भर्खरै :

न्याय समितिको निर्णय वडा कार्यालयले उल्लङ्घन ?

भक्तपुर, ९ चैत । सूर्यविनायक नगरपालिका वडा नं. ५ निवासी देवेन्द्रनारायण मुनंकर्मीले किन ९११ को आफ्नो निजी जग्गालाई सार्वजनिक मानी सूर्यविनायक नपा वडा नं. ५ को वडा समितिले बाटो ढलान गर्ने निर्णय गरी काम थालेपछि नपाभित्र जनप्रतिनिधि तथा कर्मचारीहरूबीच चर्चाको विषय बनिरहेको छ । गत फागुन ६ गते बसेको वडा समितिको बैठकले सूर्यविनायक
नगरपालिकाको नवौँ नगरसभाबाट यस वडाको भट्टराईजीको घर भई जाने बाटो स्तर उन्नति गर्न विनियोजित रू. ७ लाख रूपियाँ मात्रले सो बाटो स्तरोन्नति गर्न नसकिने भनी सो रकमबाट चुनदेवी शान्ति निकेतन पूर्वबाट दक्षिण जाने बाटो ढलान गर्न रू. ३ लाख १० हजार बजेट विनियोजन गरेको थियो । वडाध्यक्ष राजकुमार जोशीको अध्यक्षतामा बसेको सो बैठकमा वडाध्यक्षसहित दुई जना जनप्रतिनिधिको हस्ताक्षर थियो । जग्गाधनी देवेन्द्रनारायण मुनंकर्मीले फागुन २९ गते त्यो कार्य तत्काल रोक्न निवेदन दिएका थिए ।
जग्गा व्यक्तिको निजी हो या बाटो हो भन्नेबारे विवाद भएपछि त्यो निष्कर्ष निकाल्न सूर्यविनायक नपाको न्याय समितिमा पुगेको थियो । न्याय समितिले किन ९११ को जग्गाको उत्तरतर्फको भाग चौडाइ कम र लम्बाइ बढी भई लाम्चो आकारमा देखिएको भए तापनि यो जग्गा सार्वजनिक बाटो नभई निजी जग्गा नै रहेको प्रमाणबाट ठहर हुने निर्णय गरेको थियो । सोही जग्गामा सँगै घर बनाउने व्यक्तिहरूले किन ९११ का जग्गाधनी देवेन्द्रनारायण मुनंकर्मीसँग निवेदकहरूको बाटोसम्बन्धी कुनै लेखापढी कागज नभएको पनि न्याय समितिको ठहर छ ।
न्याय समितिको निर्णयमा भनिएको छ, विपक्षीको कि.नं. १०१५ मा जानको लागि बाटो नभएको कारण विपक्षीले घर निर्माण गर्दा पूर्णकुमारी चौगुठीबाट ६ फिटको बाटो सुविधा लिएको अवस्था निज र विपक्षी रत्न नायवासँग मिति २०७०÷०९÷२१ गते निवेदनकर्ताले ‘बाटो’ प्रयोग गर्न दिने सम्बन्धमा गरेको करारनामा समेतको तथ्य प्रमाणबाट यी विवादित कि.न. का जग्गासम्म पहुँचको लागि करार गरी सुविधाको ‘बाटो’ दिएको तथ्य देखिन आयो ।
यसअघि शान्ति निकेतन स्कूल जोडिएको पुरानो साविकको नक्सामा प्रस्ट उल्लेख भएको बाटोलाई जस्ता लगाई सिमेन्ट गारो लगाई बाटो अवरोध गरेकोले उक्त बाटो फिल्ड अध्ययन गरी खुलाई पाउँ भनी बाटो अवरोध गर्ने विपक्षी रत्न नायवालाई कानुनी कारबाही गरी पाउँ भनी सूर्यमाया बस्यालसमेतले २०७६÷०६÷२० गते निवेदन दिएका थिए ।
कि.नं. १०१५ को जग्गाधनी लक्ष्मी नायवा र कि.नं. ९११ जग्गाधनी दीपक मुनंकर्मी, नवीन मुनंकर्मी तथा निवेदकतर्फका कपिल कस्पाल र समुन्द्रप्रसाद बास्टोलालाई वडा कार्यालयमा झिकाई छलफल गर्दा विवाद नमिलेको कारण देखाई न्याय समितिबाटै आवश्यक छलफल गराइदिन सिफारिससहित सम्पूर्ण कागजात पठाइएको थियो ।
प्राप्त जानकारीअनुसार कि.नं. ९११ का जग्गाधनी मुनंकर्मीले अदालतमा उजुरी दिएका छन् । कुनै वडा कार्यालयले निजी जग्गामा ढलान गर्दैमा, इँटा छाप्दैमा या ढलको पाइप बिच्छ्याउँदैमा त्यो जग्गा सार्वजनिक हुँदैन न त कुनै व्यक्तिले सार्वजनिक जग्गा मिची खनजोत गरिरहँदैमा त्यो जग्गा निजी हुन्छ । नगरपालिकाअन्तर्गतकै न्याय समितिले प्रमाणको आधारमा निजी जग्गा हो भनी ठहर गर्दागर्दैै कुनै व्यक्तिको दबाब र प्रभावमा त्यो ठाउँ सार्वजनिक हुँदैन । विवादित सो जग्गा निजी हो या सार्वजनिक बाटो ¤ सत्य तथ्यको आधारमा समाधान खोज्नुपर्छ । कसैको धाक धम्कीले सार्वजनिक जग्गा निजी हुँदैन, निजी जग्गा सार्वजनिक हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *