण गर्नु सदाचारभित्र पर्छ ।
Leave a Reply