भर्खरै :

विश्व जैविक सुरक्षाको लागि अमेरिकाले जैविक हतियार अभिसन्धि पालना गर्नुपर्छ

संरा अमेरिकाले सैन्य क्षेत्रका आफ्ना जैविक गतिविधिहरू विश्वसामु खुलाउनुपर्छ । यसमा ऊ जिम्मेवार बन्नैपर्छ र जैविक हतियार अभिसन्धि (बीडब्ल्युसी) प्रतिको प्रतिबद्धताको एक्लै विरोध गर्नुहुन्न । यस्तो प्रतिबद्धताले विश्व जैविक सुरक्षामा टेवा दिनेछ ।
हालैमात्र रुसले युक्रेनमा संरा अमेरिकाले सैनिक क्षेत्रसँग सम्बन्धित संयुक्त जैविक परियोजनाहरू सञ्चालन गरेको खुलासा ग¥यो । साथै अमेरिकाले सैनिक क्षेत्रसँग सम्बन्धित जैविक गतिविधिहरूको साम्राज्य नै चलाइरहेको थप उदाङ्गियो । विश्वभरि हुने यस्ता गतिविधिहरूमा संरा अमेरिका अगाडि छ । जापानी साम्राज्यवादी सेनाको कुख्यात युनिट ७३१ को विकृत अपुताली संरा अमेरिकाले बोकेको छ । जापानले चीनविरुद्ध युद्ध गर्दा फोर्ट डेट्रिकमा मुख्य अखडा बनाएर जैविक हातहतियार निर्माण गरेको थियो ।
सन् १९७५ मा बीडब्ल्युसीमा संलग्न भएपछि पनि संरा अमेरिकाले जैविक हतियारको अनुसन्धान र निर्माण रोकेको छैन । त्यसैले विश्व समुदायले फोर्ट डेट्रिकलाई “संरा अमेरिकी सरकारको सबैभन्दा काला प्रयोगहरूको केन्द्र” भन्यो ।
बितेका केही दशकमा संरा अमेरिकाले निरन्तर सैनिक क्षेत्रसम्बन्धी जैविक शक्ति विकास गरेको छ । संरा अमेरिकाले दिएका केही तथ्याङ्कअनुसार अमेरिकी प्रतिरक्षा विभागले संसारका ३० भन्दा बढी देशमा संयुक्त जैविक परियोजनाहरू सञ्चालन गर्छ । उसले केही सय जैविक प्रयोगशालाहरू चलाउँछ । विश्व सुरक्षामा जोखिम न्यूनीकरण गर्न र विश्वका जनताको स्वास्थ्य जोगाउन यसो गरेको उसको सुगा रटान छ । युक्रेनस्थित उसको जैविक गतिविधि रहस्यको एउटा सानो अंशमात्र हो ।
बीडब्ल्युसीप्रति धेरैभन्दा धेरै देशले प्रतिबद्धता जनाउँदा पनि संरा अमेरिकाले विश्वभरिका आफ्ना जैविक गतिविधिहरूलाई घरेलु मामिला मान्दै आएको छ । यसमा उसले कुनै बाह्य अनुगमन र अनुमोदन गर्न दिएको छैन । त्यसकारण, उसका जैविक गतिविधिहरू जङ्गली पशुझैँ अनियन्त्रित छन् ।
सन् २००१ मा विश्व समुदाय बीडब्ल्युसी अनुमोदन संयन्त्र गठन गर्नुपर्ने सहमतिमा पुगेको थियो । त्यसबेला संरा अमेरिकाले यसप्रकारको संयन्त्र गठन गर्नुपर्ने कुराबाट अचानक हात झिक्यो । यस्तो अनुगमनले आफ्नो सुरक्षा र आर्थिक स्वार्थमा धक्का पुग्ने उसले बहाना बनायो । त्यसयता ऊ अनुमोदन संयन्त्र गठन गर्नुपर्ने कुराको विरोधमा उभिँदै आएको छ । यही संयन्त्रको अभावले गर्दा नै सेनासम्बन्धी जैविक गतिविधिहरूप्रति विश्वको चासो बढिरहेको हो ।
तथापि, बीडब्ल्युसीबारे विश्व समुदायको प्रश्नमा संरा अमेरिकाले कठोर अडान राख्दै आएको छ । अभिसन्धिप्रतिको आफ्नो प्रतिबद्धता आफूले मात्र परिभाषित गर्नसक्ने उसको अड्डी छ । आफ्ना जैविक गतिविधिबारे जुनसुकै देशको प्रश्न उसले अस्वीकार गर्दै आएको छ र यस्ता प्रश्न उठाउनेलाई उसले दुष्प्रचार गरेको आरोप लगाउँदै आएको छ । यो डाँकु शैलीको तर्क हो र मिचाहा व्यवहार हो ।
संरा अमेरिकाले प्रायः बाझिने चरित्र देखाउँछ । उसले प्रकाशित गर्ने बाझिँदा सूचनाहरूप्रति उसैको पत्यार छैन । गत नोभेम्बरमा उसले युक्रेनमा २६ वटा जैविक प्रयोगशालाहरूमा सहकार्य गरेको बतायो । मार्च ११ मा उसले त्यो सङ्ख्या फेरेर ४६ वटा पु¥यायो ।
संरा अमेरिकाले युक्रेनमा कुनै प्रयोगशाला नचलाएको, बरु प्रयोगशालाको सुरक्षामा सघाउन बेलाबखत विज्ञहरू पठाएको दाबी ग¥यो । तथापि, अमेरिकी रक्षा विभाग र युक्रेनी पक्षबीच सन् २००५ मा हस्ताक्षर भएको सम्झौताअनुसार अमेरिकी रक्षा विभागलाई युक्रेनका जैविक प्रयोगशालाहरूलगायत अमेरिका–युक्रेन सहकार्यअन्तर्गत हुने सम्पूर्ण गतिविधिहरूमा सहभागी हुने अधिकार छ । सो सम्झौतामा युक्रेनका सम्पूर्ण खतरनाक भाइरसहरू यी प्रयोगशालाहरूमा भण्डारण गर्नुपर्ने र आवश्यकताअनुसार संरा अमेरिकालाई दिनुपर्ने उल्लेख छ । साथै अमेरिकी पक्षले ‘संवेदनशील’ ठह¥याएका सूचना युक्रेनले सार्वजनिक गर्न नपाउने उल्लेख छ ।
विश्व समुदाय छक्क नपरीरहन सक्दैन । यी प्रयोगशालाहरू कसका हुन् ? यिनको सङ्ख्या कति छ ? संरा अमेरिकालाई यति धेरै भाइरसहरू किन चाहियो ? जनस्वास्थ्यसँग सम्बन्धित सूचनाहरू किन सार्वजनिक नगर्ने ? संरा अमेरिकाले मध्य एसिया, पूर्वी युरोप, दक्षिणपूर्वी एसिया, दक्षिण एसिया, मध्यपूर्व र अफ्रिकामा जैविक प्रयोगशालाहरू चलाउँछ । के यी सबै प्रयोगशालाहरू युक्रेनकै कथित ‘सहकार्य’ मोडलअनुसार चलाइन्छ ? संरा अमेरिकाले साँच्चै जैविक सुरक्षा सुनिश्चित गर्न र जनस्वास्थ्य प्रवद्र्धन गर्न यसो गरेको हो भने उसलाई विश्व समुदायले सघाउनुपर्छ नै । तर, उसले समुद्रपारका आफ्ना जैविक अनुसन्धानहरू जैविक स्रोतसाधन हत्याउन र जैविक हतियारहरू निर्माण गर्न प्रयोग गर्छ भने कुरा अर्कै हो ।
युक्रेन र उसको सेरोफेरोमा जनताको सुस्वास्थ्य र सुरक्षाको निम्ति, साथै सारा विश्वको निम्ति संरा अमेरिकाले सैन्य क्षेत्रका आफ्ना जैविक क्रियाकलापबारे विश्व समुदायलाई स्पष्टीकरण दिनुपर्ने बेला आएको छ । संरा अमेरिकाले पूर्ण जिम्मेवारीका साथ सैन्य क्षेत्रका आफ्ना जैविक क्रियाकलापबारे स्पष्टीकरण दिने र बीडब्ल्यु अनुमोदन संयन्त्र गठन गर्ने कुराको एक्लै विरोध गर्नेछैन भन्ने अपेक्षा छ । यसले विश्व जैविक सुरक्षा प्रत्याभूत हुनेछ ।
अभिसन्धिप्रतिको प्रतिबद्धताको अर्थ नारा उछाल्नु होइन । समस्त देशहरूले अन्तर्राष्ट्रिय कानुनको परिपालना गर्नुपर्छ । विश्व समुदायले राष्ट्रसङ्घ र बीडब्ल्युसीको ढाँचाअन्तर्गत रुसले खुलासा गरेका दस्तावेजहरू पढ्न पाउनुपर्छ । साथसाथै यस विषयमा संरा अमेरिकाले दिने स्पष्टीकरण तटस्थताका साथ न्यायोचित तवरले सुन्नुपर्छ । अमेरिकाले अन्तर्राष्ट्रिय कानुनहरूप्रति जनाएका प्रतिबद्धताहरू पूरा गरेको थाहा पाएपछि मात्र विश्व समुदायको ऊप्रतिको विश्वास बढ्नेछ र यसले विश्व जैविक सुरक्षामा टेवा दिनेछ । यसरी नै विश्व समुदायको साझा हित सुनिश्चित हुनेछ ।
अनुवाद : सुरेश

Leave a Reply

Your email address will not be published. Required fields are marked *