भर्खरै :

सूर्यविनायकमा क्रान्तिकारी किसानहरूको सम्मेलन

भक्तपुर, १० चैत । नेपाल क्रान्तिकारी किसान सङ्घ सूर्यविनायक नगर समितिको तेस्रो नगर सम्मेलन नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं बाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईंले एक समारोहबीच बिहीबार उद्घाटन भयो ।
उद्घाटन कार्यक्रममा अतिथि गोसाईंले नेमकिपाका अग्रज किसान कार्यकर्ताहरूले ६० वर्ष देखिको निरन्तर सङ्घर्षबाट नेमकिपा आजको अवस्थामा पुगेको चर्चा गर्दैै साम्राज्यवादी अमेरिकाले एमसीसीको नाममा नेपालमा अमेरिकी सेना भित्याएर नेपाललाई युद्धभूमि बनाउने जाल रचिरहेकोे धारणा राख्नुभयो ।
अबको निर्वाचनमा राष्ट्रघाती, देश बेचुवा पार्टीलाई ठेगान लगाउन किसान सङ्घ सक्रिय हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।
केन्द्रीय सदस्य गोसाईंले भन्नुभयो, “नेपालका ठूला मिडियाहरू अमेरिकी साम्राज्यवादको डलरमा बिकेकाले देशभक्त पार्टीहरूको समाचार प्रकाशित हुने गर्दैन । आफूलाई कम्युनिस्ट दाबी गर्ने सरकारमा पुगेका पार्टीहरू पार्टीलाई ठूलो बनाउने नाउँमा अपराधी, घुस्याहा, कालाबजारीसमेतलाई पार्टीमा टीका लगाएर भित्याउँदै छन् । यो राम्रो लक्षण होइन ।”
नेक्राकिसङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष गोविन्द दुवालले अग्रज किसान कार्यकर्ताहरूको योगदान र किसान सङ्घर्षबारे चर्चा गर्नुभयो ।
आयोजक समितिका अध्यक्ष श्यामसुन्दर सुवालको सभापतित्वमा भएको उक्त कार्यक्रममा नेमकिपा सूर्यविनायक नगर समितिका अध्यक्ष सूर्यभक्त त्वाती, नेक्रायुसङ्घ सूर्यविनायक नगर समितिका बुद्ध तामाङ, नेक्रामहिला सङ्घ सूर्यविनाय नगर समितिका अध्यक्ष मनशोभा त्वातीलगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रमको बन्दसत्रले राजेन्द्र बखुन्छेँको अध्यक्षतामा २५ सदस्यीय नेक्राकिसङ्घ सूर्यविनायक नगर समिति गठन गरेको छ । निर्वाचित पदाधिकारीहरूलाई नेमकिपा भक्तपुर जिल्ला समितिका सूर्यभक्त त्वाती, नेक्राकिसङ्घका केन्द्रीय सदस्य श्याम विसुंके र नेमकिपा सूर्यविनायक नगर समितिका सचिव महेन्द्र बखुन्छेँले बधाई दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *