भर्खरै :

युक्रेन सङ्कटमा संरा अमेरिकाका सात पाप

संरा अमेरिकाले आफूलाई ‘असल शक्ति’ को रूपमा चित्रण गर्दासम्म युक्रेन मुद्दामा संसारले सही व्याख्या गर्न आवश्यक छ । त्यसको निम्ति हामीले युक्रेन सङ्कट उछाल्न संरा अमेरिकाले गरेका सात थरी पासबारे चर्चा गर्नुपर्छ ।
पहिलो पाप
विश्वमा विभाजन फराकिलो बनाउन शीतयुद्धको मानसिकतामै टाँसिएर बस्नु ।
शीतयुद्धको अन्त्यले संरा अमेरिकी बदनामी उत्कर्षमा पु¥यायो । सँगै उसको आक्रामकता र पूर्वाग्रहलाई वैधता दियो । संरा अमेरिकाले संसारका अन्य देशलाई ‘प्रजातान्त्रिक र अधिनायकवादी’ भनी विभाजन गर्न आफू स्वतन्त्र भएको ठान्छ । पछिल्ला दसकहरूमा संसारले ‘अमेरिकालाई पहिलो स्थान’ मा कायम राख्न धेरैथरी विभाजन र द्वन्द्व देख्यो । त्यस्ता द्वन्द्वले मानवीय सङ्कट समेत निम्त्यायो । जर्ज डब्ल्यु बुशको सरकारले त संसारका देशहरूलाई ‘या त हाम्रो पक्षधर नभए विरोधी’ भनी कित्ताकाट गरेको थियो ।
संरा अमेरिकाको आड भरोसा पाएको युक्रेनलाई आजको अवस्थामा पु¥याउन नाटोले पाँच चरणको पूर्वतिर विस्तार गरेको थियो । आफ्नो सुरक्षा क्षेत्र एक एक इन्च गर्दै अतिक्रमण भएको देख्दा रुस होस् वा अरू कुनै पनि देशले आफुलाई छेउमा धकेलेको अनुभव गर्नु स्वाभाविक हो । त्यसकारण, रुस र युक्रेनबीचको द्वन्द्व पश्चिमाहरूको शीतयुद्धकालीन मानसिकताले युरोपेली महादेशमा निम्त्याएको दुःखद् घटना हो ।
दोस्रो पाप
भूराजनीतिक विभाजनको बिजारोपण विश्व शान्तिको लागि घातक
अन्तर–एटलान्टिक मोर्चाले ट्रम्प सरकारले बनाएको घाउ निको नबनाउँदै गत वर्ष अफगानिस्तानबाट संरा अमेरिका हतारमा फर्केर र फ्रान्सबाट आणविक पण्डुबी ठेक्का सम्झौता हत्याएर युरोपसँगको एकतामा अर्को धक्का पु¥यायो ।
युरोपलाई रणनीतिक र सुरक्षाको दृष्टिकोणले आफ्नो बग्गीमा कसेर बाँध्न संरा अमेरिकाले युरोपलाई सम्झायो, धम्क्यायो र लता¥यो । युक्रेन र युरोपको हित त केही न केही । यसको मुख्य अभिप्रायः त युरोप र रुसबीचको सम्बन्ध तोड्नु हो । रुसबाट बिच्किएपछि युरोपसँग अमेरिकाको पछि लाग्नुको अर्को विकल्प हुनेछैन ।
युरोपले रुससँग नोर्ड स्ट्रीम २ परियोजना गुमायो । सँगै युरोपले आफ्नो रणनीतिक स्वायत्तता पनि गुमायो । रुसविरुद्ध चर्को नाकाबन्दी थोप¥यो । जसले युरोपको आर्थिक, ऊर्जा, शरणार्थी र सुरक्षा सङ्कटलाई अझ पेचिलो बनायो ।
युरोपेली सङ्घ विदेश मामिला र सुरक्षा नीति उच्च अधिकारी जोसेफ बोरेलले हालै दिएको एउटा अन्तर्वार्तामा युरोपेली सङ्घले ‘रुससँग नजिक बन्ने मौका गुमाएर गल्ती गरेको’ बताए ।
तेस्रो पाप
सूचना लडाई उछाल्न झूटा कुराको प्रयोग
सामाजिक सञ्जालको युगमा रुस–युक्रेन द्वन्द्व पहिलो ठूलो आकारको लडाइँ हो । संरा अमेरिकाले आफूसँग भएका सूचनाका हतियार प्रयोग गरेर अनेकन त्यस्ता समाचार प्रकाशनमा ल्याएको छ जो प्रस्टै असत्य हुन् । हिलारी क्लिन्टनले खुलारूपमा रुसविरुद्ध साइबर युद्धको लागि आह्वान गरिन् । उनले ‘अरब आन्दोलनको बेला पनि संरा अमेरिकाले त्यस्तै गरेको’ दाबी समेत गरिन् ।
फेसबुक, ट्वीटर र युट्युबजस्ता सामाजिक सञ्जालहरूले आफूले धेरै अघि नै ‘वाक् स्वतन्त्रता’ को प्रतिबद्धता त्यागिसकेको बताउन कति पनि लाज मान्दैनन् । तर, उनीहरू रुसका सरकारी सञ्चारमाध्यम र रुसपक्षधर सामाजिक सञ्जाल बन्द गर्न कति पनि विलम्ब गर्दैनन् ।
केही संरा अमेरिकी राजनीतिक नेता, चिन्तक र सञ्चारमाध्यमहरू चीनविरुद्ध षड्यन्त्र सिद्धान्त पेल्दैछन् । उनीहरूले ‘रुसको सैनिक हमलाबारे पहिला नै थाहा भएको’ वा चीन ‘रुसलाई सैनिक र आर्थिक सहायता दिन तयार भएको’ भन्दै चीनको बदनाम गर्दैछन् । यसको मुख्य लक्ष्य चीनलाई फसाएर दोषारोपणको खेल खेल्नु हो ।
चौथौ पाप
विश्व अर्थतन्त्रको असहज परिस्थितिमा डलरको प्रभुत्ववाद लाद्ने
अहिलेको द्वन्द्वले विश्व शेयर बजारमा धक्का मात्र दिएको छैन, बरु घातक उथलपुथल नै निम्त्याएको छ । ऊर्जाको मूल्य बढेको छ । खाद्यान्नको मूल्य एघार वर्षकै सबभन्दा उच्च विन्दुमा पुगेको छ । औद्योगिक र आपूर्ति प्रणालीमा ठूलै विग्रह आयो ।
युएनसीटीएडीको हालैको प्रतिवेदनले अफ्रिका र न्यून विकसित देशहरूको अवस्था हेर्दा विश्व अर्थतन्त्रमा अहिले भएको मूल्यवृद्धि चिन्ताको विषय बनेको बताएको छ । अक्सफोर्ड अर्थतन्त्रले रुस र युक्रेनको द्वन्द्व लम्बिए युरोपको मुद्रास्फीति ७ प्रतिशतभन्दा माथि उक्लिने र बेलायतमा मुद्रास्फीति दर १० प्रतिशतभन्दा माथि हुन सक्ने पूर्वानुमान गरेको छ ।
तर, संरा अमेरिकाको निम्ति युद्ध पैसाको स्रोत बनेको छ । रुस–युक्रेन द्वन्द्व बढेपछि संरा अमेरिकाको शेयर बजार बढेको छ । सैनिक र ऊर्जा निर्यात पनि बढेको छ । वास्तवमा घाटा सहने युरोपेली सङ्घ हो । तर, संरा अमेरिकाको गोजी भने तनातन भरिएको छ ।
पाँचौँ पाप
द्वन्द्व चर्काउने, हतियार थमाउने र मानवअधिकारमा दोहोरो मापदण्ड बनाउने
आफूलाई मानवअधिकारको ‘रक्षक’ को रूपमा चित्रण गर्दै आएको संरा अमेरिका संसारका धेरै ठाउँमा युद्ध र अराजकताको कारणको भूमिका खेलेको छ । अफगानिस्तान, इराक, लिविया र सिरियामा संरा अमेरिकाको ‘विश्वव्यापी मूल्य’ ले कठिनाइ र समस्या मात्र निम्त्यायो । ती क्षेत्रहरू नराम्ररी प्रभावित बने । संसारले पतनको सामना गर्नुप¥यो ।
युक्रेन सङ्कटमा संरा अमेरिका आगो हम्कने काम कहिल्यै रोकेन । यसले सङ्कटअघि युक्रेनी सिपाहींहरूलाई तालिम र हातहतियार दियो । सङ्कट सुरु भएपछि युक्रेनमा सिधैं हतियार पठाउने प्रस्ताव ग¥यो र रुसलाई दबाब दियो ।
रुस र युक्रेनबीच तनाव बढेपछि संरा अमेरिकाले ताइवानमा धमिलो पानीमा माछा मार्न भुलेन । उसले ताइवानमा युएसएस राल्फ जोनसन मिसाइल नाशक हतियार पठायो । ताइवानमा पूर्ववरिष्ठ सैनिक अधिकारीहरूको प्रतिनिधिमण्डल पठायो ।
छैटौँ पाप
अरूलाई खतरामा पार्ने जैविक हतियार सञ्चय ग¥यो
रुसले हालै संसारभर संरा अमेरिकाले सयौँको सङ्ख्यामा सैनिक जैविक प्रयोगशाला बनाएको खुलासा ग¥यो । तीमध्ये केही चीन र रुस छेउछाउका पूर्व सोभियत सङ्घका देशहरूमा छन् । युक्रेनमा मात्र झन्डै तीस वटा त्यस्ता प्रयोगशाला छन् ।
सुरुमा यस्तो आरोपलाई संरा अमेरिकाले ‘गलत सूचना’ भनी नका¥यो र पछि उसले ‘जैविक हतियार अभिसन्धिको पूर्ण पालना गर्दै’ त्यस्ता प्रयोगशाला बनाएको बतायो ।
सत्य के हो भने दोस्रो विश्वयुद्धपछि कुख्यात शिरो इशीजस्ता युद्ध अपराधीलाई शरण दिने देश संरा अमेरिका थियो । उनी जैविक हतियार उत्पादन गर्ने जापानी सेनाको एकाइ ७३१ का कमान्डर थिए । बीस वर्षसम्म अभिसन्धिअन्तर्गत अनुगमन संयन्त्रको विरोध गर्ने एउटै देश संरा अमेरिका थियो । के संरा अमेरिकाले जैविक हतियार विकास र भण्डारण गरिरहेको छ ? संसार प्रस्ट उत्तरको प्रतिक्षामा छ ।
सातौँ पाप
घरेलु समस्याको दोष अरूमाथि थोपर्न युद्धको प्रयोग
संरा अमेरिकाभित्रका समस्याको लागि अरूमाथि दोषारोपण गर्न विदेशमा भइरहेका युद्ध प्रयोग गर्ने संरा अमेरिकी शासक वर्गको धेरै अघिदेखिको तरिका हो । राजनीतिक ध्रुवीकरण, धनी र गरिबबीचको खाडल, जातीय विभाजन र कोभिड–१९ महामारी जस्ता समस्या छोप्न संरा अमेरिकी शासक वर्गलाई बाह्य द्वन्द्वदेखि आफ्नो प्रभुत्ववादको वैधानिकता चाहिएको छ ।
तर, युद्ध महँगो र क्रुर हुन्छ । संरा अमेरिका नेतृत्वको नाकाबन्दीले महामारीले त्यसै कमजोर बनाएको विश्वव्यापी औद्योगिक तथा आपूर्ति सञ्जाललाई साँघुरो बनाएको छ । त्यही भएर संरा अमेरिकी राष्ट्रपतिसँगको भर्चुएल बैठकमा चीनका नेताले भनेका थिए, “नाकाबन्दीले जनताको दुःख मात्र बढाउनेछ ।”
जहाँ दमन हुन्छ, त्यहाँ प्रतिरोध हुन्छ । संसार जागरणको युगमा प्रवेश गरिसकेको छ । स्वाधीनता, आपसी सम्मान र साझा विकासबाट प्राप्त शक्ति मात्र टिक्न सक्छ । यदि संरा अमेरिका शून्य परिणामको खेल र मोर्चागत दुश्मनीको भावनााबाट बाहिर आउन नसके थप द्वन्द्व र दुःखका दिन आउनेछन् । यो म्याद नाघिसकेको योजना पुस्तिकालाई अब इतिहासले अस्वीकार गर्नेछ ।
लेखक चिनियाँ पत्रकार हुनुहुन्छ ।
ग्लोबल टाइम्सबाट अनुदित सामग्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *