भर्खरै :

लिबालीमा कभर्ड हल उद्घाटन

खेलकुद समाजको संस्कृति र जीवनपद्धति भक्तपुर, १९ चैत । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले भक्तपुर नगरपालिकाद्वारा निर्मित भक्तपुर नपा वडा नं. ८ लिबालीस्थित कभर्ड हलको शनिबार एक समारोहबीच उदघाटन गर्नुभएको छ ।
कार्यक्रममा अध्यक्ष बिजुक्छेँले खेलकुद नियम सङ्गत ढङ्गले खेलिने एक प्रकारको शारीरिक अभ्यास भएको उल्लेख गर्दै युग सुहाउँदो खेलकुदको विकास आजको आवश्यकता हो भन्नुभयो ।
व्यक्तित्व विकासमा सबैले समान अवसर पाउनुपर्नेमा जोड दिँदै उहाँले खेलकुद पनि समाजको संस्कृति र जीवनपद्धति हो भन्नुभयो । नगरपालिका, सहकारी संस्थालगायत सम्बन्धित निकायहरूले ज्येष्ठ नागरिकहरूको लागि शारीरिक अभ्यास सञ्चालनबारे पनि ध्यान दिनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले कृषि उत्पादन घट्दै विदेशबाट खाद्यान्न आयात वृद्धि भइरहेको कारण देश आर्थिक सङ्कटतर्फ धकेलिँदै गइरहेको प्रस्ट पार्नुभयो ।
विगतमा भक्तपुरमा खेलकुद पूर्वाधार र प्रशिक्षणको अभावले गर्दा यहाँका जनता खेलकुद क्षेत्रमा पछाडि परेको स्मरण गर्दै उहाँले भक्तपुर नपाले खेलकुद क्षेत्रको विकासमा गरिरहेको गतिविधि प्रशंसनीय छ भन्नुभयो ।
अध्यक्ष बिजुक्छेँ खेलकुदले व्यक्तिलाई शारीरिक र मानसिकरूपमा तन्दुरुस्त राख्ने विचार व्यक्त गर्दै खेलकुदमा अगाडि बढेको देश सेनामा पनि अगाडि बढेको हुन्छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “आफ्नो पेसाबाहेक मजदुर र किसान पनि खेलकुदमा सहभागी हुनुपर्छ । समाजको लागि इमानदारीपूर्वक काम गर्नु पनि सेवा हो ।”
भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको विकास निर्माणको गतिविधिमा उपभोक्ता मोडल सफल तुल्याउन उपभोक्ताहरूको ठूलो योगदान रहेको बताउँदै खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेर भक्तपुर नपाले नगरका विभिन्न ठाउँमा खुला व्यायामशाला स्थापना गरिसकेको बताउनुभयो । उहाँले सहिद स्मृति खेलमैदान र महेश्वरी खेलमैदानको स्तरोन्नतिको लागि आवश्यक पहलहरू भइरहेको बताउँदै व्यक्तिको शारीरिक र मानसिक विकासको निम्ति खेलकुदको अत्यन्त ठूलो भूमिका रहेको बताउनुभयो ।
बाग्मती प्रदेशसभा सदस्य सृजना सैंजुले नगरवासी जनताको मानसिक र शारीरिक स्वास्थ्यको निम्ति भक्तपुर नगरपालिकाले प्राथमिकताका साथ खेलकुद क्षेत्रलाई अगाडि बढाउँदै आएको बताउँदै यस किसिमका गतिविधिहरूले नयाँ पुस्तालाई स्वस्थ र स्फूर्त राख्न तथा आत्मसम्मानका साथ बाँच्न अवसर मिल्ने बताउनुभयो ।
प्रदेश सरकारमा व्याप्त विकृति र विसङ्गतिबारे चर्चा गर्दै सांसद सैंजुले सरकारले भ्यु टावर निर्माणमा अरबौँ रकम खर्च गर्नुको सट्टा जनताका आधारभूत आवश्यकता पूर्ति गर्नेतर्फ सरकारको ध्यान जानुपर्ने हो भन्नुभयो । उहाँले भ्रष्ट ठेक्कापट्टाले गर्दा आज देश बर्बादतिर गइरहेको उल्लेख गर्दै देशको अर्थतन्त्र सबल र आत्मनिर्भर भएन भने देशको अवस्था जर्जर हुने बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ८ का वडाध्यक्ष महेन्द्र खायमलीले कभर्ड हल निर्माणसँगै खेलाडीहरूमा उत्साह थपेको बताउँदै नवनिर्मित कभर्ड हलमा नगरस्तरीय र राष्ट्रिय स्तरका खेलकुद प्रतियोगिता आयोजना भइसकेको जानकारी गराउनुभयो । वडाका गतिविधिहरूबारे अवगत गराउँदै वडाध्यक्ष खायमलीले भक्तपुर नपा वडा नं. ८ बाट पाँच वर्षको कार्यकालमा करिब ८३ वटा वडास्तरीय र नगरस्तरीय योजना सम्पन्न गरिसकेको र लिबाली क्षेत्रमा खानेपानी पाइपलाइन विस्तार गरी आलोपालो खानेपानी वितरण हुँदै आइरहेको छ भन्नुभयो ।
भक्तपुर जिल्ला भलिबल सङ्घका अध्यक्ष विनोदचरण रायले भक्तपुर नपाले खेलकुद क्षेत्रमा भएको गतिविधिबाट सबैको ध्यान आकर्षित गर्न सफल भएको बताउँदै नपाले विभिन्न समयमा आयोजना गरेका अन्तर नगर र विद्यालयस्तरीय प्रतियोगिताले खेलाडीहरूलाई क्रियाशील तुल्याएको बताउनुभयो । उहाँले नवनिर्मित कभर्ड हल नगरवासीहरूको स्वास्थ्य र राष्ट्रको निम्ति खेल्ने खेलाडीहरूको लागि अधिकत्तम उपयोग हुनु आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष एवम् युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्री, ९ वडाका वडाध्यक्ष रवीन्द्र ज्याख्व र भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले पनि बोल्नुभएको थियो ।
लिबाली कभर्ड हल निर्माण उपभोक्ता समितिका अध्यक्ष रामसुन्दर बासीले हल निर्माणका गतिविधि र आयव्यय प्रस्तुत गर्दै कभर्ड हल निर्माणले भक्तपुरका सबै खेल विधाका खेलाडीहरू लाभान्वित हुने बताउनुभयो । उहाँले दुई चरणको उपभोक्ता समितिबाट निर्मित लिबालीको कभर्ड हल निर्माणको कुल लागत रु. १ करोड २ लाख ९७ हजार ९५ रूपैयाँ रहेको उल्लेख गर्नुभयो ।
सोही क्रममा प्रमुख अतिथि बिजुक्छेँले भक्तपुर नपा वडा नं. ८ का महिला स्वयम्सेविकाहरूलाई धन्यवादज्ञापन पत्र प्रदान गर्नुभएको थियो । बाग्मती प्रदेश सभा सदस्य सृजना संैजु, कार्यक्रमका सभापति एवम् भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले वडा नं. ८ मा भएका नगरस्तरीय र वडास्तरीय विकास निर्माण कार्यका उपभोक्ता समितिका पदाधिकारीहलाई धन्यवाद ज्ञापनपत्र प्रदान गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *