भर्खरै :

सिद्धान्तहीनता नेपालका सबै शासक दलहरूको ठूलो कमजोरी

काठमाडौँ, १८ चैत । नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको ते¥हौँ राष्ट्रिय सम्मेलनको बन्द सत्र शुक्रबार भक्तपुरमा आरम्भ भएको छ । बन्द सत्र शनिबार पनि चालू रहनेछ ।
बन्द सत्रको प्रथम दिन नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले विभिन्न जिल्लाबाट आएका प्रतिनिधि र पर्यवेक्षक विद्यार्थीहरूलाई मागनिर्देशन गर्दै कुनै पनि विषय सानो वा ठूलो नहुने, बरू विद्यार्थीले आफ्नो विषयमा गहिराइमा पुगेर अध्ययन गर्नुपर्ने बताउनुभयो ।
सिद्धान्तहीनता नै नेपालका सबै शासक दलहरूको सबैभन्दा ठूलो कमजोरी हो भन्दै उहाँले कामदार जनताको पक्षमा अडान लिनु नै क्रान्तिकारी बन्नु हो भन्नुभयो ।
उहाँले विद्यार्थीले क्रान्तिकारी साहित्यको अध्ययन गर्नुपर्ने र क्रान्तिकारी साहित्य सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले आसन्न स्थानीय तहको निर्वाचनबारे बोल्नुभयो ।
विद्यार्थीहरू सामाजिक कार्यकर्ता बन्नुपर्ने र सामाजिक कार्यकर्ता नै अन्ततः असल राजनीतिक कार्यकर्ता बन्ने उहाँले बताउनुभयो ।
विचार नै नेमकिपाको शक्ति भएको चर्चा गर्दै उहाँले भन्नुभयो, “सचेत जनता भिडले होइन विचारले नेतृत्व गरेको दलमा लाग्नुपर्छ ।”
विद्यार्थीहरू पार्टीले दिएको जिम्मेवारी र अनुशासनभित्र रहेर कर्तव्य पूरा गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
नेपाल क्रान्तिकारी मजदुर सङ्घका केन्द्रीय अध्यक्ष राजेन्द्र चवालले सार्क र बिम्स्टेकबारे प्रशिक्षण दिनुभयो ।
श्रीलङ्का विदेशी ऋणले धरासयी भएको हल्ला पिट्ने साम्राज्यवादी मिडियाको पछि नलाग्न सचेत गर्दैै उहाँले श्रीलङ्काले चीनसँग भन्दा बढी ऋण अन्य देशहरूसँग लिएको स्पष्ट पार्नुभयो ।
नेक्राविसङ्घका पूर्वअध्यक्ष रवीन्द्र ज्याख्वले सम्मेलन आफैमा आन्दोलनको सिलसिला भएको र जनजीविकासँग सम्बन्धित सङ्घर्षहरू अगाडि बढाएर नेक्राविसङ्घले आफ्ना कार्यकर्ताहरूको शिर उच्च पारेको बताउनुभयो ।
‘निर्वाचन प्रक्रिया’ बारे सविस्तार चर्चा गर्दै कानुन अध्ययन समाज नेपालका अध्यक्ष रामप्रसाद प्रजापतिले जनताको सेवाका लागि नेमकिपाले चुनावलाई उपयोग गर्दै आएको स्पष्ट पार्नुभयो । उहाँले निर्वाचनका विविध प्राविधिक पक्षहरूबारे विद्यार्थीलाई जानकारी गराउनुभयो ।
बन्द सत्रमा सङ्घका विद्यार्थीहरूले समूहगत छलफल अगाडि बढाएको आयोजक समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *