भर्खरै :

दल बदलको लहर

चुनावको मिति नजिकिएसँगै पार्टी अदलबदलका समाचार लगातार आइरहेको छ । ‘यो दलका यति मान्छे त्यो दलमा, अर्को दलका यति मान्छे अर्को दलमा पस्यो ।’ ‘फलाना नेता, कलाकार, समाजसेवी, उद्योगी, व्यापारी अर्को दलमा प्रवेश ।’ यस्ता समाचारसँगै राजनीतिक दलका नेताहरू हातमा खादा, फूलका माला र टीका नवप्रवेशीलाई लगाउँदै गरेका तस्बिर र श्रव्यदृश्यहरू समाचार माध्यम, अझ विशेषतः सामाजिक सञ्जालमा छाएको छ । शासक दलका नेता कार्यकर्ताहरू ‘चुनावी नतिजा आफ्नो पक्षमा पर्ने लहर सिर्जना गरेको’, ‘कार्यकर्ताहरूलाई उत्साहित बनाउन’ यस्ता कार्यक्रम गरेको बताउँछन् ।
तर, खासमा यस्ता कार्यक्रमले नेपाली समाजको भित्री तहसम्म बिस्तारित विकृति उजागर गरेको छ । राजनीतिमा विचार, सिद्धान्त र राजनीतिक चिन्तनप्रणाली गौण, लेनदेन र मुढेबल प्रधान भएको गलत सोचाइलाई यस्ता कार्यक्रमले प्रश्रय दिइरहेको छ । विशेषतः चुनावको मुखमा हुने यस्ता कार्यक्रमले राजनीतिक नेतामात्र होइन, सर्वसाधारणलाई समेत भ्रष्ट बनाइरहेको छ ।
राजनीति सिद्धान्त, विचार र कार्यक्रमको प्रतिस्पर्धा हो । जनताले आफ्नो अध्ययन, अनुभव र राजनीतिक परिस्थितिले ठीक मानेको राजनीतिक दललाई कार्यक्रम र सिद्धान्तको आधारमा मतदान, समर्थन वा विरोध गर्छन् । प्रजातान्त्रिक परिपाटीको खास मर्म यही हो । तर, जनतालाई आफ्नो सिद्धान्त, विचार र कार्यक्रमको न्यूनतम जानकारीसमेत नगराई टीका र अबिरको भरमा पार्टी सदस्य बनाउने सस्तो कामले राजनीतिक विकृति नेपाली समाजको भित्री तहसम्म पु¥याउन मद्दत गरिरहेको छ । यसरी सजिलै र सस्तै पार्टी प्रवेश गरेका राजनीतिकरूपमा अचेत जनता जसरी आएका हुन्छन्, त्यसरी नै अर्को दलमा प्रवेश पनि गर्ने गर्छन् । उनीहरूको निम्ति दल बदलको काम नैतिकता र सिद्धान्तको विषय होइन । एक छाक खाना, केही हजार रूपैयाँ र एक दुई जना मान्छेका लागि केही समयको रोजगारी वा भनसुनमा सीमित हुने गरेको छ । आज एक छाक खुवाउने दलमा प्रवेश गरेका मानिस भोलि अर्को दलले दुई छाक खुवाए सजिलै टीका लगाएर प्रवेश गर्छन् । यस्तो विकृति जनतालाई राजनीतिकरूपमा सचेत र आलोचनात्मक दृष्टिकोणको विकासमा अवरोध बनिरहेको छ । सर्वसाधारण जनताको आँखामा राजनीतिको गम्भीरता घट्दै गएको छ । राजनीतिक दल र नेताको छवि जनताबीच बदनाम हुँदै गएका छन् ।
कतिपय चर्चित भनिएका व्यक्तिहरू (सेलिब्रिटी) ले पनि राजनीतिक दल परिवर्तन गरी तिहुन चखुवाको व्यवहार देखाइरहेका छन् । चर्चित हुनुको कारण धेरै मानिसले चासो राख्ने त्यस्ता मानिसहरूका कुरा जनताले पनि सजिलै सुन्ने र पत्याउने भएकाले राजनीतिक दलका नेताहरू त्यस्ता ‘सेलिब्रिटी’ लाई पार्टी भित्र्याउन सजिलै तयार हुन्छन् । तर, आफ्ना स्वार्थ नमिलेपछि वा हावा अर्कैतिर बहन थालेपछि उनीहरू फेरि सजिलै अर्कै दलमा लाग्ने गरेका छन् । यस्तो प्रवृत्तिले अमुक राजनीतिक दललाई केही लाभ भएजस्तो देखिए पनि खासमा यसले राजनीतिक विकृतिलाई अझ जिद्दी बनाउँछ ।
विशेषतः भारतीय राजनीतिमा सुनिने यस्तो राजनीतिक विकृति र प्रवृत्ति हिजोआज नेपालमा अझ बढी देखिन थालेको छ । युगौँपछिको समयसमेतको आकलन गर्नुपर्ने राजनीतिक नेतृत्वले क्षणीय स्वार्थको निम्ति यस्ता विकृतिको पछि लाग्नु देश र भावी पुस्ताप्रतिको धोखामात्र होइन, आफ्नो सिद्धान्तको अवमूल्यन पनि हो ।
सचेत जनताले जथाभावी दल परिवर्तन गर्ने र चुनावी नतिजा प्रभावित बनाउने अवस्थाले राजनीतिक स्थायित्वमात्र प्रभावित बनाएको छैन, राजनीतिक विकृतिको जरा अझ गहिराइमा पु¥याउन भूमिका खेलिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *