भर्खरै :

बाल विकासको ३४ औँ वार्षिकोत्सव

भक्तपुर, १८ चैत । बाल विकास सेकेन्डरी स्कूलको ३४ औँ वार्षिकोत्सव, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य तथा एवं बाग्मती प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाईले सरकारले शिक्षा क्षेत्रमा उचित ध्यान दिननसक्दा देशले काँचुली फेर्न नसकेको बताउनुभयो ।
उहाँले देशका ८० लाखभन्दा बढी युवाहरू विदेशीका सस्ता ज्यामी बनिरहेको उल्लेख गर्दै युवाशक्ति विदेश पठाएर कसरी देश विकास हुन्छ भनी प्रश्न गर्नुभयो ।
“श्रमको सम्मान गर्ने र आफ्नै देशमा रमाउने जनशक्ति तयार गर्न अग्रसर हुनु आवश्यक छ । विद्यार्थीको सिकाइलाई केही घण्टाको परीक्षाको आधारमा मूल्याङ्कन गर्ने पद्धति उपयुक्त छैन”, उहाँले भन्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनप्रसाद प्रजापतिले बाल विकास सेकेन्डरी स्कूल गुठीद्वारा सञ्चालित गैरनाफामूलक विद्यालय भएको जानकारी दिँदै श्रमजीवी जनताका छोराछोरीलाई कम शुल्कमा गुणस्तरीय, व्यवहारिक र जीवनोपयोगी शिक्षा दिन विद्यालय प्रतिबद्ध छ भन्नुभयो ।
विद्यार्थीलाई शैक्षिक वातावरण दिन विद्यालय कहिल्यै पछि नपर्ने उहाँले बताउनुभयो । कार्यक्रममा शिक्षकहरू सीता प्रजापति, सूर्यबहादुर पञ्च, शङ्कर आचार्य, मनिषा श्रेष्ठ, सृष्टि प्रधान, वीणा कर्माचार्य र विद्यार्थीद्वय स्नेहा तामाङ एवं सस्मिका लिम्बूले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा करिब ९ सय जना विद्यार्थी तथा शिक्षक/शिक्षिकाहरूले नृत्य, गीत, हास्यव्यङ्ग्यजस्ता विविध सांस्कृतिक प्रस्तुति गर्नुभएको थियो । कार्यक्रममा विभिन्न विधाका १०२ उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार तथा सम्मान गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *