भर्खरै :

“एमसीसी सम्झौता गर्ने राजनीतिक दललाई निर्वाचनमा मत दिन हुन्न”

भक्तपुर, ८ चैत । नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला समितिको आयोजनामा अगुवा कार्यकर्ता भेला मङ्गलबार भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले अमेरिकी मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसद्बाट पास गराउने दलहरूलाई अबको निर्वाचनमा भोट दिन नहुने बताउनुभयो । एमसीसीले हिन्द प्रशान्त क्षेत्रको विवादमा नेपाललाई फसाउँदै छ, नेपालमा विदेशी चङ्गुलमा फसाउने शासक पार्टीलाई निर्वाचनमा परास्त गर्नुपर्छ, उहाँले बताउनुभयो ।
अध्यक्ष बिजुक्छेँले एमसीसीमा भोट दिनेहरूविरुद्ध नेमकिपाको सङ्घर्ष जारी रहने बताउँदै नेपालीलाई अमेरिकी सैनिक मोर्चामा पठाउनबाट जोगाउनुपर्ने औँल्याउनुभयो । नाटोले एसियामा युद्ध भड्काउन खोजेको बताउँदै उहाँले अमेरिकी साम्राज्यवादविरुद्धको सङ्घर्ष अझै जारी राख्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले साम्राज्यवादी र विस्तारवादी देशले पूर्वी युरोपका देशहरूमा बढ्दै गएको कम्युनिस्ट आन्दोलनलाई कमजोर बनाउन विभिन्न देशहरूमा झगडाको बीउ रोप्ने गरेको बताउनुभयो ।
उहाँले अङ्ग्रेजले सिकाएको लाइनमा भारत र भारतको दबाबमा नेपाल सरकार चल्ने गरेको प्रस्ट्याउँदै भारतीय एकाधिकार पुँजीमार्फत नेपालका राजनैतिक पार्टीहरू चलाएको बताउनुभयो ।
“पार्टी राजनैतिक स्कूल हो, जनतामाझ गएर पुँजीवादी व्यवस्थाले देश र जनताको हित नगर्नेबारे जनतालाई बुझाउने कार्यमा कार्यकर्ताहरू सक्रिय हुनु आवश्यक छ”, उहाँले बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष सुरेन्द्रराज गोसाईको सभापतित्वमा भएको सो भेलामा नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालले निर्वाचन आचारसंहिताबारे बताउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *