भर्खरै :

सरकारी विद्यालय गुणस्तरीय भए देशको ख्याति फैलिन्छ

भक्तपुर, ९ चैत । पञ्चकन्या मा.वि. सुडालको ३६ औँ स्थापना दिवस नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालको आतिथ्यमा बुधबार सम्पन्न भयो ।
सभामा सांसद सुवालले नेपाल मजदुर किसान पार्टीले शिक्षा–स्वास्थ्य निःशुल्क र स्वदेशमा रोजगारीको व्यवस्था गर्न सडक र संसद्मा आवाज उठाइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “सरकारी विद्यालय गुणस्तरीय भए देशको ख्याति फैलिन्छ । प्रजग कोरियाले समाजलाई बुद्धिजीवीकरण गर्ने शैक्षिक कार्यक्रम लागु गरेको छ ।”
भक्तपुर नगरपालिकाले शिशु स्याहार केन्द्र, विद्यालय र कलेजहरू सञ्चालन गरी देशभरिका विद्यार्थीलाई उच्च शिक्षाको मार्गप्रशस्त गरेको उहाँले बताउनुभयो ।
सांसद सुवालले भन्नुभयो, “शिक्षामन्त्रीले यो वर्ष भक्तपुर नगरपालिकाको नर्सिङ कक्षामा भर्ना रोक लगाउने काम गरेको जनताको हितमा छैन ।”
भक्तपुर नगरपालिकाले एक घर एक स्नातकको लक्ष्य राखेर शैक्षिक संस्थाहरू सञ्चालन गरेको हो, यहाँका सबै जनता मिलेर पञ्चकन्या माविलाई पनि कलेजसम्म विकास गर्न सकिन्छ, उहाँले भन्नुभयो ।
एमसीसी सम्झौताको दफा २.७, ४.२, ५.१, ५.५, ६.८, ७.१, अनुसूची ५(क) मा अमेरिकी वर्तमान र भविष्यको कानुन पालना गर्नुपर्ने, नेपालीको मृत्यु भएमा कतै उजुरी नलाग्ने, सम्झौताको सर्त बाझिएमा सम्झौताकै सर्त लागु हुने चर्चा गर्दै उहाँले भारतको गोरखपुरसम्म विद्युत् प्रसारण लाइन निर्माण गर्ने काम नेपालको हितमा छैन भन्नुभयो ।
सांसद सुवालले भन्नुभयो, “एमसीसी सम्झौता सुरु गर्ने प्रम बाबुराम भट्टराई थिए, त्यसपछिका सबै प्रमहरूले यसको समर्थन गरे । अमेरिकी मन्त्रीको धम्की आएपछि सम्झौता संसद्को बहुमतबाट पारित गरियो । एमसीसीको दुई वटा सम्झौताको रकम पाएको मङ्गोलियाको सेनालाई ‘अमेरिकी साम्राज्यको गोर्खाली’ बनाइएको छ ।”
अमेरिकाले युक्रेनलाई नाटो सदस्य बनाउन लागेको हुँदा त्यसलाई रूसले रोक्न खोजेको हो, उहाँले स्पष्ट पार्नुभयो ।
संयुक्त राष्ट्र सङ्घको मतदानमा देउवा सरकारले अमेरिकी दबाबमा रूसको विपक्षमा मत दिएको असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्तविपरीत हो, सांसद सुवालले भन्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव तिमिल्सिनाको सभापतित्वमा भएको उक्त कार्यक्रममा चाँग नपाका प्रमुख सोमप्रसाद मिश्र, नेमकिपाका प्रेमकुमार श्रेष्ठ, एमालेका राजेश खड्का, माओवादीका मदन श्रेष्ठ, राप्रपाका अर्जुन कार्की, विद्यालयका संस्थापक शिलनाथ दुलाल, साहित्यकार हरिहर तिमिल्सिना, वडा नं. ८ का वडाध्यक्ष परासर सापकोटा, सहायक प्रअ प्रकाश तजले, पूर्व प्रअ सन्तराम दुलाल, वरिष्ठ इन्जिनियर अजयकुमार शाह र गोविन्द पन्थीले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा विद्यालयका प्रअ नारायणप्रसाद दुलालले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *