भर्खरै :

अफगानिस्तानमा संरा अमेरिका र नाटोको जिम्मेवारी

रुस र युक्रेन लडाईंमाथि संसारको ध्यान केन्द्रित भइरहँदा संरा अमेरिका र उसका नाटोसम्बद्ध मित्रहरूले सिर्जेको अर्को भूराजनीतिक विपत्ति भने छाँयामा परेको छ ।
संरा अमेरिका र नाटोले अफगानिस्तानबाट हतारमा आफ्ना सेना फिर्ता गरेपछि अफगानिस्तान आज मानवीय सङ्कटको डावानलमा फसेको छ ।
अफगानिस्तानको छिमेकीको नाताले चीनले मानवीय सहायताको रूपमा झन्डै ३० करोड युआन (झन्डै ४ अर्ब ७० करोड नेपाली रुपैयाँ) मानवीय सहायता दियो । चीन अहिले अफगानिस्तानका छिमेकी देशहरूका परराष्ट्र मन्त्रीहरूको तेस्रो बैठक आयोजनाको तयारी गरिरहेको छ । अफगानिस्तानमा दीर्घकालीन स्थायित्वको लागि छिमेकी देशहरूलाई भूमिका खेलाउन यो बैठकको महत्वपूर्ण भूमिका रहनेछ । त्यस्तै अफगानिस्तानमा शान्ति र पुनःनिर्माणको निम्ति आफ्नो जिम्मेवारी बहन गर्न संरा अमेरिका र उसका साझेदार देशहरूलाई प्रेरित पनि गर्न सक्छ ।
गत वर्ष सन् २०२१ को अगस्ट महिनामा अफगानिस्तानको राजनीतिमा आएको ठुलै परिवर्तनपछि सेप्टेम्बरमा चीन, पाकिस्तान, इरान, ताजिकिस्तान, उज्वेकिस्तान र तुर्कमेनिस्तानलगायत अफगानिस्तानका छिमेकी देशहरूका विदेशमन्त्रीहरूको बैठक भएको थियो । त्यो सान्दर्भिक र उल्लेखनीय अग्रसरता थियो । अफगानिस्तानका छिमेकी देशहरूबीच समन्वय र सहकार्यको लागि त्यो बैठकले अनुकूल परिस्थिति बनायो । अफगानिस्तानको परिवर्तित अवस्था मिलेर सामना गर्न राजनीतिक सहमति कायम गर्न पनि त्यो बैठकले मद्दत ग¥यो । त्यहाँ अफगानिस्तानका छिमेकी देशहरूका विशिष्ट भूमिका र जायज चासोमाथि पनि छलफल भयो ।
यद्यपि, बीस वर्षे युद्धको समाप्तिपछि अफगानिस्तानका छिमेकीहरूले अग्रसरता लिए पनि संरा अमेरिका र उसका साझेदार देशहरू त्यहाँ शान्ति स्थापना र पुनःनिर्माणको जिम्मेवारीबाट भाग्न सक्दैनन् ।
समाचारअनुसार सन् २०२१ को मध्य सेप्टेम्बरदेखि ९५ प्रतिशत अफगानी परिवारसँग खानलाई पुग्दो खाना छैन । अफगानिस्तानको बैङ्किङ प्रणाली छिन्नभिन्न भयो र मुद्राको अवमूल्यन भयो । युद्धले थिलथिलो बनेको अर्थतन्त्र टाट पल्टिने अवस्थामा छ । फलतः ठुलो सङ्ख्यामा अफगानी जनता बेरोजगार छन् र शरणार्थी जीवन बाँच्न बाध्य छन् ।
अफगानी जनतालाई आफ्नो बैङ्क खाताबाट पैसा झिक्न पनि धौ धौ छ । कम्पनीहरूले पुँजी गुमाएका छन् । मुद्रा स्फीति आकाशिएको छ । “हामी ठुलो विपत्तिको मुखमा छौँ । यदि हामीले अहिले नै केही गर्न नसके हामी ठुलो सङ्कटको मारमा पर्नेछौँ”, विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक डेभिड बिस्लेले अक्टोबरमा भनेका थिए ।
अफगानिस्तानमा राजनीतिक परिवर्तनपछि संरा अमेरिकामा जम्मा गरिएको अफगानिस्तानको केन्द्रीय बैङ्कको नाममा रहेको ७ खर्ब नेपाली रुपैयाँ बराबरको सम्पत्तिमाथि रोक्का गरेको छ । फेब्रुअरी महिनामा बाइडेन सरकारले अफगानिस्तानमा मानवीय सहायता गर्न बनाइएको कोषमा ३ खर्ब ५० अर्ब नेपाली रुपैयाँ जम्मा गरेको बताइयो । अनि अर्को ३ खर्ब ५० अर्ब नेरु बराबरको रकम सन् २००१ को सेप्टेम्बर ११ को हमलाका पीडित परिवारको निम्ति विनियोजन गरियो । अफगानिस्तानले राजनीतिक सङ्कट र अभाव भोगिरहेको बेला संरा अमेरिकी सरकारको त्यो निर्णय दिउँसै अफगानी सम्पत्तिमाथि संरा अमेरिकी सरकारको डकैतीको उदाहरण हो ।
अफगानिस्तानको सम्पत्ति अफगानी जनताको हो । अफगानिस्तानले आज भोगिरहेको गम्भीर मानवीय सङ्कट समाधानको निम्ति संरा अमेरिकाले तत्काल र निःशर्त अफगानिस्तान जनताको सम्पत्ति फिर्ता गर्नुपर्छ । त्यत्ति मात्र होइन, अफगानी जनताको भलाइ र अफगानिस्तानको आर्थिक तथा व्यापारिक गतिशीलताको लागि संरा अमेरिका र उसका साझेदार देशहरूले बिना राजनीतिक शर्त अफगानिस्तानलाई राजनीतिक सहायता दिनुपर्छ । संरा अमेरिका र उसका साझेदार देशहरूको यो दायित्व हो ।
अफगानिस्तान मुद्दामा संरा अमेरिकाको अदृश्य हात छ । तर, संरा अमेरिकी सेनाका अपराधबारे अनुसन्धान र कार्वाही गर्न उसले कुनै पनि अदालत वा अन्य कानुनी संरचना बनाएको छैन ।
चीनको असल छिमेकी र साँचो मित्र हुनुको नाताले अफगानिस्तानको अवस्थाप्रति चीनले चासो राख्छ । चीनले क्षेत्रीय शान्ति र विकासमा अफगानिस्तानलाई समाहित गर्न सक्रियतापूर्वक भूमिका खेलिरहेको छ । गत वर्ष सन् २०२१ को डिसेम्बरसम्ममा चीनले अफगानिस्तानलाई ३० लाख कोभिड–१९ को खोप सहयोग ग¥यो । त्यस्तै ठुलो सङ्ख्यामा भेन्टिलेटर, मास्क र सुरक्षा वस्त्रलगायत महामारी प्रतिरोधात्मक सामग्री अफगानिस्तानलाई दियो । अफगानिस्तानको राजनीतिक अवस्था परिवर्तन भएपछि चीनले खोप, खाद्य सामग्री, जाडोयाम छल्ने सामग्री, औषधिमूलो र अन्य जीवनस्तर उकास्ने परियोजनासहित धेरै सहायता कार्यक्रमलाई गति दिएको छ । स्थानीय जनताले भोगिरहेका विभिन्न समस्या सामनामा मद्दत गर्न चीनले विभिन्न माध्यमबाट त्यस्ता सामग्री र कार्यक्रम सहयोग गरिरहेको छ । चीन–अफगानिस्तान व्यापार सम्बन्ध बलियो बनाएर चीनले अफगानी किसान र व्यापारीको आम्दानी करोडौँले बढाएको छ । त्यसले व्यवहारिकरूपमा अफगानी जनताको जीवनस्तर वृद्धिमा मद्दत गरेको छ ।
अफगानिस्तानलाई मानवीय सहायता गर्न र आर्थिक पुनःनिर्माणमा उसका छिमेकी देशहरूसहित सबै हिस्सेदारहरूसँग चीनले काम गरिरहने छ । साथै, अफगानी जनतालाई शान्ति, विकास, स्थायित्व र सुव्यवस्था फर्काउन संरा अमेरिका र उसका नाटो साझेदारहरूले आफ्ना दायित्व र जिम्मेवारी पूरा गर्नुपर्नेछ ।
(लेखक चीन अन्तर्राष्ट्रिय अध्ययन प्रतिष्ठानअन्तर्गत एसिया–प्रशान्त अध्ययन विभाग सम्बद्ध हुनुहुन्छ ।)
द ग्लोबल टाइम्सबाट अनुदित सामग्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *