सिद्धान्त र विचार नै दललाई चिन्ने आधार
- बैशाख ९, २०८३
नेपालका केही सञ्चारमाध्यम र बुद्धिजीवीहरूले चीनका कोही पनि अधिकारीको नेपाल भ्रमणलाई ‘नेपालका कम्युनिस्टहरूलाई मिलाउन आएका’ भन्ने कोणबाट व्याख्या विश्लेषण गर्ने गरेका छन् । शुक्रबार राजधानी आइपुग्नुभएका चिनियाँ विदेशमन्त्री वाङ यीको भ्रमणलाई पनि नेपालका कम्युनिस्टहरूलाई मिलाउन आएको भनी चर्चा गरिएको छ । केही मानिसहरू एमाले र माओवादी केन्द्रबीचको एकतालाई पनि चीनकै सङ्केतमा भएको भन्ने अर्थमा व्याख्या गर्ने गरेका छन् । एकप्रकारले यो विश्लेषण विभाजित र टुटफुटको शिलशिला चलिरहेको कम्युनिस्ट आन्दोलनप्रतिको व्यङ्ग्य पनि हो । तर, मुख्यतः यो विश्लेषण चिनियाँ कम्युनिस्ट पार्टीको इतिहास र चरित्रबारे अल्पज्ञानको द्योतक पनि हो ।
चीनमा कम्युनिस्ट पार्टीको इतिहास मिहीनरूपमा बुझेका जो कोही पनि यस्ता तर्कप्रति कुनै पनि कोणबाट सहमत हुनसक्दैनन् । संसारभर कम्युनिस्ट आन्दोलन बलियो र लोकप्रिय भएको शुभेच्छा राख्नु चीनका कम्युनिस्टहरूमात्र होइन, संसारका सबै कम्युनिस्टहरूको निम्ति स्वाभाविक हो । कुनै पनि देशको श्रमिक वर्गको सङ्घर्ष र कम्युनिस्ट आन्दोलनप्रति ऐक्यबद्धता व्यक्त गर्नु कम्युनिस्ट अन्तर्राष्ट्रवादको मूल मर्म हो । कम्युनिस्टहरू साम्यवादी व्यवस्थामा राज्य र देश–देशबीच सीमा मेटिएको विश्वको परिकल्पना गरेको छ । तर, त्यो परिस्थितिसम्म पुग्न अझै पनि सङ्घर्षको लामो यात्रा छिचोल्नु पर्नेछ । अहिले तत्काल देश–देशबीचको सीमा मेट्ने र एक देशले अर्को देशमाथि कुनै पनि नाममा हस्तक्षेप वा दबाब दिनु कम्युनिस्ट अन्तर्राष्ट्रवादको भावनाविपरीत हो । तत्कालीन सोभियत सङ्घको कम्युनिस्ट पार्टीले कम्युनिस्ट अन्तर्राष्ट्रियको नाममा अन्य देश र कम्युनिस्ट पार्टीमाथि दबाब र हस्तक्षेप गर्दा ठूलो र अगुवा कम्युनिस्ट देश मानिएको सोभियत सङ्घको प्रतिरोधमा उभिनेहरू चिनियाँ र अल्बानियाली कम्युनिस्टहरू नै थिए । यस्तो इतिहासबाट अघि बढेको चिनियाँ कम्युनिस्टहरूले कुनै पनि देशको कम्युनिस्ट पार्टीलाई मिलाउनु वा फुटाउन खोज्यो भन्नु अपत्यारिलो प्रचारबाजीमात्र हो ।
चिलीका समाजवादी नेता एयेन्डेले चुनावमा बहुमत ल्याएपछि समाजवाद स्थापना गर्ने घोषणा गरे । त्यस विषयमा चिनियाँ कम्युनिस्ट पार्टीसँग छलफल गर्दा चिलीका समाजवादीहरूलाई चिनियाँ नेताहरूले भने, “हाम्रो अनुभवले चुनावबाट जितेको सरकारले समाजवाद स्थापना गर्न सक्दैन । तपाईंहरूले नयाँ प्रयोग गर्दै हुनुहुन्छ । शुभकामना ¤” यो चिनियाँ कम्युनिस्ट पार्टीले अर्को देशका पार्टीसँग राख्ने सम्बन्धको नमुना हो । त्यसकारण, चिनियाँ कम्युनिस्टहरू कुनै देशका कम्युनिस्टहरूसँग भेट्दा भन्छन्, “तपाईंहरूको अनुभवबाट हामी सिक्छौँ । हाम्रो अनुभवबाट तपाईंहरूले सिक्नुपर्छ । तर, अन्धनक्कल राम्रो कुरा होइन ।”
एमाले र माओवादीबीचको एकता एकले अर्कालाई आफ्नो सत्तालिप्सा पूरा गर्न प्रयोगका लागि अघि बढाइएको धूर्त राजनीतिक चालबाजीमात्र थियो । त्यसमा सिद्धान्त, विचार, समाजवाद र नेपाली कामदार जनताको हितको कुनै लिनुदिनु थिएन । उनीहरू स्वार्थका लागि एक ठाउँमा आए, स्वार्थ नमिलेपछि आपसमा सतोसराप गर्दै अलग भए । यसमा चीन र चिनियाँ कम्युनिस्ट पार्टीको दबाब देख्नु भारतीय हस्तक्षेपको कारण ‘साउनमा आँखा फुटेको गोरुले जहिल्यै हरियो देख्नु’ जस्तै हो ।
हलुका टिप्पणी गर्ने केही पत्रकार र बुद्धिजीवीहरू चिनियाँ राजदूत वा अधिकारीहरूको नेपाली नेताहरूसँगको भेटलाई ‘दबाब’ को कोणबाट व्याख्या गर्छन् । परिस्थितिको आकलन गर्न र आवश्यकताअनुसार राजदूतहरू र नेपाल भ्रमणमा आएका अधिकारीहरूले नेपाली नेता र पदाधिकारीहरूलाई भेट्नु सामान्य कूटनीतिक अभ्यास हो । तर, त्यसैलाई हस्तक्षेप देख्नु भने अपरिपक्वता हो । भारतीय राजदूतहरूले नेपाली नेतृत्वलाई भेट्नु सामान्य कूटनीतिक अभ्यास हो । तर, त्यसपछि आउने परिणामले ती भेटघाट सामान्य कूटनीतिक अभ्यासमा मात्र सीमित नभएको अनुभूति नेपाली जनतालाई दिलाउने गरेको छ ।
Leave a Reply