भर्खरै :

नगरव्यापी विद्यालयस्तरीय सम्पदा दौड प्रतियोगिता सम्पन्न

भक्तपुर, १८ चैत । भक्तपुर नगरपालिका १० नं वडा कार्यालय र १० नं वडा खेलकुद समितिको संयुक्त आयोजनामा नगरव्यापी विद्यालयस्तरीय ३ कि.मि. सम्पदा दौड प्रतियोगिता उपप्रमुख रजनी जोशीको प्रमुख आतिथ्यमा क्वाठण्डौमा शुक्रबार सम्पन्न भयो ।
सम्पदा दौड प्रतियोगितामा छात्रातर्फ ख्वप मा.वि.का ऊर्जा मधुकर्मी १२ः२८ मिनेटमा ३ कि.मि दौड पूरा गरी प्रथम भइन् भने ख्वप मा.वि.का रेस्तिना सितिखु १३ः०८ मिनेटमा पार गरी दोश्रो भइन् । त्यस्तै जेसिस मा.वि.का क्याट्रिना बासुकला १४ः१९ मिनेटमा पार गरी तेस्रो भइन् । जेसिसकै ब्रिटिशा शिल्पकार चौथो र गणेश मा.वि.का निशा भुलान पाँचौँ भइन् । छात्रातर्फ प्रतियोगितामा ११ विद्यालयका ३१ जना सहभागी थिए ।
त्यस्तै छात्रतर्फ गणेश मा.वि.का विश्वराम कुवँरले ९ः४२ मिनेटमा ३ कि.मि. सम्पदा दौड पूरा गरी प्रथम भयो भने वागीश्वरी मा.वि.का ईश्वर बस्नेतले ९ः५८ मिनेटमा पार गरी दोस्रो, वागीश्वरी माविकै अभिराज राई १०ः३५ मिनेटमा पार गरी तेस्रो, शारदा माविका नविन गुरुङ चौथो र निकोल्सन मा.वि.का सुजन विक पाँचौँ स्थान हासिल गर्न सफल भयो  । उक्त प्रतियोगितामा १८ विद्यालयका ६० जना सहभागी थिए ।
उक्त कार्यक्रममा सहभागी र विजयी हुन सफल विद्यार्थीहरूलाई भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले नगद, शिल्ड, मेडल र प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि जोशीले जनप्रतिनिधिहरूले घोषणापत्रअनुसार जनताको सेवा गरेको बताउनुभयो । उहाँले सम्पदा दौडले सम्पदाहरूको बारेमा विद्यालयका विद्यार्थी भाइ बहिनीहरूलाई जानकारी प्राप्त हुनुका साथै सम्पदा संरक्षण र पुनःनिर्माणमा टेवा पुग्ने बताउनुभयो ।
कार्यक्रममा वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौँमिखा, पूर्वउपप्रमुख चैत्यराज शाक्य, पूर्ववडाध्यक्ष चन्द्रबहादुर उलकले पनि बोल्नुभएको थियो । १० नं वडा खेलकुद समितिका अध्यक्ष दिलिपनारायण श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा एथलेटिक्स सङ्घका मोहन आचार्य र अन्तर्राष्ट्रिय खेलाडी कान्छीमाया कोजुको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *