भर्खरै :

नेक्राविसङ्घको ते¥हौँ राष्ट्रिय सम्मेलन सुरु

जनताका छोराछोरी पढ्ने विद्यालयमा छानो छैन, कमिसनको लागि भ्यु टावरको रहर
काठमाडौँ, १७ चैत । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको ते¥हौँ राष्ट्रिय सम्मेलन बिहीबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको स्मृति भवनमा भव्य समारोहबीच उद्घाटन भयो । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले पानसमा दीप प्रज्ज्वलन गरी सम्मेलनको उद्घाटन गर्नुभयो ।
सो समारोहमा सचिव सुवालले शासक दलका नेता तथा पूर्वप्रधानमन्त्रीहरूले करोडौँ रुपियाँ खर्चेर बनाइएका भ्यू टावरहरूको उद्घाटन गरिरहँदा त्यही ठाउँका विद्यार्थी छाना नभएका विद्यालयमा पढ्न र नदीमा पुल नबन्दा तुइनमा झुन्डिई खोला तर्न बाध्य भइरहनु विडम्बना भएको बताउनुभयो ।
उहाँले अग्ला डाँडा र पहाडमाथि भ्यू टावर बनाई विकास बजेट खर्च गर्नु राज्य कोषको दुरूपयोग भएको विचार व्यक्त गर्दै त्यसो गर्नुको पछाडि कमिसनको खेल नै मुख्य कारण भएको बताउनुभयो ।
विद्यार्थीहरूको समस्याबारे नेपाल सरकार र शासक दलहरू बेमतलब रहेको चर्चा गर्दै उहाँले निजी मेडिकल कलेजमा सरकारले नै रु. ४२ लाखसम्म शुल्क उठाउन पाइने निर्णय गरेको तर कलेजहरूले विद्यार्थीहरूबाट रु. ६० देखि ८० लाखसम्म शुल्क उठाइरहेको चर्चा गर्दै योग्य विद्यार्थीहरूलाई चिकित्साशास्त्र, इन्जिनियरिङ्गलगायत प्राविधिक शिक्षा प्रदान गर्ने बन्दोबस्त सरकारले नै गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
उहाँले माओवादी पार्टीका नेता शिक्षामन्त्रीले यसपालि विगत १५ वर्षदेखि नर्सिङ्ग पढाइरहेको भनपाद्वारा सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थानलाई नर्सिङ्गमा नयाँ भर्ना लिन रोक लगाएर विद्यार्थीहरूबाट लाखौँ शुल्क असुल्ने निजी कलेजहरूलाई छुट दिएको उल्लेख गर्दै यसले मन्त्री र उनको पार्टीको शिक्षासम्बन्धी दृष्टिकोण छर्लङ्ग हुन्छ भन्नुभयो ।
एमसीसी सम्झौता देशको सार्वभौमिकताविरूद्ध रहेको स्पष्ट हुँदाहुँदै एमाले, माओवादी केन्द्र र एस पार्टीले नेपाली काङ्ग्रेसको धम्कीसामु लत्रेर पाखण्डपूर्ण नाटक मञ्चन गरी एमसीसी पारित गरेको धारणा राख्दै केन्द्रीय सचिव सुवालले शासक दलहरूले देशको बिजुली उत्पादन र खपत, सीमा अतिक्रमणलगायत हरेक विषयमा जनतामाझ झूट बोलिराखेको घटनाक्रमले पुष्टि भइरहेको बताउनुभयो ।
उहाँले भारतमा कामदार वर्गको शासन नआएसम्म नेपाली जनता र छिमेकी देशका जनताको हित हुनेछैन भन्नुभयो ।
सांसद सुवालले निर्वाचन ऐनमा ३ प्रतिशतको मतसीमा राखेर साना पार्टीलाई राष्ट्रिय मान्यता र समानुपातिक सीटबाट वञ्चित गर्नु अप्रजातान्त्रिक कदम भएको बताउँदै त्यसको विरूद्ध नेमकिपाले सर्वोच्च अदालतमा दर्ता गरेको रिटको सुनुवाइमा नल्याउन शासक दलहरूले चलखेल गरिरहेको आरोप लगाउनुभयो ।
समारोहमा नेमकिपाका केन्द्रीय सदस्य तथा नेक्राविसङ्घका पूर्व केन्द्रीय अध्यक्ष सरोजराज गोसाईले नेक्राविसङ्घले स्थापनाकालदेखि नै गरिब नेपालीका छोराछोरीहरूले शिक्षा हासिल गर्ने बन्दोबस्तको लागि निःशुल्क, अनिवार्य र वैज्ञानिक शिक्षाको मागका साथ आन्दोलन गर्दै आएको स्पष्ट पार्नुभयो ।
उहाँले नेक्राविसङ्घको सङ्घर्षको भिन्नै इतिहास भएको र नेक्राविसङ्घ पञ्चायतकालदेखि नै क्रान्तिकारी, सिद्धान्तनिष्ठ र सङ्घर्षशील विद्यार्थी सङ्गठन भएको बताउनुभयो ।
उहाँले पुँजीवादी शिक्षा व्यवस्थाले पुँजीवादी व्यवस्थालाई बलियो बनाउने प्रस्ट पार्दै परिवर्तनका वाहक विद्यार्थीहरूले समाजवादी शिक्षा व्यवस्थाको लागि सङ्घर्ष चालु राख्नुपर्ने र अनुसन्धानमुखी शिक्षा लागु गराउन सङ्घर्ष जारी राख्नुपर्ने बताउनुभयो ।
नेमकिपाका अर्का केन्द्रीय सदस्य तथा नेपाल क्रान्तिकारी महिला सङ्घका केन्द्रीय अध्यक्ष अनुराधा थापामगरले पुँजीवादी प्रजातन्त्रको झिलिमिलीले बहुसङ्ख्यक कामदार वर्गका महिलाहरूलाई कष्ट र अपमान दिनेबाहेक महिलाहरूको जीवनमा उज्यालो ल्याउन नसक्ने चर्चा गर्दै समाजवाद नै श्रमिक वर्गको मुक्तिको बाटो भएको विभिन्न देशको अनुभवले पुष्टि गरेको बताउनुभयो ।
उहाँले पुँजीवादी व्यवस्थामा निजी विश्वविद्यालय र कलेजहरू नाफा र शोषणको लागि मुख बाएर बसिराख्ने चर्चा गर्दै शिक्षाको महँगीले सबैभन्दा बढी महिलाहरूलाई नै चिन्तित बनाउने गरेको छ भन्नुभयो ।
समाजवादी देशहरू पूर्व सोभियत सङ्घ, चीन, क्युवा र प्रजग कोरियाजस्ता देशमा महिलाहरू शिक्षा र अवसरमा अगाडि बढेको तथ्याङ्कबारे चर्चा गर्दै समाजवादी व्यवस्थामा महिलालाई विज्ञापनको वस्तु बनाएर शोषण गर्न नपाउने बताउनुभयो ।
समारोहमा नेमकिपाका अर्का केन्द्रीय सदस्य एवं काठमाडौँ जिल्ला अध्यक्ष नारायण महर्जनले त्रिवि केन्द्रीय क्याम्पस स्थापनाको लागि कीर्तिपुरका किसानहरूसित निकै सस्तो दरमा जग्गा अधिग्रहण गरिएको तर सम्झौताअनुसार कीर्तिपुरवासीलाई त्रिविले कुनै सहुलियत नदिएको बताउनुभयो ।
उहाँले त्रिविलगायत सरकारी विश्वविद्यालयहरूको दुरवस्थाप्रति सरकारहरूको कति पनि ध्यान नगएको बताउँदै शिक्षालाई उत्पादन श्रमसित जोड्ने वैज्ञानिक शिक्षा व्यवस्था लागु गर्नुपर्ने औँल्याउनुभयो ।
नेमकिपाका अर्का केन्द्रीय सदस्य एवम् बाग्मती प्रदेशसभा सदस्य सृजना सैँजूले दक्षिण एसियाली देशहरूको आर्थिक विकासको प्रमुख बाधक भारतीय एकाधिकार पुँजी भएको चर्चा गर्दै श्रीलङ्काको आर्थिक सङ्कटको लागि नवउदारवादी अर्थव्यवस्थासँगै भारतीय एकाधिकार पुँजीको हस्तक्षेप जिम्मेवार रहेको बताउनुभयो ।
उहाँले नेमकिपा माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ विचारधाराबारे प्रशिक्षण दिने नेपालको कम्युनिस्ट आन्दोलनको महाविद्यालय भएको बताउँदै नेक्राविसङ्घ विद्यार्थीहरूलाई देशभक्त, प्रगतिशील र क्रान्तिकारी बनाउने र सत्यको पक्षमा निर्भिक बन्न सिकाउने पाठशाला भएको बताउनुभयो ।
समारोहमा नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य तथा नेपाल क्रान्तिकारी मजदुर सङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र चवाल, नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय सचिव हरिराम सुवाल र नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय सदस्य पवित्राकुमारी शाही अतिथि रहनुभएको थियो ।
नेक्राविसङ्घ ते¥हौँ राष्ट्रिय सम्मेलन तयारी समितिका संयोजक प्रकाश गुरूङको सभापतित्वमा सम्पन्न समारोहमा सहसंयोजक सुरेश परियार, सहसचिव गोरखजङ्ग शाही र सदस्य सविता त्वानावासुले पनि बोल्नुभएको थियो ।
उद्घाटन समारोहपूर्व कीर्तिपुर पाँगास्थित जनकल्याण मावि अगाडिबाट सुरू भएको हजारौँ विद्यार्थीको सहभागिता रहेको उद्घाटन ¥याली कीर्तिपुर नगर परिक्रमा गरी सम्मेलन उद्घाटनस्थलमा पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *