बेलायतको मेसिनविरोधी ‘लुडाइट’ आन्दोलन
- बैशाख ९, २०८३
कहीँ छैन, कहीँ पनि छैन रगतको दाग
न हत्याराको हात र नङको दाग छ, न बाहुलामा छाप
न रगताम्य छुरीको निसान छ, न छातीमा चिरेको दाग
न भुइँमा कुनै चिन्ह छ, न कोठामा कुनै छाप
कहीँ छैन, कहीँ पनि छैन रगतको दाग
–फैज अहमद फैज
भारतभरि युवा–विद्यार्थीहरूबीच आत्महत्याले विकराल रूप लिँदै छ । विद्यार्थीहरूका केन्द्र मानिने सहरहरू आत्महत्याका केन्द्र बन्दै छन् । अनिश्चित भविष्यले हताश र निराश विद्यार्थीहरूले आज जीवनभन्दा मृत्यु अङ्गाल्दै छन् । वास्तवमा यी आत्महत्या होइनन्, हत्या हुन् । यसको कुनै दाग हुन्न, कुनै सुनुवाइ हुन्न । गएको जुलाई महिनामा २८ दिनमा मात्र इलाहावादमा २५ भन्दा बढी विद्यार्थीले आत्महत्या गरेको समाचार आयो । यी मिडियाको लागि खबर बनेका र प्रहरी कार्यालयसम्म पुगेका घटना मात्र हुन् । यसको कैयन गुणा बढी घटना त मिडियासम्म पुग्दै पुग्दैनन् । सन् २०१८ मा भारतमा प्रतिदिन ३५ बेरोजगार र ३६ स्वरोजगार गर्ने मानिसहरूले आत्महत्या गरेका थिए । एनसीआरबीको आँकडाअनुसार सन् २०१७ मा १,२९,८८७ जनाले, सन् २०१८ मा १,३४,५१६ जनाले र सन् २०१९ मा १,३९,१२४ जनाले आत्महत्या गरे । सरकारी आँकडाबाट भारतमा आत्महत्याको दर बढिरहेको स्पष्ट हुन्छ ।
सबैभन्दा आत्तिनुपर्ने कुरा के छ भने युवा–विद्यार्थीहरूको आत्महत्या दर तीव्र गतिमा बढ्दै छ । सन् २०१८ (८९,४०७ युवाले आत्महत्या गरेको) र सन् २०१९ (९३,०६१ युवाले आत्महत्या गरेको) लाई दाँज्दा आत्महत्या दर ३.४ प्रतिशतले बढेको छ । त्यस्तै नवयुवकहरूमा यो दर ४ प्रतिशत छ । संसारको १८ प्रतिशत जनता भारतमा बस्छन् । तर, विश्वमा हुने आत्महत्याको एकतिहाइ भन्दा बढी आत्महत्या भारतभित्र हुन्छ । यति धेरै आत्महत्या ! यो फगत सङ्ख्या होइन, बरू संसारको सबैभन्दा ठूलो लोकतन्त्र भनिने भारतको जीवन्त तस्बिर हो । भारतमा ६५ प्रतिशत जनता युवा छन् । भारतमा यति ठूलो सम्भावना नष्ट भइरहे पनि कुनै सुनुवाइ भएको छैन ! किन ? किनभने यो लुटपाटमा आधारित मानिसविरोधी पुँजीवादी व्यवस्थाको चासो नाफामा छ, सम्भावनामा छैन !
भारतमा निजीकरण र उदारीकरणका नीतिहरू लागू भएपछि एउटा धनाढ्य वर्ग जन्मिएको छ । उसलाई प्रत्येक सुविधा छनछनी पैसामा किन्न सकिने विश्वास छ । त्यसैले यो वर्गले बजारतन्त्रको खुला पैरवी गर्छ । आफ्नो वर्गीय स्थितिका कारण यो वर्ग घोर मानवद्रोही र जनविरोधी बनिसकेको छ । यसमा जनवादी चेतना र तर्कनाको एकदम अभाव छ । यस वर्गले वर्तमान व्यवस्थामा किन्ने क्षमता नराख्ने बहुसङ्ख्यक जनतालाई नालायक र कामचोर ठान्छ । यी नवधनाढ्यहरूको लागि कामदार वर्ग फगत उत्पादनको पार्टपुर्जा हो । तल्लो वर्गलाई धोका दिइसकेको भारतीय मध्यम वर्गको तर्कपद्धति असाध्यै जनविरोधी र व्यवस्थापूजक बनिसकेको छ । कतिसम्म भने मध्यम वर्गले व्यवस्था र सत्ताको बचाउमा नयाँनयाँ तर्कहरू अघि सारेर जनतालाई नै दोषी देखाउँछ । हुनेखाने मध्यम वर्गको यो तप्काले युवा–विद्यार्थीहरू नै डरछेरूवा छन्, त्यसैले आत्महत्या गर्छन् भनी तर्क गर्छ ।
के यो यथार्थ हो ? होइन ¤ डरछेरूवा हुनाले नै यति धेरै आत्महत्याहरू भएका होइनन् । यस्तो ठान्नेहरूसामु सत्य ढाक्ने वर्गीयताको पर्दा हुन्छ । त्यसैले उनीहरूले युवाहरूलाई आत्महत्या गर्न बाध्य पार्ने समस्त प्रक्रियाप्रति आँखा चिम्लिन्छन् । सामान्यतया १२ कक्षा पास गर्दाधरि विद्यार्थीमाथि घरपरिवार र समाजको दबाबले काम गर्न थाल्छ । उसले जसरी पनि एउटा नोकरी पाइछोड्ने कसरत गर्छ । त्यसको लागि उसले ज्यान फालेर मिहिनेत गर्छ । तर, वर्षौँ बितिसक्दा पनि ऊ खालि हतास र निरासमात्र हुन्छ । सरकारी विभागहरूको जागिर हात्तीको मुखमा जिरासरी हुन्छ । स्थिति कति जटिल हुन्छ भने एक सिट जागिर पाउन ५ हजार मानिसहरूले निवेदन भर्छन् । तपाईँले जति नै पापड बेले पनि एउटा सिटमा एउटै व्यक्तिले मात्र नोकरी पाउँछ । केही दिनअघि मात्र उत्तर प्रदेशका मुख्यमन्त्रीले हाँस्यास्पद विचार राखे । उनले उत्तर प्रदेशमा नोकरीको कमी नभएको बरू, योग्य व्यक्ति नै नभएको जिकिर गरे । जब कि उत्तर प्रदेशमा सन् २०१८ मा प्रहरी विभागको पियन र सन्देशवाहकको ६२ पदका लागि ९३ हजार व्यक्तिले आवेदन दिएका थिए । तीमध्ये ३७ सय जना पीएचडीधारी, २८ हजार स्नातकोत्तर र ५० हजारजना स्नातक थिए । जब कि न्यूनतम् योग्यता ५ कक्षा राखिएको थियो । शिक्षण संस्थाहरूले एकातिर विद्यार्थीहरूलाई बीए, एमए, बीटेक, एमटेक जस्ता डिग्री दिन्छन् । यति डिग्री पाएर पनि तपाईँले एउटा नोकरी पाउनसक्नुभएन भने तपाईँलाई अयोग्य घोषित गरिन्छ । यस्तो परिस्थितिले आत्तिएको देशको एउटा ठूलो युवा जनसमूह अवसादमा बाँच्न बाध्य छ । भारतजस्तो देशमा पारिवारिक माहोल विद्यार्थीले आफ्नो मनस्थितिबारे छलफल गर्न मिल्ने तहसम्मको प्रजातान्त्रिक हुन्न । परिवारदेखि लिएर शिक्षण संस्थाहरू समेत आफ्नो मन खोलेर कुरा गर्नसक्ने कुनै मञ्च हुन्न । यसकारण यो माकुरेजालबाट बाहिर निस्किने बाटो नभेटेपछि धेरै विद्यार्थीले आफ्नो ज्यान फाल्छन् । के यसलाई डरछेरूवा हुनाले आत्महत्या गरेको भन्न सकिन्छ ? यस्ता कुतर्कहरू समाजमा जानाजान यो लुटपाटमा आधारित मानवविरोधी व्यवस्थाको हत्यारा अनुहार लुकाउन गढिन्छन् । मानिसहरूले समस्याको कारण व्यक्तिमा खोजून्, पुँजीवादी व्यवस्थामा नखोजून् भन्ने नियत राखिन्छ । यो एक्कादुक्का ठाउँको कुरा होइन, आज शिक्षण संस्थाहरूमा आत्महत्याको रोग भुसको आगोझैँ फैलिरहेको छ ।
विद्यार्थीहरूको चिहानघर बनिरहेका शिक्षण संस्थाहरू
राजस्थानको कोटा सहर कोचिङको सुपर मार्केट भनिँदै छ । यहाँ तयारीको नाममा विद्यार्थीहरूलाई जबर्जस्ती लुटिन्छ । एक अध्ययनअनुसार कोटामा कोचिङको वार्षिक लेनदेन ४० अरब भारूभन्दा बढीको छ । कोचिङ सेन्टरहरूबाट सरकारले वर्षको १ अरब भारूभन्दा बढी कर उठाउँछ । विज्ञापन, मिडिया र सामाजिक प्रतिष्ठाको दबाबबाट युवा–विद्यार्थीहरूमाथि जबर्जस्ती थोपरिने सपनाहरू पूरा गर्ने विचारले विद्यार्थीहरू यो सहरमा आइरिन्छन् । करोडौँ विद्यार्थीहरूलाई सपना बेचिन्छ, तर केही हजार विद्यार्थीहरूको मात्र सपना साकार हुन्छ । त्यसैले यो सहर आत्महत्याहरूको गढ बन्दै छ । यहाँ सन् २०१९ को डिसेम्बरमा चारजना विद्यार्थीहरूले आत्महत्या गरे । कोटा प्रहरीको रिपोर्ट अनुसार २०१८ मा १९ जना, २०१७ मा ७ जना, २०१६ मा १८ जना, २०१५ मा ३१ जना, २०१४ मा ४५ जना विद्यार्थीहरूले आत्महत्या गरे । यसैगरी इलाहाबाद, पटना, जयपुर, मुम्बई, मद्रासजस्ता सहरहरूमा प्रतिवर्ष हजारौँ विद्यार्थीहरूले आत्महत्या गर्छन् । चार वर्षअघि आत्महत्या गर्ने छात्रा कीर्तिले आफ्नो सुसाइड नोटमा जनशक्ति विकास मन्त्रालयसँग यी शिक्षण संस्थाहरू छिटोभन्दा छिटो बन्द गर्ने गुहार गरेकी थिइन् । उनले यी कोचिङ सेन्टरहरूले विद्यार्थीहरूलाई तनाव दिइरहेको लेखेकी थिइन् । कुरा यत्तिकैमा टुङ्गिन्न । आजभोलि यस व्यवस्थालाई मान्य धारणाका हिसाबले सफल भएका विद्यार्थीहरूको मनबाट पनि अवसादको समस्या हटेको छैन । आईआइटी मुम्बईकी छात्रा पायलदेखि लिएर ५ वर्षमा भारतका २३ आईआइटीमा ५० भन्दा बढी विद्यार्थीहरूले आत्महत्या गरे ।
देशका भविष्य मानिने युवाहरू आज ठूलो सङ्ख्यामा आत्महत्या गर्दै छन् । तर, भाडाका मिडियाहरूले चर्को स्वरमा पाकिस्तान ध्वस्त पार्ने र चीनलाई पाठ सिकाउने, ‘लभ जिहाद’, ‘चुरा जिहाद’, ‘धर्मान्तरण’ जस्ता फासीवादी मुद्दाहरू उठाइरहेका छन् । यिनको चर्को स्वरमा दबेर सर्वसाधरणका छोराछोरीको मृत्युको समाचार सर्वसाधारणसम्म पुग्न पाइरहेको छैन । मिडिया आज युवाविद्यार्थीहरूको मुद्दामा एकदम चुप छ, मानौँ देशमा सबथोक कुशलमङ्गल छ । वास्तवमा यी मिडियाहरू धनपशुहरूको हो । त्यसैले यिनले जनतालाई साथ दिन्नन् । यी मिडियालाई उदाङ्गो पर्नु र आफ्नै वैकल्पिक मिडिया उभ्याउनु पनि भारतीय जनताको जिम्मेवारी हो ।
गहिरिँदो भविष्यको अन्धकार
यी आत्महत्याहरूको खोजबीन गर्ने हो भने एउटा आधारभूत कारण थाहा लाग्छ । त्यो हो अनिश्चित भविष्य । भारतमा उदारीकरण र निजीकरणका नीतिहरू लागू भएयता रोजगारीमा कटौती हुँदै आएको छ । पछिल्ला केही वर्षयता स्कील इन्डिया, मेक इन इन्डिया, प्रधानमन्त्री रोजगारी सृजन कार्यक्रम, रोजगार प्रोत्साहन योजना, प्रधानमन्त्री कौशल विकास योजनाजस्ता थरीथरी योजनाहरू बनाइए र यी योजनाहरूको प्रचारमा अरबौँ रूपियाँ खर्च गरिए । तर, यी योजनाहरूले कार्यालय र प्रचारप्रसार हेर्ने मान्छेहरूलाई बाहेक अरूलाई रोजगार दिएनन् । बेरोजगारी घटाउने दिशामा यी योजनाहरूले सिन्को भाँचेनन् । सीएमआईईको रिपोर्टअनुसार गएको वर्ष मार्चदेखि जुलाईको बीच १.९ करोड मान्छेले आफ्नो नोकरी गुमाए । भारतमा सबैभन्दा बढी रोजगार दिने क्षेत्र रेलमार्ग क्षेत्र हो । तर, रेलमार्गको स्थिति झन्झन् खस्किँदै गयो । भारतीय रेलका कर्मचारीहरूको सङ्ख्या २० वर्षमा १८ लाखबाट घटेर ९ लाख पुग्यो । रेलमार्गमा झन्डै सवा २ लाख पद खाली भए पनि त्यहाँ नयाँ कामदारहरू राखिएन । यति मात्र होइन, २०१९ अप्रिलमा मात्र १०,८४० पद घटाउने सूचना जारी गरिएको थियो । यसैगरी एसएससी सीजीएलको पछिल्ला ९ चरणमा गरिएका भर्तीमा आधा पद घटाइएको छ । जब कि यसबीच नोकरीको लागि आवेदन दिनेहरूको सङ्ख्या बढिरहेको छ ।
रोजगारी नभएको वा नदिएको भन्ने कुरा मिल्दैन । प्रश्न सरकारको नियतमा हो । यो कुरा पानीझैँ छर्लङ्ग छ । लगातार सरकारी विभागहरूमा रोजगारी घटाइँदै छ । धेरैभन्दा धेरै काम करार वा ठेक्कामा दिइएको छ र प्रत्येक विभागलाई बेच्ने तयारी हुँदै छ । निजी क्षेत्रको कुनै भरोसा छैन । कतिखेर मान्छे राख्ने हो, कतिखेर लात हानेर निकाल्ने हो, भर हुन्न । यो स्थितिले आउँदो समयमा अझ ठूलो सड्ढट ल्याउनेछ । यस्तो बेला भारतीय विद्यार्थीहरूले आफूलाई मारेर समस्या निराकरण हुने होइन, बरू यो पूरै लुटपाट र अन्यायअत्याचारमाथि टिकिरहेको व्यवस्था नष्ट गर्ने विषयमा सोच्न आवश्यक छ ।
स्रोत : भारतीय विद्यार्थीहरूको क्रान्तिकारी पत्रिका ‘आह्वान’ बाट
Leave a Reply