‘पार्टी भिन्न भए तापनि शासक पार्टीहरूको नीतिमा तात्विक भिन्नता छैन’
- जेष्ठ १७, २०८३
भक्तपुर, २० जेठ । नेपाल क्रान्तिकारी मजदुर सङ्घ भक्तपुर जिल्ला समितिको आयोजनामा ‘श्रमिक’ साप्ताहिकबारे अन्तरक्रिया कार्यक्रम मङ्गलबार भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले कार्यकर्ताहरू व्यक्तिगत स्वार्थ र लोभमा फस्न नहुनेतर्फ सचेत गराउँदै राजनीतिकरूपमा सचेत हुन पार्टी प्रकाशनहरू नियमितरूपमा अध्ययन गरी छलफल कार्यक्रम चलाउनु जरुरी छ भन्नुभयो ।
राजनीति देश र जनताको निःस्वार्थ सेवा गर्ने क्षेत्र भएको स्पष्ट पार्दै सचिव सुवालले भन्नुभयो, “राजनीतिमा उमेरको पुस्तान्तरण वा पुरानो विचार लिने नयाँ पुस्ताको अर्थ छैन बरू, नीति परिवर्तनको महत्व हुन्छ ।”
दक्षिणपन्थीको अर्थ प्रतिगामी वा प्रतिक्रियावादी हुने उल्लेख गर्दै उहाँले संरा अमेरिका, भारत, इजरायल, इटाली, फ्रान्स, जर्मनीलगायत कतिपय देशमा दक्षिणपन्थी सरकार गठन भएजस्तै नेपालमा पनि दक्षिणपन्थी सरकार बन्नु खतरा भएकोतर्फ कार्यकर्ताहरू सतर्क भई जनतालाई सचेत गर्नु जरुरी छ भन्नुभयो ।
नेक्रामजदुर सङ्घका केन्द्रीय उपाध्यक्ष उपेन्द्र सुवालले मजदुरहरूको वास्तविक दुःख कष्ट, समस्याबारे शासक पार्टीहरूको ध्यान नगएको र पँुजीवादी सरकारले मजदुरहरूको हित नगर्नेबारे मजदुर सङ्घका साथीहरू स्पष्ट हुनु जरुरी छ भन्नुभयो ।
आयोजक समितिका अध्यक्ष विष्णुराम दुमरूको सभापतित्वमा भएको उक्त कार्यक्रममा गणेशप्रसाद सुवाल, रामसुन्दर सुवाल, रामकृष्ण बखुन्छे, पञ्चरत्न सैजू, विक्रम ढुकुछुलगायतले ‘श्रमिक’ साप्ताहिकबारे आ–आफ्नो धारणा राख्नुभएको थियो । आयोजक समितिका रमेश दुमरुले कार्यक्रमको औचित्यबारे प्रस्ट पार्नुभएको थियो ।
Leave a Reply