भर्खरै :

नेपालको कम्युनिस्ट आन्दोलनमा अवसरवादको प्रश्न– १

(२०५३ कार्तिकमा एप्रोक्स हल (काठमाडौँ) मा आयोजित गोष्ठीमा प्रस्तुत कार्यपत्र, टिप्पणी र स्रोताको प्रश्नबारे स्पष्टीकरण र जवाफ)
नेपालको कम्युनिस्ट आन्दोलनमा अवसरवादको प्रश्नलाई अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको प्रकाशमा हेरिनुपर्छ । प्रकाशविनाको आँखाले ठम्याउन सक्दैन । यसकारण विश्व कम्युनिस्ट आन्दोलनमा अवसरवाद र त्यसको परिणामपछि मात्रै म नेपाल कम्युनिस्ट आन्दोलनको अवसरवादबारे छोटोमा टुङ्ग्याउन खोज्छु ।
अवसरवाद भनेको के हो ?
विश्व कम्युनिस्ट आन्दोलनमा धेरै लामो समयदेखि अवसरवादको विरोधमा सङ्घर्ष भइआएकै हो । मजदुर वर्गको अस्थायी र सानो हितको निम्ति वा लोभमा मुख्य हितहरूलाई छोड्नु नै अवसरवाद हो । विभिन्न देशमा फरक–फरक परिस्थितिमा अवसरवाद अगाडि बढेको देखिन्छ । बेलायती मजदुर आन्दोलनभित्रको अवसरवादबारे माक्र्स र एङ्गेल्सले अध्ययन गर्नुभएको थियो । संसारको सबभन्दा पुरानो पुँजीवादी राष्ट्र एक पुँजीवादी खान्दानी वर्ग र पुँजीपति वर्ग सँगसँगै एक पुँजीवादी सर्वहारा वर्ग बनाउने उद्देश्यतिर लम्किरहेको थियो ।
सन् १८८२ सम्ममा एङ्गेल्सले भन्नुभएको थियो, “बेलायतमा कुनै मजदुर पार्टी छैन । त्यहाँ पुनरुत्थानवादी र उदार परिवर्तनवादीहरू मात्र छन् । बेलायती उपनिवेशवादीहरू संसारको बजारमा आफ्नो एकहत्ती कायम गर्दा बेलायती मजदुरहरू पनि खुसी हुन्छन् र साधारण राजनीतिबाटै बेलायती मजदुर पनि पुँजीवादीहरूजस्तै सोच्छन् ।
माक्र्सवादमा हेरफेर
माक्र्स र एङ्गेल्सको निधनपछि विश्व कम्युनिस्ट आन्दोलनमा अवसरवादीहरूले माक्र्सवादको सारमै हेरफेर गर्ने वा संशोधन गर्ने विचार अगाडि सारे । सशस्त्र क्रान्तिबाट सर्वहारा वर्गले पुँजीवादी राज्यसत्तालाई ध्वस्त पारेर सर्वहारा वर्गको हुकुममार्फत समाजवादको स्थापना गर्नु नै माक्र्सवादको सार हो ।
वर्नस्टिनले पुँजीवाद शान्तिपूर्ण तरिकाले नै ‘समाजवादमा विकास’ हुन्छ । ‘पुँजीवादी राज्य व्यवस्थालाई ध्वस्त पार्नु पर्दैन’ बरु बढी विकास गर्नुपर्छ । ‘चुनाव, जुलुस र यस्तै प्रकारको दबाबले’ पनि सुधार गर्न सकिन्छ । पहिले रगत बगाउनु पर्ने कुराहरूमाथि पनि अब शान्तिपूर्वक नै हुनसक्छ । ‘बल प्रयोग’, ‘सत्ता हातमा लिने’ र ‘हुकुम’ को कुरा गर्नु आवश्यक छैन । ‘आन्दोलन नै सब कुरा हो, अन्तिम लक्ष्य केही पनि होइन’ भने ।
त्यस्तै काट्स्कीले ‘वर्गसङ्घर्ष’ गर्न सशस्त्र सङ्घर्ष गर्नुपर्दैन र हिंसात्मक उपायले ‘पुँजीवादी राज्यसत्ता पल्टाउने कुरा राम्रो होइन’, ‘संसद्मा बहुमत प्राप्त गरेरै’ राज्यसत्तामा विजय पाउने कुरा गरे ।
हरेक नयाँ परिस्थितिअनुसार आफ्नो व्यवहार बनाउनु, आफूलाई आफैले त्यसै बेलाका घटनाहरू र राजनैतिक हावापानीअनुसार फेरिदिनु, सारा पुँजीवादी व्यवस्था र सारा पुँजीवादी विकासलाई बिर्सिदिनु, सर्वहारा वर्गको मुख्यमुख्य हितहरूलाई झूटो र अस्थायी फाइदाको निम्ति दीर्घकालीन फाइदाहरूलाई बलिको बोका बनाइदिनु नै संशोधनवादको नीति हो । लेनिनको यस व्याख्याले दक्षिणपन्थी अवसरवाद र संशोधनवाद एउटै आजुमा पुग्छ ।
पुँजीवादको उदय स–साना उत्पादनको आकारबाट विकास भएको हुन्छ र नयाँ नयाँ ‘मध्यम वर्ग’ पनि जन्माउँदै जान्छ । पुँजीवादी देशमा ती स–साना पुँजीपतिहरू पनि सर्वहारा वर्गमा आएर मिसिन्छन् । यसरी मजदुर पार्टीहरूबीचमा बरोबर स–साना पुँजीपति वर्गको दृष्टिकोण पनि माथि आउन थाल्दछ । यसकारण, ‘दोस्रो इन्टरनेसनलको ध्वंशस’ मा लेनिनले भन्नुभयो, “विशेषाधिकार प्राप्त श्रमिकहरू एक लहर तुलनात्मकरूपले धेरै शान्तिपूर्ण र सुसंस्कृत जीवन बिताउँथे । त्यसले तिनीहरूलाई पुँजीवादी बनाइदियो । तिनीहरूलाई आफ्नै राष्ट्रिय पुँजीको नाफाबाट एक टुक्रा दिलाइयो र तिनीहरूलाई बर्बाद भएको र गरिबीले ग्रस्त जनताको दुःख, कष्ट र क्रान्तिकारी भावनाबाट अलग्ग गराइदियो ।”
श्रमिक आन्दोलनभित्र मतभेद ल्याउनु र कहिलेकाहीँ आन्दोलनलाई सीधै फाटोसम्म चर्काउनु पुँजीवादी काम कारबाही र दाउपेच हुन् । यसकारण, १९५७ सम्ममा मस्को बैठकले संशोधनवाद वा दक्षिणपन्थी अवसरवादलाई पुँजीवादी विचारधाराबाट जन्मेको र त्यसले मजदुर वर्गको क्रान्तिकारी शक्तिलाई बुच्चो बनाउने खतरालाई औँल्याएको थियो ।
श्रमिक पार्टीले परिवर्तन ल्याउन सकेन
पहिलो विश्व युद्ध सुरु हुनुभन्दा पहिले पुँजीवादी र साम्राज्यवादी सरकारहरूले आ–आफ्नो आक्रमणको योजनालाई अगाडि बढाउन मजदुरहरूको एक हिस्सालाई आफूपट्टि तान्न र अन्तर्राष्ट्रिय मजदुर आन्दोलनमा समेत फुट ल्याउन राष्ट्रियता र पितृभूमि बचाउको नारा दिए । युरोपमा विभिन्न देशका मजदुर नेताहरूले ती नाराहरूकै आडमा आ–आफ्नो सरकारको समर्थन गरे वा सरकारमा भाग लिए । लेनिन र बोल्शेभिक पार्टीले त्यस अन्धराष्ट्रवाद र सामाजिक साम्राज्यवादको विरोधमा तेस्रो इन्टरनेसनल बोलाउने निर्णय गरे । आखिर ती अन्धराष्ट्रवादी नेताहरू पुँजीवादी भासबाट कहिल्यै उम्कन सकेनन् ।
त्यस्तै बेलायतको श्रमिक पार्टीको उदाहरण पनि नेपालको आजको दक्षिणपन्थी अवसरवादको निम्ति एक राम्रो शिक्षा हुनेछ । बेलायतको श्रमिक पार्टीले सन् १८८५ मा पहिलो पटक आफ्ना केही सदस्यहरूलाई प्रजातन्त्र र समाजवादको लडाइँ जित्ने उद्देश्य लिएर संसद्मा पठाउन सफल भएको थियो । सन् १९१८ मा त्यस पार्टीले औपचारिकरूपले समाजवादी उद्देश्यलाई पारित ग¥यो । १९३७ मा श्रमिक पार्टीको सरकार बनेमा ठूल्ठूला उद्योगहरूलाई सामूहिक स्वामित्वमा राख्ने घोषणा ग¥यो । सन् १९४४ मा त्यसले निजी उद्योग सार्वजनिक नियन्त्रणमा राख्ने घोषणा गरेको थियो ।
दोस्रो विश्वयुद्धको बेला श्रमिक नेताहरूले चर्चिलको संयुक्त सरकारमा काम गरिसकेका थिए । त्यसबेला युरोप र बेलायतमा सोभियत सङ्घको प्रभाव बढ्दै थियो । विश्व व्यापारमा बेलायतको प्रभुत्व कमजोर हुँदै थियो । भारत र अन्य बेलायती उपनिवेशहरूको स्वतन्त्रता आन्दोलन विद्रोहहरूले समुद्रपारका लगानीहरू बेच्नुपर्ने स्थिति उत्पन्न भयो । ऋण लाग्यो, मुख्य मुख्य आधारभूत संरचना पुराना र काम नलाग्ने भए ।
बेलायती साम्राज्यवादले आफ्नो घाटा पूर्ति गर्न, आफ्नो साम्राज्य कायमै राख्न, नाफाको रक्षा गर्न र औपनिवेशिक मुक्ति सङ्घर्षसँग जुझ्न दीर्घकालीन उपायहरू सोच्न थाल्यो । किनभने, धेरै दिनसम्म राजनैतिक स्वतन्त्रतालाई अस्वीकार गरिरहन सकिन्नथ्यो । यसकारण, उसलाई ठूलो सैनिक शक्तिको आवश्यकता थियो । त्यसको निम्ति समुद्रपारका लगानी र व्यापारलाई पुनः निर्माण गर्न केही आधारभूत उद्योगहरूलाई पुँजीपति वर्गकै अनुकूल सर्तहरूमा राष्ट्रियकरण गर्न लगाउन र अन्य उद्योगलाई बढी सस्तोमा सेवा दिन राज्यले आफ्नै खर्चमा आधुनिकीकरण गराउने नयाँ उपाय ग¥यो । साथै सामाजिक परिवर्तनको निम्ति भइरहेको दबाबकै कारण अनुदारवादीहरूले नै पारिवारिक भत्ता बढाउने, स्वास्थ्य, शिक्षा, बेकारी आदिबारे केही सुविधा दिने विधेयकहरू तयार गरिसकिएकै थियो ।
सोभियत सङ्घको बढ्दो प्रभाव, जनताको दबाब, ¥हासोन्मुख बेलायती साम्राज्यले सास फेर्न खोज्नु, चर्चिलकै संयुक्त सरकारमा बस्दा अनुदारवादीहरूले भन्दा पुँजीवादलाई अझ बेहत्तर ढङ्गले चलाउन सकिन्छ भन्ने श्रमिक नेताहरूमा सत्ताप्रतिको मोह जाग्नु आदि पृष्ठभूमिमा सन् १९४५ को महानिर्वाचन भयो । त्यसबेला श्रमिक पार्टीले आफ्नो कार्यक्रममा आफूलाई एक समाजवादी पार्टी भनी घोषणा ग¥यो । चुनावमा श्रमिक दलले १ करोड २० लाख मत ल्याई बहुमत (१४६ स्थान) प्राप्त ग¥यो । त्यो ४८.९ प्रतिशत मत थियो । अनुदार पार्टीले १ करोड मत अर्थात् ३९.८ प्रतिशत मत प्राप्त गरेको थियो ।
सरकारमा पुगेपछि श्रमिक पार्टीले समाजवादी व्यवस्था लागू गरेन भन्यो । रातारात समाजवाद आउँदैन । कुनै सामाजिक परिवर्तन भएन, पुँजीवाद जस्ताको तस्तै रह्यो । अल्पमत धनाढ्यहरूको नियन्त्रणमा राज्यसत्ता रह्यो, बहुमत जनता शोषित नै रहे ।
सरकारले केही जर्जर उद्योगहरूलाई पुँजीपति वर्गको सर्तमा राष्ट्रियकरण गर्यो वा राज्यकै ठूलो धन राशी खर्च गरेर आधुनिकीकरण गरी निजी उद्योगधन्दालाई ग्लुकोज प्रदान ग¥यो । ८० प्रतिशत निजी क्षेत्रले २० प्रतिशत सार्वजनिक क्षेत्रमाथि शासन गर्दै रह्यो । मिश्रित भनिएको अर्थतन्त्रको रूप यस्तो थियो । ठूल्ठूला एकाधिकारीहरूले नै उच्च ओहदामा बसेका अधिकारीहरूलाई नियन्त्रण गर्थे । श्रमिक सरकार त निजी नाफाको निम्ति गुप्त अनुदानको स्रोत रह्यो । अर्थतन्त्र ठूल–ठूला उद्योग र व्यवसायीहरूकै हातमा रह्यो ।
सन् १९५० को निर्वाचनमा श्रमिक पार्टीको मत १ करोड ३० लाख अर्थात् ४६.१ प्रतिशत पुग्यो । तर, अनुदार दलले १ करोड २५ लाख अर्थात् ४३.५ प्रतिशत मत प्राप्त गर्यो र श्रमिक पार्टीको ६ स्थान घट्यो ।
परराष्ट्र नीतिमा श्रमिक पार्टी चर्चिलको अनुदारवादी पार्टीकै पदचिह्नमा हिँड्यो । ग्रीसको प्रजातान्त्रिक आन्दोलनको दमन, इन्डोनेशियामा डच साम्राज्यवादलाई सहयोग, मलायाली जनताको स्वतन्त्रता आन्दोलनको दमन, मध्यपूर्वमा साम्राज्यवादी नीति नै चालू आदि यसका उदाहरण हुन् । त्यस्तै श्रमिक सरकारले नाइजेरिया, युगान्डा र घानाको विद्रोहलाई दबायो । इरानको तेललाई राष्ट्रियकरण गर्न रोक्यो, कोरियाली युद्धमा अमेरिकाले साथ दियो । साथै समाजवादी भन्ने श्रमिक सरकार सोभियतविरोधी नाटोमा सामेल भयो । पश्चिम जर्मनीलाई पुनः सशस्त्रीकरण गर्न समर्थन ग¥यो र अमेरिकी आणविक बमहरू बेलायतमा रहन दियो ।
त्यसबाहेक त्यस सरकारले बेलायती जनताकै बेकारी समस्या, फासीवादविरोधी सङ्घर्ष, हडताल र प्रदर्शनमाथि प्रतिबन्ध लगायो । कोरिया युद्धविरोधी सङ्घर्षलाई दबायो । तल्लो वर्गका जनताले कम ज्याला र मूल्यवृद्धिलाई झेल्दै गए ।
सन् १९५१ को महानिर्वाचनमा श्रमिक पार्टीले १ करोड ४० लाख मत अर्थात् ४८.८ प्रतिशत मत प्राप्त गर्यो भने अनुदार वा पुनरुत्थानवादी टोरी दलले पनि झन्डै उति नै (४८ प्रतिशत) मत प्राप्त गर्यो र श्रमिक पार्टीको २१ स्थानसमेत छिनेर टोरी पाटी पुनः सत्तामा पुग्यो । श्रमिक पार्टी पछि पनि पुनः सत्तामा पुग्यो । तर, बेलायतको सामाजिक जीवनमा कुनै मौलिक परिवर्तन भएन । किन ? यसका उत्तर हुन्–
क) श्रमिक पार्टीको दृष्टिकोण वर्ग विश्लेषणमा आधारित थिएन । बरु पुँजीवादलाई विस्तारै विस्तारै त्यसको खराबीहरूबाट मुक्ति दिलाउन सकिन्छ भन्ने भ्रममा विश्वास गथ्र्यो ।
ख) श्रमिक पार्टी व्यवहारमा वर्गसङ्घर्षको विरोध गथ्र्यो र वर्गसमन्वयको भासमा उम्कनै नसक्ने गरी फसेको थियो ।
ग) श्रमिक पार्टी पुँजीवादी शक्तिको अगाडि हीनताबोध र त्रासबाट पीडित थियो । साथै उसमा मजदुर वर्गको अन्तरनिहित शक्तिमाथि विश्वासको अत्यन्त ठूलो अभाव थियो ।
घ) श्रमिक पार्टीले मजदुर आन्दोलनको भित्रसम्म पुँजीवादी विचारको प्रभाव पु¥याइसकेको थियो ।
ङ) पार्टीका माथिल्ला नेतृत्व गुटले पार्टीलाई नियन्त्रण गरेको थियो र त्यसले सम्मेलनका निर्णयहरू समेत बङ्ग्याउने र भाँचकुँच गर्ने गथ्र्यो तथा निर्वाचन प्रणालीलाई ध्यान दिएरमात्रै सदस्यता दिन्थ्यो ।
च) तल्ला कार्यकर्ताहरू समाजमा मौलिक परिवर्तन चाहन्थे तर त्यसको नेतृत्व भने मजदुरहरूका केही सहुलियत प्राप्त अल्पमतको प्रभुत्वमा थियो ।
बेलायतको श्रमिक पार्टीमा उपरोक्त दृष्टिकोण, क्रियाकलाप र स्थितिले के नेपालको वर्तमान दक्षिणपन्थी अवसरवादलाई सम्झना गराउँदैन ?
अब मैले यहाँ फ्रान्सेली, इटालियाली र स्पेनियाली दक्षिणपन्थी अवसरवाद अथवा इन्डोनेसिया र चिलीको कम्युनिस्ट पार्टीहरूको सत्ता हिस्सेदारी वा सरकारको पतन र दमनबारे उल्लेख गरिरहनै परेन ।
श्रमिक पार्टी र एमाले
हो, अवसरवाद दुई प्रकारका छन्– वामपन्थी अवसरवाद र दक्षिणपन्थी अवसरवाद । क्रान्तिको परिस्थिति परिपक्व नहुँदै क्रान्तिको आह्वान वामपन्थी अवसरवाद हो भने क्रान्तिको परिस्थिति परिपक्व भइसक्दा पनि क्रान्तिको निम्ति काम नगर्नु वा परिस्थितिलाई परिपक्व बनाउन अस्वीकार गर्नु दक्षिणपन्थी अवसरवाद हो । झापाको व्यक्ति हत्यादेखि को–अर्डिनेसनको काल नरोदनिक र वामपन्थी अवसरवादी थियो भने एमालेको वर्तमान अवस्था दक्षिणपन्थी अवसरवादी काल हो ।
२०४६ सालको आन्दोलनलाई फ्रेबुअरी क्रान्तिसँग दाज्न नखोज्नु, करेन्स्की र चर्चिलको सरकारमा मेन्सेभिक र श्रमिक पार्टीले भाग लिएजस्तै अन्तरिम सरकारमा एमालेले भाग लिनु, बहुदलीय जनवादको अर्थ जनताको प्रजातन्त्र (एभयउभिुक म्झयअचबअथ) को रूपमा लिनु, संसद्बाटै राज्यसत्तामा पुग्ने र त्यसबाटै समाजमा मौलिक परिवर्तन वा समाजवादको कल्पना गर्नु, अल्पमतको सरकारमा गएर टनकपुर, दासढुङ्गा, १९५० को नेपाल–भारत सन्धि, मल्लिक आयोग, भूमिसुधारजस्ता समस्या छिनोफानो नगर्नु, हाइटीमा अमेरिकी छातामुनि नेपाली सेना पठाउनु, आफ्नो देशको सरकारको पतन र निर्माणबारे भारत र अमेरिकी दूतावासमा तय गर्न खोज्नु के दक्षिणपन्थी अवसरवाद अथवा बेलायती श्रमिक पार्टीकै अर्को रूप होइन ? हो, बेलायतको श्रमिक पार्टीलाई अहिले पुँजीवादी पार्टी नै भन्ने गरिन्छ । बेलायतमा पालैपालो शासन गर्ने अनुदार र उदार पुँजीवादी पार्टीमध्ये त्यो पनि एक हो । नेपालमा अब एमाले पनि पालैपालो शासन गर्ने एक पुँजीवादी पार्टीमा पतन भएको छ । राडार काण्ड, मल काण्ड, चिनी काण्ड, अनेक नियुक्ति, रिहाइ, कमिसन, भ्रष्टाचार, घूस आदि अनेकानेक घटनाहरूले एमालेलाई नेपाली काङ्ग्रेस, राप्रपा र सद्भावना पार्टीभन्दा माथि र फरक देख्नुपर्ने कुनै ठोस आधार फेला पर्दैन । अन्य कम्युनिस्ट पार्टीहरूलाई फुटाउन र अरूमाथि हात हाल्नु र दमन कार्य गर्नु र गराउनमा उसको हात हुनुले के वामपन्थीहरूले नै गर्ने काम एमालेले गरेको भन्न मिल्छ ? यदि एमालेले अन्य कम्युनिस्ट या वामपार्टीहरूलाई तोडफोड गर्ने, भत्काउने, बिगार्ने र दमन गर्ने कामलाई न्यायोचित ठहर¥याउन खोज्छ भने ने.का., रा.प्र.पा. र सद्भावनालाई के भन्ने ? (आजको सन्दर्भमा नेकपा (माओवादी) ले पनि अन्य वाम पार्टी र तिनका कार्यकर्तामाथि गरेको ‘ज्यादती’ लाई न्यायोचित ठहर¥याउन सकिन्न ।)
नेपालको कम्युनिस्ट आन्दोलनलाई अघि बढाउन आज वामपन्थी अवसरवाद मुख्य बाधक छ भने अराजकतावाद र माक्र्सवादबारे भेद छुट्याउनु पनि त्यति नै जरुरी छ । नेपालको दक्षिणपन्थी अवसरवाद र संशोधनवादको भित्री स्रोत सामन्ती र पुँजीवादी वर्ग चरित्र हो भने बाहिरी स्रोत निर्वाचनबाटै वा संसदीय बाटोबाटै सत्तामा पुग्न सक्ने परिस्थिति हो । त्यस वर्ग चरित्रलाई उदाङ्ग्याउन र त्यस परिस्थितिलाई बदल्न सकेमात्रै नेपालको कम्युनिस्ट आन्दोलनलाई सही बाटोमा अगाडि बढाउन सकिने छ ।
एमालेको अल्पमतको सरकार वास्तवमा नेपाली काङ्ग्रेस र राप्रपाको अर्थात् पुँजीवादी गोटी चालको शिकार हो भन्ने हाम्रो ठम्याइ रह्यो । बेलायती पुँजीवादले बेलायती मजदुरलाई उपनिवेशको शोषणको भागबाट सहुलियतको नाममा घूस दिएजस्तै नेपालको पुँजीवादले नेपालको कम्युनिस्ट आन्दोलनमा फाटो ल्याउन दिएको एमालेलाई ९ महिने सरकार पहिलो किस्ते घूस हो । यसप्रकार एमाले एक शासक पार्टी अर्थात् श्री ५ को सरकार र श्री ५ को प्रतिपक्ष बन्यो । अब ऊ पालैपालो जनतामाथि शासन गर्ने एक पुँजीवादी पार्टीमा पतन भएको छ ।
का. रोहितको स्पष्टीकरण र जवाफ
(नेमकिपाका अध्यक्ष का. नारायणमान बिजुक्छेँ (रोहित) द्वारा प्रस्तुत कार्यपत्रमाथि श्री रुद्र खरेलले टिप्पणी गर्नुभएको थियो । प्रस्तुत छ, उक्त टिप्पणी र स्रोताहरूको प्रश्नबारे का. रोहितको स्पष्टीकरण र जवाफको सारसङ्क्षेप)
सकेसम्म म हिन्दी र उर्दू शब्द वा लवजहरूबाट जोगिने गर्छु । ‘ढुलमुल’ ‘बाबजुद’ ‘लफ्फाजी’ जस्ता शब्दहरू मेरो लेखाइमा प्रयोग नहोस् । सकेसम्म नेपाली भाषा र शैलीमै अभिव्यक्ति होस् भन्ने खोज्छु । हाम्रा पुराना नेता वा अग्रदूतहरू हिन्दुस्तानको स्वतन्त्रता आन्दोलन र कम्युनिस्ट आन्दोलनसँग प्रभावित हुनुहुन्थ्यो । उहाँहरूको बोलाइ र लेखाइमा स्वाभाविक रूपले उर्दू र हिन्दी शब्दहरू हाम्रो साहित्यमा आउँदा थाहा नपाएर पनि धेरै अप्ठ्याराहरू भएका छन् । त्यसकारण लेखाइका शैलीहरू पनि अलि फरक हुनुपर्दो रहेछ । कार्यपत्रलाई सकेसम्म सरल र छोटो बनाउने उद्देश्य राखेँ । अवसरवाद के हो र कसरी उत्पन्न हुन्छ भन्ने कुरो मैले लेखेँ ।
अवसरवादको परिभाषा त हिजो मैले दिएँ र त्यो मेरो आफ्नो परिभाषा नभइकन एङ्गेल्स र लेनिनको परिभाषालाई नै लिएको थिएँ र व्यक्तिगत परिभाषा भन्नुभन्दा माक्र्सवादी–लेनिनवादी र माओ त्सेतुङ विचारधाराअन्तर्गत बसेरै त्यो परिभाषालाई मैले प्रस्तुत गरेको थिएँ र त्यही उपयुक्त देखेँ ।
बाँकी भोलिको अङ्कमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *