भर्खरै :

कसिमला पाँय् प्रतियोगितामा युवादेखि ज्येष्ठ नागरिकसम्मको सहभागिता

 
भक्तपुर, ९ चैत । भक्तपुर नगरपालिका ९ वडा खेलकुद समितिको आयोजनामा भक्तपुर नगरव्यापी कसिमला पाँय् प्रतियोगिता दत्तात्रयमा बुधबार सम्पन्न भएको छ ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले विजेताहरूलाई पुरस्कार वितरण गर्दै भक्तपुरलाई विश्वकै उत्कृष्ट बनाउन निरन्तर लागिपरेको बताउनुभयो । उहाँले शिक्षा, स्वास्थ्य, कला, संस्कृतिजस्ता सम्पूर्ण क्षेत्रमा भक्तपुरका जनता अगाडि बढाउन हरदम प्रयास गरिरहेको बताउनुभयो । व्यवस्थित र सभ्य सहर भक्तपुर बनेमात्र संसारका हरेक मानिसको ओइरो लाग्ने र भक्तपुरकै जनताको आर्थिक स्तर विकास हुने बताउँदै उहाँले सय वर्षपछिको भक्तपुरको परिकल्पनालाई साकार पार्न विभिन्न पक्षसँग सल्लाह गरी योजनाबद्धरूपमा कार्य गरिरहेको बताउनुभयो ।
जनताले नेपाल मजदुर किसान पार्टीका प्रतिनिधिलाई चुनेकै कारण नेपालभरमा उत्कृष्ट स्थान हासिल गर्न सकेको र त्यसको श्रय भक्तपुरका जनतालाई नै जाने उहाँको तर्क छ ।
उहाँले नेमकिपाले गरेको कामले अरु आश्चर्यमा परेको चर्चा गर्दै आन्तरिक र बाह्य पर्यटकको वृद्धिले भक्तपुरको बजार बढ्ने बताउनुभयो । उहाँले मौलिक खेललाई प्राथमिकतामा राख्ने क्रममा कसिमला पाँय् खेलको विकास र प्रवद्र्धनका लागि स्थानीय पाठ्यक्रममा राखेको बताउनुभयो ।
भक्तपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्वले निर्वाचित भएको ५ वर्षभित्र गरेका कार्यको प्रगतिबारे जानकारी गराउँदै जनताको मत कतै पनि नचुकेको बताउनुभयो ।
अबको चुनावमा पनि नेमकिपाकै प्रतिनिधिलाई जिताउने विश्वास व्यक्त गर्दै उहाँले पार्टीको नीतिअनुसार नै सबै कार्य पूरा भएको बताउनुभयो ।
हरेक उमेर समूहका मानिसले खेल्न सकिने मौलिक पहिचान बोकेको कसिमला पाँय् खेलको महत्वबारे उहाँले बताउनुभयो ।
आयोजक समितिका अध्यक्ष राजेश प्रजापतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेमकिपा, ९ वडा समन्वय समितिका अध्यक्ष कृष्णभक्त लवजु, सञ्जय मानन्धर, बाबुकाजी मानन्धर र राजन चित्रकारले पनि बोल्नुभएको थियो ।
पुरुषतर्फ ४७ जना र महिलातर्फ १५ जनाको सहभागिता रहेको उक्त प्रतियोगितामा पुरुषतर्फ राजकुमार खुुसु प्रथम, हेलबहादुर प्रजापति द्वितीय, दयाराम प्रजापति र लक्ष्मीभक्त कोजु तृतीय भएका थिए भने महिलातर्फ अनिता खोंजु प्रथम, पञ्चकन्या अवाल द्वितीय, लक्ष्मी खयरगोली र दयालक्ष्मी प्रजापति तृतीय भइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *