जाँचबुझ आयोगमा सरोकारवालाहरूको बयानको सार सङ्क्षेप – ९
- बैशाख ११, २०८३
(थापाथली क्याम्पस, काठमाडौँमा भएको गोष्ठीमा डा. बाबुराम भट्टराईको कार्यपत्रमाथिको टिप्पणी)
आज २२ अप्रिलको दिन लेनिन जयन्ती मनाउनुपर्ने बेला यो गोष्ठीको आयोजना गर्नुभयो । त्यसको लागि आयोजक साथीहरूलाई म धन्यवाद दिन चाहन्छु ।
कार्यपत्र प्रस्तुत गर्ने साथीले यसमा कमी कमजोरीहरू छन् भन्नुभएको छ । मलाई लाग्छ, कार्यपत्र प्रस्तुत गर्दा कमी–कमजोरीहरूबारे क्षमा माग्नुपर्ने गरी कार्यपत्र तयार गर्नु हुँदैनथ्यो किनभने जुन कुरामा आफ्नो विश्वास छैन, त्यसमा दाबाका साथ भन्न पनि मिल्दैन । उहाँले कुन कुराको लागि क्षमा माग्नुभयो र कुन कुरालाई अस्वीकार गर्नुभयो ? ठम्याउन गा¥हो छ ।
कार्यपत्र जसरी आएको छ त्यसबारे शब्द–शब्द भनिरहँदा धेरै समय लाग्छ । एक दुई बुँदामा मात्र टिप्पणी गर्दा तपाईँहरूको धेरै समय लिनुपर्ने हुँदैन । माक्र्सवाद–लेनिनवाद र माओ त्सेतुङ विचारधाराबारे पनि यसमा उल्लेख भएको हुनाले त्यसबारे छोटो–छोटो टिप्पणी गर्नुपर्ने देखिन्छ ।
नेपालको कम्युनिस्ट आन्दोलनमा कहिलेकाहीँ शब्दको उचित प्रयोग र शब्दको उचित चयन नहुँदा हामी धेरै अल्मलिएका थियौँ । त्यसो नहोस् भन्नाका लागि टिप्पणीभन्दा पहिले त्यस्ता शब्दहरूमा जान चाहन्छु । सबभन्दा पहिले म लेनिन जयन्ती भएको हुनाले लेनिनबारे एक दुई कुरा भन्न चाहन्छु ।
लेनिनले माक्र्सवादलाई पिछडिएको रुसमा लागू गर्नुभयो । रुसमा पनि पुँजीवाद आउने कुरा प्लेखानोभले देखाइदिएका थिए । किनभने, त्यहाँ अर्कै किसिमको साम्यवादको कल्पना त्यतिबेलाका मानिसहरूले गरेका थिए । रुसमा पनि पुँजीवादको विकासको कुरा लेनिनले स्पष्टरूपमा व्याख्या गर्नुभएको थियो । रुसमा ‘पुँजीवादको विकास’ भन्ने कृतिमा नरोदवादको खण्डन र मजदुर आन्दोलनको व्याख्या लेनिनले गर्नुभएको थियो । मजदुर र किसानहरूका समितिहरूलाई साम्यवादको बीउको रूपमा उहाँले लैजानुभयो । स्वयंस्फूर्त होइन, नियोजित सङ्घर्ष गर्नुपर्छ भन्ने कुरा १९०५ को क्रान्तिबाट उहाँले अवगत गराउनुभयो । पेरिस कम्युनको शिक्षा उहाँले बडो गहिरोसित लिनुभयो । किसान र मजदुरको एकताको आवश्यकता पेरिस कम्युनमा किसानहरूलाई नै सेनामा ल्याएर दबाउन दिइएबाट भयो । यसैलाई उहाँले सिद्धान्तको रूपमा लिनुभयो । सेनाको बारेमा गुप्तता हुनुपर्ने भएकोले सेनाको आफ्नो सङ्गठन हुनुपर्ने, सेनाभित्र पनि पस्नुपर्ने र त्यो फलाकेर हिँड्ने कुरा नभई केन्द्रीय समिति वा निश्चित समितिलाई मात्र जिम्मा दिनुपर्ने र १९१७ को अक्टोबर क्रान्तिलाई अगाडि सार्नुपर्ने कारण पनि गुप्तता भङ्ग भएकोले हो । सेनाको कुरा कराएर हिँड्ने, गीत गाएर हिँड्ने होइन भन्ने हिसाबले लिनुहुन्थ्यो । लेनिनको सबभन्दा सूक्ष्म कुरा मैले बुझेको के हो भने वामपन्थी अवसरवाद केटाकेटी रोग, हडताल, आन्दोलन र निर्वाचनले जनतालाई शिक्षा दिनु, प्रतिक्रियावादी प्रभावबाट जनतालाई छुट्कारा दिनु आदि महत्वपूर्ण कुरा लेनिनबाट हामी सिक्छौँ र नेपालको सन्दर्भमा मैले सिक्नुपर्ने यस्तै विषय देखेको छु ।
जहाँसम्म कार्यपत्र प्रस्तुतकर्ता बाबुरामजीको कुरा छ, व्यक्तिगतरूपमा उहाँलाई साधारणरूपमा मात्र चिन्छु । मैले बुझेअनुसार उहाँंको अध्ययन हामीले विस्तारवाद भनेकै भारतको दिल्लीमा भएको हो । बडो सहुलियतसाथ उहाँले अध्ययन गर्न पाउनुभएको थियो ।
हाम्रो समाजमा जस्तै हिन्दुस्तानमा पनि वर्ग र जात (Class and cast) सँगसँगै जाने गर्दछ । यसबाट उहाँ टाढा हुनुहुन्न । उहाँले अमेरिका घुम्ने र पढ्ने मौका पाउनुभयो, जहाँसुकैबाट होस् । त्यतिमात्र होइन बेलायतमा आफ्नो परिवारलाई पढाउने व्यवस्था गर्नसक्नुभयो । यो कुरा उठाएको कारण उहाँको कार्यपत्रको हरेक ठाउँमा क्षेत्रीय वा सहर र सहरिया मानिसप्रति जनआक्रोश र विरोध हो । त्यसबारे म बिस्तारै बताउँदै जानेछु । जसरी कविताको अर्थ बुझ्न कविलाई नबुझी हुँदैन र कवितालाई बुझेर हामीले कविलाई चिन्छौँ त्यसरी नै प्रस्तुतकर्तालाई चिन्न र बुझ्न यस कार्यपत्रले सजिलो गरेको छ । अब म शब्दको बारेमा जाँदै छु ।
नेपाल कम्युनिस्ट आन्दोलनमा शब्दले धेरै अस्पष्टता ल्याएको छ । उदाहरणको निम्ति नेपाली काङ्ग्रेसलाई पुँजीपतिहरूको दलाल भनेर कति साथीहरू भन्नुहुन्छ र केहीले विदेशी पुँजी ‘परस्त’ पनि भन्ने गर्दछन् । ‘परस्त’ फारसी र उर्दू शब्द हो । यसको अर्थ हो पूजा गर्नु । बाबुरामजीले कुन अर्थमा लिनुभएको हो, मलाई थाहा छैन । त्यतिमात्र होइन हामी हिन्दुस्तानमा पढ्ने र हिन्दुस्तानको विश्वविद्यालयबाट उत्तीर्ण हुने भएकोले नेपालको कम्युनिस्ट आन्दोलनमा पनि हिन्दुस्तानको कम्युनिस्ट आन्दोलनबाट शब्द शब्दलाई जस्ताको तस्तै लिने गर्दा अर्थको अनर्थ पनि भएको पाइन्छ । यही हाम्रो समस्या हो ।
अर्को कुरा, विभाजन र गल्तीलाई पनि हामीले ‘महान्’ भन्ने शब्द प्रयोग गरेका छौँ । यो कार्यपत्रमा पनि यस्तै शब्द प्रयोग भएको छ । मलाई लाग्छ, विभाजन कुनै राम्रो कुरा होइन र महान् विभाजन कसरी भयो ? शब्दको चयन कसरी मिल्यो ? ठूलो गल्ती हुनसक्छ, महान् गल्ती हुनसक्दैन ।
‘ऐतिहासिक विडम्बना’ भन्ने शब्द यस कार्यपत्रमा प्रस्तुत छ । विडम्बना शब्द भाग्यसँग सम्बन्धित कुरा हो । भौतिकवादी दृष्टिकोणले हेर्दा ऐतिहासिक विडम्बना कसरी हुन्छ ? पुस १ गते २०१७ सालको कुरा उल्लेख छ, यसलाई फौजी काण्ड भनिएको छ । फौजी काण्ड भनेको के हो ? कुन राजनैतिक शब्दावली हो ? प्रजातन्त्रको हत्या हो कि सैनिक विद्रोह हो कि? संसद्को विघटन हो कि ? प्रतिक्रियावादी कदम हो कि ?
नेपाली काङ्ग्रेसको विषयमा सायद कार्यपत्र प्रस्तुतकर्तालाई भ्रम हुनुपर्दछ । नेपाली काङ्ग्रेस सदा राजावादी पार्टी रहेको छ, त्यो राणाको विरोधमा बनेको पार्टी हो । बैरगनियाँ सम्मेलनदेखि वीरगञ्ज सम्मेलनसम्म तपाईँ यही कुरा देख्नुहुन्छ । अरूले भनेको विचारै नगरी किताबमा लेखिएको कुरा बुझ्दै नबुझिकन या मनोगत ढङ्गबाट बुझेर दोहो¥याउनु मलाई लाग्छ, कम्युनिस्ट आन्दोलनको निम्ति हितकर हुँदैन । माक्र्सवाद–लेनिनवादले हामीलाई यस्तो कुरा सिकाएको छैन ।
जहाँसम्म पी. एल. को कुरा छ, पी.एल. ले नेपाली काङ्ग्रेसलाई उदार पुँजीवादी र विदेशी पुँजीपरस्त शक्तिको रूपमा लिनुभएको छ । यस कुरालाई गलत ढङ्गबाट कार्यपत्रमा व्याख्या गरिएको छ । पुष्पलालजीको महत्वपूर्ण अर्को कुरा के हो भने मैले बुझेअनुसार उहाँ बेलायती र फ्रान्सली पुँजीवादी क्रान्तिबाट सा¥है प्रभावित हुनुहुन्थ्यो । यसप्रकार उहाँं पूरा गणतन्त्रवादी हुनुहुन्थ्यो । फेरि उहाँको गणतन्त्रवादी भावना र रामराजाको गणतन्त्रवादी भावनामा धेरै फरक छ । यसलाई विश्लेषण गरियो भने धेरै समय लाग्ने भएकोले बुँदामात्र भन्छु । यसबारे छुट्टै विश्लेषणको आवश्यकता छ ।
शम्भुरामजीको कुरा पनि यस कार्यपत्रमा उल्लेख छ, शम्भुरामजी सदा नेपाली काङ्ग्रेसको खरो आलोचक रहँदै आउनुभएको छ । पुँजीवादी क्रान्तिको विषयमा पनि कम्युनिस्ट आन्दोलनमा धेरै भ्रम छ । उदाहरणको निम्ति बेलायत र फ्रान्सको क्रान्ति सामन्तवादको विरोधमा भएको थियो । बेलायत र फ्रान्सलाई पुँजीवादी राज्य क्रान्ति भनिन्छ । तर, जर्मन क्रान्तिमा बाटो बिराएको देखिन्छ । किनभने, क्रामवेलहरूले चाल्र्सहरूको हत्या गरिसकेपछि परिस्थितिले नयाँ मोड लियो । समानतावादीहरूको विद्रोह भयो र बेलायतीहरू बडो चलाख भएर तिनीहरू स्वयंले राजा स्थापना गर्न थाले । सामन्त र पुँजीपति वर्गबीच तालमेल भएन भने तल्लो वर्ग उठ्ने रहेछ भन्ने कुरो फ्रान्सेली क्रान्ति र बेलायती क्रान्तिबाट थाहा भयो । यसरी क्रान्ति गर्दै गएपछि तल्लो वर्ग अगाडि आयो । अनि नेपोलियन अगाडि ल्याइए । तर, जर्मनीमा सामन्त वर्ग र पुँजीपति वर्गबीच मेल भयो । अनि कार्ल माक्र्स र उहाँका साथीहरूले देश छोडेर जानुपर्ने भयो ।
त्यसबेला कार्ल माक्र्सले भन्नुभएको थियो, “अब पुँजीपति वर्ग क्रान्तिकारी रहेन ।” लेनिनसम्म आइसकेपछि त त्यो पूर्णरूपमा थाहा भयो । त्यसैले पुँजीपति वर्गसँग भ्रम राख्नुपर्ने मलाई लाग्दैन । रुसी क्रान्तिमा जारशाही र सामन्तवादको विरोध भयो । त्यतिमात्र होइन, पुँजीपति वर्गको प्रतिनिधित्व गर्ने करेन्स्की सरकारको विरोधमा पनि सङ्घर्ष भयो ।
माक्र्सवाद–लेनिनवादभित्रै सशस्त्र क्रान्ति समावेश हुन्छ । त्यसकारण बम, तोप, गुलेली आदि सबै कुरा उल्लेख गर्नुपर्दैन । हरेक राजनैतिक पार्टीले कुनै न कुनै रूपले राज्यसत्ता कब्जा गर्ने अनि ऐन–कानुनमार्फत आफ्ना विरोधी वर्गलाई दबाएर आफ्नो सिद्धान्त लागू गर्न जोड दिएको हुन्छ । त्यसमा एटम बमको कुरा उल्लेख गर्नुपर्दैन । सशस्त्रको राजनीति शास्त्रको प्रारम्भिक अवस्थामा अध्ययन गर्ने कुरा हो । तर, यस कार्यपत्रमा फेरि त्यस्तै कुरा आएको छ । सायद, बाबुरामजी ‘टेक्निकल साइन्स’ को विद्यार्थी हुनाले उहाँले त्यसबारे पढ्नुभएन होला । त्यसबारे हरेक राजनैतिक शास्त्रका विद्यार्थीहरू, माक्र्सवादी र लेनिनवादी मजदुर आन्दोलन र किसान आन्दोलनसँग सम्बन्धित सबैलाई जानकारी नभएको होइन । अब हामीले कुन बाटो जाने ? हाम्रो क्रान्तिको तारो के हो र हाम्रो क्रान्तिको बाटो के हो भन्ने निश्चित गर्नुपर्ने हो । उहाँको कार्यपत्रमा त्यो पाइँदैन । सबैले यो गरेन, त्यो गरेन भन्नेमात्र छ तर आफूले के गर्ने भन्ने कुरा त्यसमा छैन । त्यसकारण, अब मुख्य प्रश्न के आउँछ भने त्यो कार्यपत्र उहाँको हो कि उहाँको पार्टीको ? यदि कार्यपत्र उहाँंको पार्टीको होइन भने उहाँ एउटा पार्टीको सदस्य भएर अलग कार्यपत्र प्रस्तुत गर्ने अधिकार पनि उहाँंलाई हुँदैन । त्यो अनुशासनसँग सम्बन्धित कुरा हो । उहाँको आफ्नो पार्टीको कार्यपत्र हो भने उहाँको पार्टीको तारो के हो ? उहाँको पार्टीको उद्देश्य के हो ? यी सबै यसमा उल्लेख छैनन् ।
मनमोहन अधिकारीको विषयमा पनि यहाँ कुरो उठेको छ । किसान आन्दोलनको नेतृत्वमा आइसकेपछि अप्रिय तौरतरिका अपनाउनु हुँदैन भन्ने उहाँको भनाइ थियो । २००८–०९ सालदेखि ०१२–०१३ सालसम्मको किसान आन्दोलनमा लाखौँलाख किसानहरूले भाग लिएका थिए । तराई क्षेत्र ओगटेको त्यो किसान आन्दोलनले निश्चित क्षेत्रमा सरकार पनि घोषणा गरेको थियो । आ–आफ्ना जेलहरू खडा गरेका थिए । त्यस आन्दोलनलाई दबाउन त्यहाँका शोषक र सामन्त वर्गले हिन्दुस्तानको सिमानामा सेना राख्न लगाएको थियो । त्यसबेला दिल्लीमा गरेको तारको खर्चमात्र १५ हजार तिरेको थियो । त्यसबेला एउटा ठूलो आन्दोलन चलेको थियो ।
नेपाल कम्युनिस्ट आन्दोलनको व्याख्या गर्दा र सिंहावलोकन गर्दा त्यो किसान आन्दोलनलाई बडो गम्भीरतापूर्वक लिनुपर्ने हो । चीनको सशस्त्र क्रान्तिलाई पनि किसान क्रान्तिको रूपमा लिइन्छ । त्यस कुरालाई ख्याल नगर्नु पनि कम्युनिस्ट आन्दोलनप्रति अन्याय नै हुनेछ ।
अर्को, मनमोहनजी सदा भारतीय विस्तारवादविरोधी हुनुहुन्थ्यो– उहाँको भाषण, उहाँको अभिव्यक्ति र भावशैली सबै कुरामा । उहाँ पञ्चायतलाई जीवित सत्य भन्नुहुन्थ्यो । पशुपतिनाथ रहेसम्म राजा रहनेछन् भन्नुहुन्थ्यो । नेपालको महत्वपूर्ण आन्दोलनबारे म बीच–बीचमा भन्दै जान्छु जसले सन्दर्भ मिलाउन सजिलो हुनेछ ।
बाबुरामजीको कार्यपत्रमा अस्पष्ट भएको विषयलाई स्पष्ट गर्न खोज्दै छु । यसबाट साथीहरूलाई पनि सजिलो होला ।
माओको बेला चिनियाँ कम्युनिस्ट पार्टी र अन्य पार्टीहरू राजा र राजकुमारलाई पनि मोर्चामा राखेर साम्राज्यवादको विरोध गर्ने नीति मान्थे । यसको उदाहरण कम्वोडियाका राजा सिंहानुक हो । लावसका राजकुमारहरू र राजा महेन्द्रसम्म यही कुरा आउँछ । सिंहानुकले साम्राज्यवादविरोधी सङ्घर्षमा भाग लिएका थिए । रायमाझी र मनमोहनजीले यसबाट माओको कुरा बुझ्नुभएको हो होइन थाहा छैन ।
कार्यपत्रमा शब्दको गलत चयन यत्रतत्र पाइन्छ । एक दुईवटा भनिहालौँ । उहाँले सहरिया र गाउँले भन्ने शब्द उल्लेख गर्नुभएको छ । तर, माक्र्सवादी साहित्यमा सहरिया र गाउँलेको रूपमा होइन वर्गीयरूपमा उल्लेख गरिन्छ किनभने माक्र्सवाद वर्गसँग सम्बन्धित छ, स्थानसँग होइन । त्यसकारण, एउटा निश्चित ठाउँ नै समाजवाद होइन ।
संयोगले नेपाल कम्युनिस्ट पार्टीका संस्थापकहरू यही उपत्यकाभित्रका परे, नेवार जातिका । माक्र्सवाद मजदुर वर्गले ल्याएको होइन, माक्र्स स्वयं पनि मजदुर नभई एक संवेदनशील समुदायका सदस्य हुनुहुन्थ्यो । हाम्रो अर्थमा बुद्धिजीवी भनौँ– यो स्वाभाविक हो । समाजवादका सिद्धान्तकारहरू पनि साधारण तल्लो वर्गका थिएनन् ।
काल्पनिक समाजवादीहरू पनि पढेलेखेका र संवेदनशील समुदायबाट आएका हुन् ।
पुँजीवादले सामन्तवादलाई ध्वस्त पारिसकेपछि पनि सामन्ती समाजका पुराना मूल्य र मान्यताहरू बाँकी हुन्छन् । त्यसको ठाउँमा नयाँ नयाँ मूल्य र मान्यताहरू, जालझेल र शोषणको व्यवस्था खडा हुन्छ । पुँजीवादी व्यवस्थामा उत्पन्न रोग, शोक, भोक आदिबाट वाक्क भएर समाजवादलाई पुनः निर्माण गर्ने भावनाबाट प्रेरित भई समाजवादी सिद्धान्तको प्रादुर्भाव भएको थियो । त्यस चिन्तनमा सहरकै संवेदनशील र बुद्धिजीवीहरूको बढी भूमिका थियो । पुँजीवाद पहिले सहरमै विकास भएको थियो, गाउँमा होइन । कलकारखानाहरू सहरमै खुलेका थिए, मजदुर वर्ग त्यही उत्पन्न भएको थियो । पुँजीवादी शोषण प्रत्यक्षरूपमा सहरमै देखिएको थियो । यसरी सहरबाट समाजवादी चिन्तन पनि अगाडि बढेको थियो । बुद्धिजीवीहरू नै पहिले नयाँ नयाँ विचार र चिन्तनबाट आकर्षित हुन्छन् ।
नेपालमा पनि पहिले राणाहरूको निरङ्कुशताको विरोधमा वा समाजवादी विचारको क्षेत्रमा सहरकै मानिसहरू वा युवाहरू आकर्षित भएका थिए र बिउँझेका थिए । त्यसमा जातीय हिसाबले नेवारहरू परे, त्यसलाई गलत ढङ्गले व्याख्या गर्नु उपयुक्त होइन ।
मजदुर आन्दोलनको सुरुआत पनि सहरबाटै अथवा विराटनगरका जुट मिलका मजदुरहरूको हडतालबाट भएको थियो । त्यो नेपालको पहिलो मजदुर हडताल थियो । कर्मचारी आन्दोलन काठमाडौँबाट सुरु भयो । विद्यार्थी आन्दोलनको इतिहास पनि त्यस्तै छ । विद्यार्थी हडताल काठमाडौँबाट भएको हो । अहिलेको अखिलको सिलसिला पनि सहर वा काठमाडौँबाट सुरु भएको हो ।
गाउँलाई नै सबै कुराको आदर्शको रूपमा लिनु उपयुक्त हुँदैन । त्यसलाई पनि आलोचनात्मकरूपले हेरिनुपर्छ । जमिनदारहरू गाउँमै बस्छन् । धनी किसान, मध्यम किसान र गरीब किसान पनि गाउँमै बस्छन् । आर्य सभ्यता गाउँको सभ्यता हो । हडप्पा र मोहन्जोडाडोको सभ्यता सहरी सभ्यता हो । त्यस सभ्यताकै विरोधमा आर्यहरू उठेका थिए । हामी आर्य भएकै हुनाले सहरकै विरोध गरिरहेका हौँ त ? त्यसो पनि भन्न मिलिरहेको छैन । सहरी सभ्यताको विरोध गर्नु एक प्रकारले सभ्यताकै विरोध हो । यसकारण, सहरकै विरोध गर्दा गम्भीररूपले सोच्नुपर्ने हुन्छ ।
सामान्यतया उत्पादनका साधनहरू पछि परेको हुनाले नै किसानहरूको चिन्तन पछि परेको हुन्छ । त्यसैले तिनीहरू धर्मभीरु पनि हुन्छन् । तिनीहरूको स्वार्थ फरक–फरक हुन्छ, त्यस्तै असङ्गठित हुन्छ । कम्युनिस्ट घोषणापत्र वा माक्र्स र एङ्गेल्सका रचनाहरूमा किसानहरूलाई प्रतिक्रियावादी भनिएका छन् । पेरिस कम्युनको विरोधमा किसानहरूलाई भड्काउँदा मजदुरहरू चुप लागेर खान खोज्छन् भनिएको थियो । पेरिस कम्युनलाई दबाउन किसानहरूकै सेना प्रयोगमा ल्याइएको थियो । त्यसबाट कम्युनिस्टहरूको आँखा खुल्या र पछि किसानहरूको पनि सङ्गठन गरियो । किसान र मजदुरहरूको बीचको एकताको महत्व थाहा भयो । त्यसलाई अगाडि बढाइयो । बाबुरामजीले के भन्न खोज्नुभएको हो प्रस्ट छैन ।
पूर्वमा अर्थात् चीनमा चिनियाँ क्रान्ति त किसान क्रान्तिकै रूपमा अगाडि बढ्यो । त्यसबेला चीनको जनसङ्ख्या ४३ करोड थियो भने औद्योगिक मजदुरहरूको सङ्ख्या २० लाखमात्रै थियो । तर, चिनियाँ क्रान्तिले विचार वा सिद्धान्त भने मजदुर वर्गको लिएको थियो । त्यसरी चीनको क्रान्ति किसान क्रान्तिको रूपमा अगाडि बढेको हो ।
तर, बाबुरामजीले ‘सहरिया शिक्षित’ शब्द प्रयोग गर्नुभएको छ । अहिले उहाँ पनि सहिया नै हुनुहुन्छ किनभने कोटेश्वरमा उहाँले घर बनाइसक्नुभएको छ । उहाँं बुद्धिजीवी पनि हुनुहुन्छ, गाउँमा बस्नु पनि हुन्न ।
अब म उहाँंको कार्यपत्रको दृष्टिकोणबारे भन्छु । उहाँको कार्यपत्रमा ‘सहरमुखी’ र ‘गाउँमुखी’ शब्द प्रयोग भएको छ । मजदुर आन्दोलन वास्तवमा ‘सहरमुखी’ नै हुन्छ । गाउँमुखी भनेको के हो ? मेरो विचारमा बाबुरामजीको दृष्टिकोण सब्जेक्टिभ (मनोगत) छ र हुनुपर्ने अब्जेक्टिभ (वस्तुगत) हो ।
नेपालको कम्युनिस्ट आन्दोलन सहरमुखी छ भन्ने उहाँको आरोप छ । तर, २००८–०९ सालदेखि २०१२–०१३ सालसम्मको किसान आन्दोलन गाउँमा भएको थियो, जसमा लाखौंलाख किसानहरू सामेल भएका थिए । सायद यो कुरा बाबुरामजीलाई थाहा छैन ।
कार्यपत्र भौतिकवादी वा वस्तुवादी नभई प्रधानरूपमा मनोगतवादी देखिन्छ । ऐतिहासिक भौतिकवादी दृष्टिकोण त कार्यपत्रमा पटक्कै देखिन्न । उदाहरणको निम्ति दासहरूले पनि दासयुगमा विद्रोह गरेका थिए । ती दास विद्रोहहरूले मजदुर आन्दोलनको रूप किन लिन सकेनन् । माक्र्सवादीको सिद्धान्तअनुसार सशस्त्र क्रान्ति किन गरेनन् र सत्ता कब्जा किन गरेनन् भनेर त्यसलाई दोष दिने वा आरोप लगाउने कुरै थिएन । त्यसबेला औद्योगिक सर्वहारा वर्ग बनिसकेको थिएन र कार्ल माक्र्सको समेत जन्म भइसकेको थिएन । त्यसबेला ‘सर्वहारा क्रान्ति’ भएन भन्नु स्वयं सन्दर्भहीन कुरा हुन्छ ।
नेपाल कम्युनिस्ट पार्टीको स्थापना हुँदा ताका २०–३० हजार मजदुरहरू पनि नेपालमा थिएनन् । त्यसबेला सर्वहारा क्रान्ति किन अगाडि बढेन भन्नु स्वयं ऐतिहासिक भौतिकवादी दृष्टिकोणविपरीत कुरो थियो । हरेक कुरा देश, काल र परिस्थितिसँग सान्दर्भिक हुनुपर्ने हुन्छ ।
जहाँसम्म नेपाल कम्युनिस्ट पार्टीको स्थापनाको दिनको प्रश्न छ । म पुष्पलालजीसँग केही वर्ष बसेको हुनाले केही दस्तावेजमा मिति लेखिएको पढेको छु । त्यसमा १५ सेप्टेम्बर लेखिएको थियो । म त्यस विवादमा फस्न चाहन्न । म नेपालको कम्युनिस्ट पार्टीमाथिको प्रभावबारे बताउन चाहन्छु जो कार्यपत्रभन्दा फरक छ ।
कार्यपत्रमा बाबुरामजीले नेपाल कम्युनिस्ट पार्टीमा भारतीय आन्दोलन र चिनियाँ क्रान्तिको प्रभाव परेको बताउनुभएको छ । तर, मेरो अध्ययनले बताएअनुसार नेपाल कम्युनिस्ट आन्दोलनमा भारतीय स्वतन्त्रता आन्दोलनको प्रत्यक्ष प्रभाव परेको छ र चिनियाँ क्रान्तिको प्रभाव भन्नुभन्दा चीनको हुनान प्रान्तको किसान आन्दोलनको प्रत्यक्ष प्रभाव देखिन्छ । नारायण विलास जोशीको कापीमा हुनान किसान आन्दोलनको अनुवाद मैले एकचोटि २०१२–०१३ सालमा पढेको थिएँ । त्यसैको प्रभाव पछि बारा, पर्सा, रौतहट, सिराहा, सप्तरीको किसान आन्दोलनमा प्रस्ट देखापरेको थियो ।
नेपाल कम्युनिस्ट पार्टीको घोषणापत्र र माक्र्स–एङ्गेल्सले लेख्नुभएको कम्युनिस्ट घोषणापत्रको अनुवाद (पी.एल.) को भूमिका हेर्दा भारतविरोधी अभिव्यक्ति खचाखच भरिएको छ । भारतीय साहित्यबाट प्रभावित भएरै होला ती दस्तावेजहरूमा नेहरूको विरोध गरिएको थियो । नेपाली काङ्ग्रेसको पनि विरोध गरिएको थियो ।
त्यसकारण, सुरुमा नेपाल कम्युनिस्ट आन्दोलन वा पुष्पलालजीलाई भारत ‘परस्त’ थिए वा काङ्ग्रेस ‘परस्त’ थिए भन्न मिल्दैन । मैले के थाहा पाएको छु भने त्रिपुराको मुख्यमन्त्री बन्नुभएका नेता नृपेन चक्रवर्ती नेपाल कम्युनिस्ट पार्टीका सुरुका सल्लाहकार थिए वा भारतीय कम्युनिस्ट पार्टीकै गाइड लाइन (निर्देशन) मा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो ।
नेपाल कम्युनिस्ट पार्टीको पहिलो घोषणापत्र अङ्ग्रेजीमा लेखिएको छ । भाषा परिमार्जित छ । तर, कार्यपत्रमा बाबुरामजीले त्यसमा भ्रम र सुधारवाद देख्नुभएको छ, किन होला, थाहा छैन ।
मैले बुझेअनुसार संशोधनवाद भनेको कम्युनिस्ट आन्दोलनभित्र देखापरेको पुँजीवादी विचारधारा हो । कार्यपत्रमा लेखकले संशोधनवाद शब्दलाई किन हटाउन खोज्नुभयो ? यो एक स्वयं गम्भीर विषय हो ।
सुधारवादको मुख्य अर्थ छिट्टै मौलिक परिवर्तन नगरी अलिअलि गर्दै २–४ सय वर्ष लगाएर समाजवादको स्थापना गर्नु हो । नेपाल कम्युनिस्ट आन्दोलनमा सुधारवादको आरोप गलत हो । संशोधनवाद शब्दको ठाउँमा बाबुरामजीले सुधारवाद शब्दको चयन गर्नु स्वयं शङ्काको विषय बनेको छ ।
Leave a Reply