भर्खरै :

भारतमा देउवा

प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार भारत भ्रमणमा निस्के । प्रधानमन्त्री बनेपछि सबभन्दा पहिला भारतमै भ्रमण गर्नुपर्ने नेपालका शासक दलका नेताहरूको परम्परालाई उनले पनि निरन्तरता दिए । प्रधानमन्त्रीको पदभार ग्रहण गरेपछि स्कटल्यान्डको ग्लासगोमा आयोजित विश्व जलवायु सम्मेलनमा सहभागी बने पनि पहिलो सद्भावना भ्रमणमा देउवा भारत गएका हुन् ।
शुक्रबार भारत पुगेलगत्तै देउवा नेतृत्वको प्रतिनिधिमण्डलले भारतको सत्तारूढ भारतीय जनता पार्टीको मुख्यालय गएर पार्टीका पदाधिकारीहरूसँग भेट्यो । नेपालको प्रधानमन्त्रीको हैसियतमा उनले भाजपाका पदाधिकारीसँग भेट्नुपर्ने कुनै कारण छैन । भारतभर अल्पसङ्ख्यक जनतामाथि हिन्दू अतिवादी आतङ्क मच्चाउँदै आएको भाजपासँगको भेट उसले गरेका कृत्यप्रतिको समर्थनजस्तो देखिएको छ ।
२०४६ सालयता देउवा पाँच पटक नेपालको प्रधानमन्त्री बने । हरेक पटक उनी प्रधानमन्त्री बन्दा देश, नेपाली जनता र प्रजातन्त्रलाई केही न केही घाटा भएको छ । एमसीसी सम्झौता संसद्बाट अनुमोदन गरेर उनले पाँचौँ पटकको प्रधानमन्त्रीत्वमा पनि कुख्याती कमाए । देउवाको अहिलेको भारत भ्रमण एमसीसी सम्झौताको पुरक यात्रा हो । एमसीसी सम्झौता प्रत्यक्षतः संरा अमेरिकी रणनीतिक मोर्चाबन्दीसँग सम्बन्धित भए पनि यो भारतसँग पनि जोडिएको छ किनभने संरा अमेरिकाले अहिले दक्षिण एसियाको हकमा भारतीय हित र नेतृत्वलाई स्वीकार्ने वचनबद्धता दिएको छ । त्यसकारण, एमसीसी सम्झौता नेपाल र संरा अमेरिकाबीच गरिएको भए पनि भारतको लाभ र नियन्त्रणलाई यसमा उल्लेख गरिएको छ ।
दक्षिण एसियाली देशमा संरा अमेरिका आफै अग्रसर बन्दा विगतमा भारतीय विस्तारवादप्रति यो क्षेत्रका जनताको आक्रोश र विरोधबाट ऊ अहिले जोगिएको देखिंदै छ । आफ्नो लाभमा कति पनि तलमाथि नपारी विरोध संरा अमेरिकाप्रति लक्षित हुँदा भारत पनि खुसी देखिएको छ ।
सञ्चारमाध्यमहरूले जनाएअनुसार भारतको पहलमा भन्दा देउवाको चाहनाअनुसार यो भ्रमण भएको हो । भ्रमणका केही टुक्रे विषय भए पनि कुनै ठूलो विषयमा सम्झौता नहुने बताइएको छ । यद्यपि, भ्रमणको एजेन्डाबारे प्रस्टता नहुनु नेपालको पनि जोखिम पनि हुनसक्छ । सन् २०१७ मा मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वाशिङ्टन गएर गोप्यरूपमा गरेको सम्झौताको गलपासो अहिले नेपाली जनता भोग्न बाध्य छन् । त्यस्तै भारत भ्रमणको क्रममा कुनै गोप्य वा दोहोरो अर्थ राख्ने सम्झौता हुने सम्भावनालाई नकार्न सकिन्न ।
मित्र बदल्न सकिन्छ, तर छिमेकी बदल्न सकिन्न । भारत हाम्रो छिमेकी देश हो । भारतलाई छिमेकीबाट बदल्न सकिँदैन । तर, परिवर्तित विश्व परिस्थितिमा नेपालले परराष्ट्र नीति र भारतसँगको सम्बन्धलाई पनि समयानुकूल बनाउन जरूरी छ । भारतप्रतिको निर्भरता घटाउने धेरै अघिदेखिको नेपाली जनताको चाहनालाई अहिले विश्व परिस्थितिमा आएको परिवर्तन र प्रविधिले अझ सम्भव बनाउँदै लगेको छ । यो बदलिएको परिस्थितिलाई छिमेकी देश भारतका शासकहरूले पनि बुझ्नुपर्छ । हिजोजस्तो आफूप्रतिको निर्भरताको लाभ उठाउँदै भारतले नेपालका नेताहरूलाई असमान सन्धि–सम्झौतामा फसाउने गल्ती गर्दा उसैलाई हानि हुनेछ । नेपालको सार्वभौम संविधानसभाले संविधान घोषणा गरेको रिसमा भारतले नाकाबन्दी थोपर्दा भारतलाई नै हानि भएको दृष्टान्त भुल्नुहुन्न ।
नानीदेखि लागेको देउवाको बानी अझै छुटेको छैन । आफ्नो कुर्सीमा नेपाली जनताको भरभन्दा दिल्लीको निर्भरता देख्ने देउवा र नेपाली काङ्ग्रेसले फेरि पनि सत्ता जोगाउने खेलमा भारतको हित र नेपाली जनताको हानि गर्ने अपराध नगर्नु बुद्धिमानी हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *