भर्खरै :

सिरहा गोलबजार नपाका जनप्रतिनिधि भक्तपुरमा

भक्तपुर, १४ चैत । सिरहा जिल्ला गोलबजार नगरपालिकाका प्रमुख, उपप्रमुखलगायत १६ जना जनप्रतिनिधिसहितको टोलीले सोमबार भक्तपुर नगरपालिकाको अध्ययन अवलोकन भ्रमण गरेको छ ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र जनप्रतिनिधिहरूसँग गोलबजार नगरपालिकाका प्रमुख देवनाथ साहको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले सोमबार भेट ग¥यो ।
भेटमा उहाँहरूबीच भक्तपुर नपाबाट सञ्चालित कलेजहरू, ख्वप अस्पताल र सम्पन्न विकास निर्माणका योजना तथा कार्यक्रम, सम्पदा पुनः निर्माणको अवस्थाबारे छलफल भयो ।
भेटमा नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाको सङ्क्षिप्त परिचय दिँदै २०७४ सालको स्थानीय तहको निर्वाचनबाट विजय हासिल गरेपछि नेमकिपाको घोषणापत्र, पार्टीको नीति र निर्देशनअनुसार भक्तपुर नगरपालिकाले देश र जनताको सेवा गर्दै आइरहेको बताउनुभयो । उहाँले भक्तपुरमा पठन संस्कृतिको विकास गर्न जनज्योति पुस्तकालयको स्तरोन्नति गर्नुका साथै वडा वडामा पुस्तकालयहरूको व्यवस्थामा जोड दिँदै आएको बताउनुभयो ।
भक्तपुर नपाले स्वास्थ्य क्षेत्रमा १०० बेडको ख्वप अस्पताल सञ्चालनको तयारीमा जुटेको बताउँदै जनतालाई सस्तो र सुलभ स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले ख्वप अस्पतालको स्थापना भएको हो भन्नुभयो ।
उहाँले भन्नुभयो, “देशका विभिन्न स्थानीय तहका जनप्रतिनिधिहरूसँगको अनुभव आदानप्रदानले हामीलाई काम गर्न अझ हौसला मिलेको छ ।”
भेटमा गोलबजार नगरपालिकाका प्रमुख देवनाथ साहले भक्तपुर नगरपालिकाले गरेको न्यानो स्वागतप्रति आभार प्रकट गर्दै १३ वटा वडामा विभाजित गोलबजार नपाले पनि शिक्षा, स्वास्थ्य र विकास निर्माणमा भक्तपुरको विकास मोडललाई सिको गरी आफ्नो नगरपालिकामा लागू गर्न कोसिस गर्नेे बताउनुभयो ।
गोलबजार नपाले २५ शय्याको आफ्नै अस्पताल सञ्चालन गर्ने तयारी गरिरहेको छ भन्दैै उहाँले गोलबजार नपाले सञ्चालन गर्ने जयगोविन्द शाह प्राविधिक कलेज सञ्चालनको लागि भक्तपुर नपाबाट आवश्यक सहयोगको अपेक्षा गर्नुभयो ।
भक्तपुर नपा र गोलबजार नपाका जनप्रतिनिधिबीच भएको भेटघाट कार्यक्रममा शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण र विकास मोडलबारे विभिन्न जिज्ञासाहरूबारे अन्तरक्रिया भयो ।
टोलीले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज, ख्वप उमावि, ख्वप अस्पताल, ख्वप इन्जिनियरिङ कलेज तथा ख्वप कलेज अफ इन्जिनियरिङ कलेज लगायतको अवलोकन गरेको थियो ।
नगर प्रमुख प्रजापतिले उक्त टोलीलाई स्वागत गर्दै नगरपालिकाद्वारा प्रकाशित प्रकाशनहरू उपहारस्वरुप प्रदान गर्नुभएको थियो ।
भेटमा भक्तपुर नपाका जनप्रतिनिधि, गोलबजार नपाका उपप्रमुख रेशमकुमारी थापा, वडाध्यक्षहरू देवबहादुर मगर, लक्ष्मण साह, धनप्रसाद लामा, राजदेव यादव, वसन्तकुमार लामा, जगतकुमार श्रेष्ठ, नागेन्द्रकुमार सिंह महतो, रामपुकार कामती, नगर कार्यपालिका सदस्यहरू गंगा कुमारी, उर्मिला कार्की, उमेशकुमार बराल, राजकुमार मुखिया, रामवृक्ष राय, नगर का.पा. सदस्य सचिव अनन्तकुमार पौडेल, प्राचार्य राजेन्द्र साहु, मेडिकल अधिकृत डा. रामकुमार साह, एमआईएस अपरेटर उज्ज्वल बि.क. र सहायक कम्प्युटर अधिकृत रामनारायण साहलगायतको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *