भर्खरै :

नेपालको कम्युनिस्ट आन्दोलनमा अवसरवादको प्रश्न– २

का. रोहितको स्पष्टीकरण र जवाफ
(नेमकिपाका अध्यक्ष का. नारायणमान बिजुक्छेँ (रोहित) द्वारा प्रस्तुत कार्यपत्रमाथि श्री रुद्र खरेलले टिप्पणी गर्नुभएको थियो । प्रस्तुत छ, उक्त टिप्पणी र स्रोताहरूको प्रश्नबारे का. रोहितको स्पष्टीकरण र जवाफको सारसङ्क्षेप)
सकेसम्म म हिन्दी र उर्दू शब्द वा लवजहरूबाट जोगिने गर्छु । ‘ढुलमुल’ ‘बाबजुद’ ‘लफ्फाजी’ जस्ता शब्दहरू मेरो लेखाइमा प्रयोग नहोस् । सकेसम्म नेपाली भाषा र शैलीमै अभिव्यक्ति होस् भन्ने खोज्छु । हाम्रा पुराना नेता वा अग्रदूतहरू हिन्दुस्तानको स्वतन्त्रता आन्दोलन र कम्युनिस्ट आन्दोलनसँग प्रभावित हुनुहुन्थ्यो । उहाँहरूको बोलाइ र लेखाइमा स्वाभाविक रूपले उर्दू र हिन्दी शब्दहरू हाम्रो साहित्यमा आउँदा थाहा नपाएर पनि धेरै अप्ठ्याराहरू भएका छन् । त्यसकारण लेखाइका शैलीहरू पनि अलि फरक हुनुपर्दो रहेछ । कार्यपत्रलाई सकेसम्म सरल र छोटो बनाउने उद्देश्य राखेँ । अवसरवाद के हो र कसरी उत्पन्न हुन्छ भन्ने कुरो मैले लेखेँ ।
अवसरवादको परिभाषा त हिजो मैले दिएँ र त्यो मेरो आफ्नो परिभाषा नभइकन एङ्गेल्स र लेनिनको परिभाषालाई नै लिएको थिएँ र व्यक्तिगत परिभाषा भन्नुभन्दा माक्र्सवादी–लेनिनवादी र माओ त्सेतुङ विचारधाराअन्तर्गत बसेरै त्यो परिभाषालाई मैले प्रस्तुत गरेको थिएँ र त्यही उपयुक्त देखेँ ।
श्रमिक पार्टी र एमालेको तुलना
जहाँसम्म बेलायतको श्रमिक पार्टीसँग सम्बन्ध जोड्ने प्रयास भयो भन्ने कुरा छ, अवसरवाद र संशोधनवाद भनेकै मजदुर आन्दोलनभित्रको निम्न पुँजीवादी र पुँजीवादी विचारधारा हो । त्यसकारण, मजदुर आन्दोलनसँग त्यसलाई अलग्ग पार्नु हुन्न । बेलायतको श्रमिक पार्टी पनि सुरु–सुरुमा मजदुर वर्गकै पार्टी भएको हुनाले त्यसले आफ्नो लक्ष्य समाजवाद बनाएको हुनाले त्यो कसरी, कुन कुन स्थितिबाट पुँजीवादी पार्टीमा पतन भयो या विचलन भयो भन्ने कुरा स्पष्टरूपले हाम्रा सहभागीहरूको अगाडि या हाम्रा पाठकहरूको अगाडि प्रस्तुत गर्न खोजेको हुँ । कुनै पनि व्यक्ति या पार्टी एकैबाजी अर्थात् तुरुन्तै गद्दार वा बेइमान हुँदैन, एक एक पाइला गरेर संशोधनवादी हुन पुग्छ । जसरी विकास एक एक पाइला गरेर हुन्छ, त्यसरी नै पतन पनि एक एक पाइला गरेर हुन्छ– जानेर होस् या नजानेर होस् । त्यसकारण, मैले कार्यपत्रको सुरुमै त्यसलाई स्पष्ट होस् या देखिने होस्, त्यो अलि ‘अमूर्त’ नहोस् भन्ने हिसाबले नै श्रमिक पार्टीको उदाहरण दिएको हुँ । किनभने नेपालको कम्युनिस्ट आन्दोलन या मजदुर आन्दोलनमा श्रमिक पार्टीको विषयमा सा¥है कम चर्चा भएको छ । हाम्रो आन्दोलनमा यो एक अध्ययनको विषय पनि बनोस् भनेर मैले जानाजानी कोसिस गरेको हुँ ।
हरेक पार्टीले एक न एक वर्गको प्रतिनिधित्व गरेको हुन्छ । वर्गको प्रतिनिधित्वको आधारमै त्यस पार्टीको निर्माण पनि हुन्छ । त्यसमा मतभेद छैन । मजदुरहरूको हक र हितको निम्ति बनेको मजदुर पार्टी एक एक पाइला गरेर कसरी पुँजीपति वर्गको पार्टीमा पतन भयो ? यही कुरो एमालेको विषयमा पनि लागू हुन्छ । कुनै पार्टीले आफ्नो घोषणापत्रमा के कुरा लेख्छ भन्दा पनि घोषणापत्रअनुसार उसले काम गरेको छ कि छैन भन्ने हेर्नुपर्ने इन्छ । साथसाथै कहिलेकाहीँ माथिल्लो वर्गबाट आएको मान्छेलाई नेतृत्वमा राख्दा उसले विचलन गर्ने सम्भावना भएकोले नेतृत्वमा तल्लो वर्गकै हुनुपर्छ भन्ने धारणा र दृष्टिकोण बन्यो । एकचोटि चीनमा मजदुर वर्गकै मानिसलाई नेतृत्वमा ल्याएको थियो । तर, नेतृत्व सम्हाल्न नसकेपछि नेतृत्वमा फेरि परिवर्तन गर्नुपरेको थियो । त्यस्तै ख्रुश्चेभ स्वयं पनि कोइला खानीको मजदुर थियो तर उसले ‘पुँजीवादी’ विचारधारा लिएको हुनाले एक एक पाइला गरेर आफ्नो पार्टी र सरकारलाई संशोधनवाद र सामाजिक–साम्राज्यवादमा पतन गराएको मात्र होइन त्यस देशका पछिल्ला नेतृत्वले पुँजीवादको पुनस्र्थाापनासमेत ग¥यो र सोभियत सङ्घसमेत विश्रृङ्खलित गरायो । तर, एमाले मजदुर वर्गको प्रतिनिधित्व गरेको पार्टी भएको हुनाले त्यसलाई ्र प्रतिकृयावादी भन्न मिल्दैन भन्ने जहाँसम्म प्रश्न छ– के कारणले उसलाई त्यसो भनिएको हो र कसरी त्यो पुँजीवादी पार्टीमा पतन भयो भन्नेबारे प्रश्न उठ्नु स्वाभाविकै हो । यसकारण, अब हामी एमालेले गर्ने कार्यहरू के कस्ता छन् भनी हेरौँ ।
पार्टीको आधार वर्ग
हरेक राजनीतिक पार्टीले एक न एक वर्गको दृष्टिकोण अङ्गालेको हुन्छ । एक वर्गको पक्ष र अर्को वर्गको विपक्षमा काम गरेको हुन्छ । तर, नेका, राप्रपा, अन्य प्रतिकृयावादी पार्टी र एमालेको एउटै कार्यक्रम र एउटै घोषणापत्र देखिन्छ । त्यो कसरी हुनसक्छ ? निजीकरणको बारेमा एमाले, नेपाली काङ्ग्रेस र राप्रपाको समान दृष्टिकोण छ । द्वैधस्वामित्व (जमिनमा द्वैधस्वामित्वबारे) तीनवटै पार्टीको एउटै दृष्टिकोण छ । साथसाथै भारतीय एकाधिकार पुँजीबारे एमालेले यदाकदा, कतै विरोध गरेको भए तापनि ऊ सरकारमा गएपछि भारतीय एकाधिकार पुँजीको विरोधमा एक पाइला पनि चालेको देखिन्न । यसकारण, लेनिनले भन्नुभएजस्तै मुखले के भन्छ भन्ने करा महत्वपूर्ण होइन, उसले व्यवहारमा के काम गर्छ भन्ने कुरा महत्वपूर्ण हो ।
एमालेका कति साथीहरूसँग मेरो राम्रो र मित्रवत् सम्बन्ध छ, कसैसँग मेरो व्यक्तिगत तिक्तता छैन । सँगै बसेर हामी सङ्घर्ष पनि गर्दै आएका छौँ– जेलमा होस्, प्रवासमा होस् या सबै ठाउँमा सँगै थियौँ । व्यक्तिगत कुरासँग धेरै महत्व राख्दैन, बरु सिद्धान्तसँग राख्छ । सिद्धान्तको कुरामा मैले एमालेसँग टड्कारोरूपले भिन्नता राखेको हुँ । कहिलेकाहीँ व्यवहारले र स–साना घटनाहरूको श्रृङ्खलाबाट को, कहाँ पुग्छ भन्ने कुरा थाहा हुन्छ । उदाहरणको निम्ति हाइटीको मामिलालाई लिऊँ ।
नेपाली काङ्ग्रेसको सरकार हुँदा वा गिरिजा कोइरालाको सरकार हुँदा हाइटीमा नेपाली सेना पठाउनेबारे संसद र बाहिर हामीले विरोध गरेका थियौँ । किनभने, नेपाल कम्युनिस्ट आन्दोलनमा गोरखा भर्तीकेन्द्रको सदा विरोध गरिएको छ । हाइटीमा, अमेरिकी साम्राज्यवादकै छातामुनि नेपाली (गोरखा) सेना पठाउने निर्णय त्यसबेला नेपाली सेना संयुक्त राष्ट्र सङ्घको मातहतमा थिएन । यस कुराको विरोध संसद्मा भयो र हामीले प्रश्न उठायौँ ।
नेपाली काङ्ग्रेसले निर्णय गरेकै कुरालाई एमालेको सरकारले स्वीकार गर्यो र सेना पठायो । परराष्ट्र नीति पनि हरेक सरकारको एउटै हुने हो भने पार्टी फरक फरक हुनुको के अर्थ ? एमालेको सरकारले नेकाकै परराष्ट्र नीति अपनायो । तर, मलाई के लाग्छ भने परराष्ट्र नीति भनेको घरेलु नीतिकै प्रतिबिम्ब हो । घरेलु नीति भनेको हरेक पार्टीको वर्गीय दृष्टिकोणअनुसार बन्छ । नेपाली काङ्ग्रेसले जे जस्तो कुरामा सही गरेको छ, एमालेको सरकारले पनि त्यही कुरामा सही गर्यो । अघिल्लो सरकारका सबै निर्णयलाई समर्थन गर्नुपर्छ भन्ने कुरा झूठो हो । काम भनेको वर्ग चरित्र अनुसार हुन्छ । एमालेले पनि साम्राज्यवादकै सेवा गर्ने हो भने तल्ला वर्गको हितमा बनेको एमाले पार्टीले हाइटीमा अमेरिकी साम्राज्यवादको छातामुनि आफ्नो सेना किन पठाउँछ ? दोस्रो कुरो, सुरक्षा परिषद्मा सीटहरू खाली छन् । त्यसबारे विवाद खूब चलिरहेको छ । त्यो मैले तपाईँहरूलाई भनिरहनु पर्दैन ।
एमालेको माधव नेपालजी जापान जानु हुँदा उहाँले जापानलाई सुरक्षा परिषद्को सदस्यतामा समर्थन गर्ने वचन दिनुभयो भने मनमोहनजी हिन्दुस्तान जानु हुँदा उहाँले सुरक्षा परिषद्को स्थानमा हिन्दुस्तानलाई वचन दिनुभयो ।
नेपाली काङ्ग्रेसको नीति र एमालेको नीतिमा फरक थिएन । अहिले राप्रपा पनि सरकारमा छ, नीतिमा केही फरक देखिन्न । पहिलेजस्तै बिनावाधा व्यवधान काम चालू छ । यसकारण, कुन पार्टीले कुन वर्गको प्रतिनिधित्व गर्छ भन्ने कुरा लेखेर हुन्न, व्यवहारमा हामी हेर्छौँ । यही उद्देश्यबाट एमालेप्रति मेरो आलोचना भएको हो र सिङ्गैै नेपालको कम्युनिस्ट आन्दोलनको निम्ति हितकर हुने भएकोले त्यो कुरोलाई मैले उठाएको हुँ । एमाले अब समाप्तै भएर जाओस्, कहिल्यै नसुधियोस् भन्ने मेरो उद्देश्य होइन । आलोचना गरेर ठाउँमा ल्याउने उद्देश्यले हामीले सङ्घर्ष गरेका हौँ । त्यसलाई नेपाल कम्युनिस्ट आन्दोलनको सङ्घर्षको एउटा भागको रूपमा हामीले लिएका छौँ । कटु आलोचनाबाट एमाले पुनः मजदुर पार्टी र क्रान्तिकारी पार्टीको रूपमा आउन सकोस् भन्ने हाम्रो उद्देश्य हो ।
मलाई के लाग्छ भने एमाले वामपन्थीभित्रै फेरि फक्र्यो भने त्यो खुसीको कुरा हुनेछ– नेपालको कम्युनिस्ट आन्दोलनको निम्ति । त्यो देशको निम्ति हितकर नै हुनेछ र स्वागतयोग्य कुरा हो । तर, मलाई लाग्छ, समय भने बितिसकेको छ, अब त्यो कसरी आउन सक्छ । आए पनि समय लाग्नेछ भन्ने अनुभव म गर्छु ।
गलत विचारको विरोध गर्नु कर्तव्य
हामीले अवसरवाद र संशोधनवादको विरोधमा गरिएको सङ्घर्षलाई नेमकिपा फुटाएको हुनाले छेडिएको सङ्घर्षको हिसाबले लिइयो भने गलत हुनेछ । १९६० र १९७० को बीचमा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा ठूलो मतभेद सोभियत सङ्घ र चीनको कम्युनिस्ट पार्टी तथा अरू क्रान्तिकारी पार्टीहरूको बीचमा भएको थियो । त्यो खुला विवाद अनावश्यक होइन, आवश्यक थियो । तर, सोभियत कम्युनिस्ट पार्टी एउटा ठूलो र पुरानो पार्टी भएको हुनाले त्यसको अन्तर्राष्ट्रिय प्रभाव पनि ठूलो थियो । माओ त्सेतुङको नेतृत्वमा जुन सङ्घर्ष चिनियाँ कम्युनिस्ट पार्टी र अरू क्रान्तिकारी पार्टीहरूले गरेका थिए, त्यो अझ बढी सशक्त हुन पाएको भए सायद पूर्वी युरोप र रुसको स्थिति आजको जस्तो हुने थिएन । इमानदारीपूर्वक चिनियाँ कम्युनिस्ट पार्टी र अरू क्रान्तिकारी पार्टीहरूले आफ्नो सङ्घर्षलाई चालू राखेको कारणले केही कम्युनिस्ट पार्टीहरूमा अहिलेसम्म क्रान्तिकारी चरित्र बाँकी रह्यो र साम्राज्यवादको विरोधमा र पुँजीवादको विरोधमा सङ्घर्ष चालू नै छ ।
रुस जसले त्यो सैद्धान्तिक आन्दोलन र सङ्घर्षको विरोध गरेको थियो । आज त्यस्तो दुःखद स्थिति भोग्न बाध्य भयो, त्यसबारे मैले तपाईँहरूलाई बताइरहनु पर्दैन । त्यसैले नेपालको कम्युनिस्ट आन्दोलनमा गलत विचारधाराको विरोध गर्नु र सङ्घर्ष गर्नु भनेको कसैलाई खसाल्नु होइन । नेपालको कम्युनिस्ट आन्दोलनलाई सही दिशा दिनका निम्ति सङ्घर्ष गर्नुपर्छ र त्यो हाम्रो कर्तव्यभित्र पर्दछ । यसकारण, हामी सङ्घर्ष गर्दै छौँ ।
समाजवाद भनाइ र व्यवहार
जहाँसम्म एमाले र अरू कम्युनिस्ट पार्टीहरू सिद्धान्त त एउटै छ भन्ने कुरो हो त्यसबारे इतिहासलाई फर्केर हेर्नु आवश्यक छ । गोरखा परिषद्को ०१५–०१६ सालको चुनाव घोषणापत्र हेर्नुभयो भने प्रस्ट हुन्छ । गोरखा परिषद्को घोषणापत्रमा ‘वर्गविहीन समाज खडा’ गर्ने कुरा उल्लेख छ । ‘वर्गविहीन समाज’ भनेको त समाजवाद र साम्यवाद हो । के गोरखा परिषद्ले वर्गविहीन समाज खडा गर्छ ? उसले लेख्दैमा हामीले त्यसलाई विश्वास गर्नसक्छौँ ? साथसाथै बीपी कोइरालाले लेखेको २०१५–०१६ सालको नेकाको चुनाव घोषणापत्रमा लेखिएको छ– ‘समाजवाद हाम्रो टाढाको लक्ष्य हो ।’ अहिले पनि नेपाली काङ्ग्रेसको घोषणापत्रमा प्रजातान्त्रिक समाजवादको कुरा उल्लेख छ– ‘समाजवाद त समाजवाद नै हो ।’ के नेपाली काङ्ग्रेसलाई हामी वैज्ञानिक समाजवादीहरूसँग तुलना गर्नसक्छौँ ? त्यतिमात्र होइन हिटलरले पनि समाजवाद भनेको थियो । तर, त्यो राष्ट्रिय समाजवाद थियो । यसकारण, कसले के भन्छ भन्ने कुरो मुख्य होइन बरु व्यवहारमा के गर्छ भन्ने कुरा महत्वपूर्ण हो । हिटलरले किन समाजवादको कुरा ल्याउनुप¥यो ? त्यसबेला जर्मनीका मजदुरहरूमाझ कम्युनिस्ट आन्दोलनले धेरै प्रभाव पारेको थियो । मजदुरहरूको आन्दोलनलाई फुटाउनको निम्ति पुँजीपति वर्गलाई समाजवादको कुरा नराखी सुखै थिएन । जबकि उसको तमाम चरित्र साम्राज्यवादी थियो । मजदुर आन्दोलनभित्र फूट पार्नको निम्ति समाजवाद शब्द राखेको थियो । राष्ट्रियता र राष्ट्रिय समाजवादको कुरा गरेर हिटलरले मजदुर आन्दोलन दबायो । अनि युद्ध सुरु गर्यो । त्यतिमात्र होइन, इन्दिरा गान्धीले पनि त समाजवादको कुरा गरेका थिए ।
त्यसकारण, हरेक विषयलाई भौतिकवादी दृष्टिकोणले हेरिनुपर्छ । राजा अशोकको विषयमा हामीले बरोबर सुनेका छौँ । उसले बुद्धधर्म स्वीका¥यो, कस्तो राम्रो राजा भनियो । तर, कुरो त्यसो थिएन । उसले बुद्धधर्मलाई स्वीकार नगरेको भए विद्रोह हुन्थ्यो । ऊ आफै पनि बच्न सक्दैनथ्यो । त्यसो भएको हुनाले उसले बुद्धधर्म स्वीकार गरेको हो । यस मानेमा उसले बुद्धधर्मलाई स्वीकार गरेको होइन कि ऊ बुद्धधर्मबाट प्रभावित थियो । त्यो देखावा थियो– चन्द्र शमशेरले दासमोचन गरेजस्तै । राणाहरूले दासहरूको दयनीय स्थितिलाई हेरेर बडा भावुक भएर दासमोचन नगरेका भए राणाहरूको विरोधमा दास मालिकहरूले बन्दुक बोकाएर पल्टन बनाउन सक्थे । अङ्ग्रेजहरूको दलाल भइसकेको हुनाले हिन्दुस्तानमा गोर्खाली सेनाको भर्तीको निम्ति उसले दासहरूलाई मुक्त गर्नुपथ्र्यो । जङ्गल फाँड्न र आसामसम्म रेलको पटरी बिछ्याउनको लागि उसलाई सस्तोमा ज्यामीको आवश्यकता थियो त्यो नेपालसँग थियो । नेपालमा दासमोचनपछि अङ्ग्रेजले सस्तो सेना र ज्यामी पायो । यसकारण, भौतिकवादी दृष्टिकोणले हामीले इतिहासलाई हेर्नुपर्छ । मान्छेले मुखले के भन्छ महत्वपूर्ण कुरा होइन के उद्देश्यले भनेको हो त्यो हेर्नुपर्छ ।
मनमोहनजीको ‘न्यूजवीक’ मा आएको अन्तर्वार्ताबारे मैले भनिरहनु पर्दैन । उहाँ पार्टीको नाउँलाई ‘रारा’ र ‘वाईवाई’ जस्तै ट्रेडमार्क सम्झनुहुन्छ । पार्टीको नाउँसमेत फेर्न तयार हुनुहुन्छ र अरू देशमा भए एमालेलाई प्रजातान्त्रिक समाजवादी भन्ने थिए…. आदि । अब एमालेलाई कम्युनिस्ट पार्टी नै हो भन्ने साथीहरूले जवाफ दिनुपर्ने स्थिति छ । होइन, मनमोहनजी अध्यक्ष भएर पनि हाम्रो प्रवक्ता होइन भन्ने कुरो गर्ने हो भने मलाई भन्नु केही छैन । तर, मलाई लाग्छ मनमोहनजी अध्यक्ष हुनुहुन्छ, प्रधानमन्त्री भइसक्नुभएको छ । बोली फेर्न उहाँलाई गा¥है पर्ला । बरु भन्नुपर्छ– नेपालको अहिलेको परिस्थिति कम्युनिस्ट आन्दोलनको निम्ति तयार छैन र खुलारूपले स्पष्टसँग भनेको भए त्यो विषयमा हामी छलफल गर्न सक्थ्यौँ ।
रायमाझी गद्दार एमाले कम्युनिस्ट ?
डा. रायमाझीले ०१५÷०१६ सालमा पाल्पामा राजाको भ्रमण हुँदा राष्ट्रियता र ‘देशको प्रहरी’ भनी अभिनन्दन गरेका थिए । त्यसबेला उनी संशोधनवादी भए । राजावादी भए र गद्दार भए । ३० वर्षपछि अहिले एमालेका प्रमुख नेताहरूले राजा राष्ट्रियताको प्रतीकभन्दा उनीहरू इमानदार क्रान्तिकारी र कम्युनिस्ट हुने ? मैले डा. रायमाझीलाई उनको दूरदर्शिताबारे कुरा उठाउँदा र अहिले एमालेले उनको गोरेटोलाई राजमार्ग बनाएको बताउँदा उनले ‘समयको फेर हो’ भने । यसकारण, माओ त्सेतुङले हामीलाई सिकाउनुभएको छ– ‘उदारतावादको विरोध गर ।’ उदारतावादीहरूको थैलीमा दुई किसिमको किताब हुन्छ– क्रान्तिकारी पनि संशोधनवादी पनि । हामी अवसरवाद विरोधी हौँ ।
संशोधनवादविरुद्धको सङ्घर्ष आक्रोश होइन
छलफलको अर्को महत्वपूर्ण विषय संसद्वाद हो । पञ्चायतको बेलामा क्रान्तिकारीहरू लुकीलुकी हिँड्नुपर्ने बेलामा संशोधनवादको सम्भावना र अवसरवादको सम्भावना कम थियो र अहिले संसद् आइसकेपछि, भत्ता पाउने भइसकेपछि, अनेक किसिमका सहुलियत पाउने भएपछि अब संशोधनवाद सुरु भएको छ– झन् टड्कारोरूपले अवसरवाद अगाडि आउँछ । संसद्वादको धरापमा मन्त्री बन्ने सम्भावना हुन्छ । संसदीय समितिहरूको अध्यक्ष बन्ने सम्भावना हुन्छ । मोटरकारहरूको सुविधा हुन्छ । पद र पैसाको ओइरो लाग्छ आदि । अब वामपन्थी आन्दोलन जोगाउन गा¥हो हुन्छ । त्यसकारण, माक्र्सको पालादेखि नै संसद् या पुँजीवादी प्रजातन्त्र विद्यमान भएका ठाउँहरूमा सङ्घर्षका रूपहरू पनि आफ्नै ढङ्गका हुन्छन् र संशोधनवाद विरोधी सङ्घर्षलाई झन कडारूपले अगाडि लानुपर्ने हुन्छ । युरोपको कम्युनिस्ट आन्दोलन र मजदुर आन्दोलनको इतिहास त त्यस्तै त्यस्तै सङ्घर्षहरूले भरिएको छ । नेपालमा त यस्तो सङ्घर्ष भर्खर सुरु भएको छ । मैथिली भाषामा एउटा उखान छ– ‘साउनमा जन्मेको सानो चराले भदौको बाढीलाई जीवनको सबभन्दा ठूलो बाढी सम्झन्छ ।’ भर्खर एक महिनाको चरोले बाढी नै कतिवटा देख्ने होला । नेपाल कम्युनिस्ट आन्दोलनको इतिहास सा¥है छोटो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *